कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालका राजनीतिक दलले कलाकारलाई प्रयोग मात्र गरे : कुलपति रायन  

काठमाडौँ — नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले नेपालको राजनीतिक दलले कलाकार र स्रष्टालाई आवश्यक पर्दा प्रयोग मात्र गरेको भन्दै तिक्तता पोखेका छन् । 

नेपालका राजनीतिक दलले कलाकारलाई प्रयोग मात्र गरे : कुलपति रायन  

संविधान दिवसका सन्दर्भमा हालै नक्सालस्थित प्रतिष्ठानको नवनिर्मित सभाहलमा भएको ‘नेपालको संविधान: नेपाली संगीत, नाट्य, कलाको संरक्षण र संवर्द्धन’ विषयक परिचर्चामा रायनले देश तथा समाज परिवर्तनमा कलाकार र स्रष्टाहरुले उल्लेखनीय भूमिका खेलेको बताए ।

‘देशमा समाज परिवर्तन र अग्रगमनका लागि राजनीतिकर्मीभन्दा ठूलो योगदान स्रष्टा र कलाकारहरूको दिएका छन्’, उनले भने,‘कलाकारहरू देशका गहनाका रूपमा मात्र नभई पाँचौ अंगका रुपमा स्थापित हुन अब सबै स्रष्टा/कलाकारहरु एक जुट भई आवाज उठाउनुपर्छ ।’

रायनको भनाइलाई समर्थन गर्दै नेपालको संविधानमा संगीत, नाट्य कला साहित्यलाई समाहित गर्न कञ्जुस्याइँ गरेको संगीतकार तथा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले जिकिर गरे । उनले भने,‘संविधान निर्माणका क्रममा गीतकार, संगीतकार संघ तथा रोयल्टी संकलन समाजका स्रष्टा कलाकारहरुले संविधानमा संगीत, नाट्य, कला साहित्यलाई अटाउनुपर्छ भनी पहल गरिएको थियो । तर नीतिनिर्माण गर्ने क्रममा यसप्रति बेवास्ता भयो ।’

उनले देश संघीय संरचनामा गए पनि राज्य भने केन्द्रीय रूपमा नै सीमित हुँदा मौलिक हकका रुपमा रहेको स्रष्टाको बौद्धिक सम्पत्तिको सम्मान हुन नसकेको आशय व्यक्त गरे ।

कार्यक्रमा संविधानविदसमेत रहेका गीतकार भीमार्जुन आचार्यले नेपालको वर्तमान संविधानमा नेपाली संगीत, नाट्य, तथा कलाको संरक्षण र स‌ंवर्द्धनमा के–कस्तो व्यवस्था छ भन्नेबारे उल्लेख गर्दै संविधान निर्माणमा राजनीतिक नेतृत्वले नै बेवास्ता गरेको बताए । आचार्यले नेपालको संविधानमा राज्यको निर्देशन सिद्धान्तमा धर्म, संस्कृति, संस्कार जस्ता पदावलीको प्रयोग भए पनि संगीत, नाट्य, साहित्यलाई छुट्टै धाराको व्यवस्था नरहेको प्रस्ट्याए ।

प्रकाशित : आश्विन ४, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?