कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कलामा सम्बन्ध, समय र सहर

काठमाडौँ — प्रत्येक मानिसको स्मरणमा अनेक चिजबिजसँग जोडिएका सुमधुर सम्बन्धहरू हुन्छन् । प्रत्येक कुराहरू समयसँगै परिवर्तित हुन्छन् भने कतिपय यथावत् नै रहन्छन् ।

कलामा सम्बन्ध, समय र सहर

मानिसको दिनचर्या र समग्र जीवनयापनलाई प्रभाव पार्ने समय, सम्बन्ध र विगतका स्मरणलाई समेट्दै चित्रकारहरू सुरक्षा वाग्ले, सूर्य दुधराज र रामचन्द्र महर्जनले क्रमश: ‘कनेक्सन’, ‘टाइम’ र सिटी’ शीर्षकमा कलाकृतिहरू तयार पारी प्रदर्शन गरेका छन् ।

बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा शनिबारदेखि जारी कला प्रदर्शनीमा साँढे चार दर्जनभन्दा बढी कलाकृतिहरूमा चित्रकारहरू वाग्ले र दुधराजले सिर्जनामार्फत मानवीय समाजका लागि अपरिहार्य सम्बन्ध तथा समयको महत्त्व दर्साएका छन् । चित्रकार महर्जनले भने समयअनुसार सहर फेँरिदै गए पनि आफ्नो स्मरणमा रहेको पुराना सहरी चित्रलाई क्यानभासमा उतारेका छन् ।

वाग्लेले झन्डै एक दर्जन हाराहारीमा रहेका आफ्ना कलाकृतिहरूमा प्रकृति र महिलाबीचको सम्बन्धलाई केलाउँदै त्यसैलाई चित्रण गरेकी छन् । प्रदर्शनीमा आफ्नै जन्मभूमिमा रहेका पुराना र मौलिक धार्मिक तथा सांस्कृतिक पक्षलाई उनले नाङ्लोमा कोरेर निकै सुन्दर रुपमा प्रस्तुत गरेकी छन् । दुधराजले भने बाल्यकालको स्मरणलाई कैद गर्दै मानिसको जीवनमा समयको महत्त्वलाई देखाएका छन् ।

उनले कलामार्फत नै समयलाई भूत, भविष्यत् र वर्तमानका रुपमा विभाजन गरिए पनि मानिसका लागि आजको समय नै बढी मूल्यवान रहेको तथ्यलाई अर्थ्याएका छन् । त्यस्तै महर्जनले कीर्तिपुरको पुरानो दृश्यलाई कलामा झल्काएका छन् । उनका चित्रहरूमा प्राकृतिक रुपमा हराभरा, खुल्ला र मनोरम कीर्तिपुर नगरलाई अवलोकन गर्न सकिन्छ ।

आवादी बढेसँगै हराएको किर्तिपुरको सौन्दर्यलाई कलामा उतारेर संरक्षण गर्ने हेतुले चित्रहरू तयार गरिएको महर्जनले बताए । ‘हामी सानो छँदा देखेको खेत, हरियाली र खुल्ला ठाउँ अब देख्न गाह्रो छ’, उनले भने,‘पुरानो दृश्यहरू अझै पनि झल्झली याद आउँछ ।’ चित्रमार्फत नै नयाँ पुस्ताले पुरानो सहरलाई चिन्ने अवसर पाओस् भन्ने उनको इच्छा छ ।

तीनै जना चित्रकारहरूका कलाकृतिहरू आर्ट काउन्सिलका भित्ताहरूमा अलग-अलग भागमा छुट्याएर राखे पनि सहभागी दर्शकले एक अर्काे कलाका भावहरू अन्तरसम्बन्धित भएको महसुस गर्न सक्छन् । लामो समयको योजनापछि तीनै जनाको कलाकृति र त्यसको भावअनुसार प्रदर्शनी गरिएको वाग्लेले सुनाइन् । प्रदर्शित कलाकृतिहरूले भने सहभागीहरूलाई समय, सम्बन्ध र सहरसँगको सामिप्यता बढाउने चित्रकार दुधराजको आशा छ । प्रदर्शनी शुक्रबारसम्म जारी रहनेछ ।

प्रकाशित : आश्विन ६, २०७९ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?