कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चित्रमा प्रकृति भर्सेज कृत्रिम सहर

सुशीला तामा‌ङ

काठमाडौँ — सहरमा अधिकांश घरका कौसी अहिले बगैंचामा परिणत भएका छन् । घर–घरका छतमा कौसीखेती मौलाएको देख्न सकिन्छ । जमिन र खुल्ला प्रकृतिमा हुनुपर्ने वनस्पति घरका कोठा–कोठामा सीमित छन् । रुखबिरुवा रहेको काठमाडौं उपत्यकाका जमिनमा अग्ला–अग्ला भवन ठडिएका छन् । सहरका यिनै दृश्यहरुले मनमा नमीठो गरी छोएपछि चित्रकार कुन्तीश्री थापाले प्राकृतिक पक्षहरू कसरी कृत्रिम बन्दै गएका छन् भन्ने यथार्थलाई कलामा अभिव्यक्त गरेकी छन् ।

चित्रमा प्रकृति भर्सेज कृत्रिम सहर

ठमेलस्थित दलाई ला आर्ट स्पेसमा जारी एकल कला प्रदर्शनीमा चित्रकार थापाले आधुनिकीकरण र सहरीकरणले विस्थापित हुन पुगेको सहरको प्राकृतिक सौन्दर्यप्रति मानिसलाई झकझकाउने प्रयत्न गरेकी छन् । दुई दर्जनभन्दा बढी उनका कलाकृतिहरुमा अग्ला–अग्ला कंक्रिटका संरचनाले बिरुप बन्दै गएको सहरको चित्रण देख्न सकिन्छ ।

जताततै घरैघर, घर–घरमा झुन्डिएका विज्ञापनका बोर्ड, बिजुली तारका गुजुल्टा, अव्यवस्थित सवारी साधन, तिनैबीचमा चेपिएका धार्मिक तथा सांस्कृतिक सम्पदालाई उनले कलामा देखाएकी छन् । घरका कौसीहरुमा देखिएका विभिन्न प्रजातिका वनस्पतिहरु, कौसीखेतीलाई उनले बिम्बात्मक रुपमा हालको समयलाई इंगित गरेकी छन् । गगनचुम्बी अग्ला भवन तथा भ्युटावरका कौसीमा समेत उनले विभिन्न वनस्पतिहरु चित्रण गर्दै कला मार्फत नै यस्ता भवनहरुले कसरी सहरको सौन्दर्यलाई ढाक्दै गएको छ भन्ने यथार्थतालाई झल्काएकी छन् । उनका कलाकृतिहरुमा अहिलेको समयमा चलेको विकासवादी मोडलप्रतिको असन्तुष्टि झल्कन्छ भने प्रकृति संरक्षण गरेर हामी प्रकृतितिरै फर्कि‍‍औं भन्ने बुलन्द आवाज भेटाउन सकिन्छ ।

झन्डै डेढ दशकअघि काठमाडौं प्रवेश गर्दा देखेको सहरमा अहिले निकै भिन्नता आएको स्वयं चित्रकार थापा पनि महसुस गर्छिन् । ‘म सुरुमा काठमाडौं आउँदा देखिने रुखहरु र पहाडहरु अहिले देखिँदैनन्’, उनले भनिन्,‘रुख भएको ठाउँमा अग्ला घरहरु छन् । जताततै घरै घर भएपछि पहाडहरु पनि छेकियो । यसले मनमा छोएपछि आर्ट फर्ममा उतार्न थालेँ ।’

अहिले घरका कौसी तथा कोठाहरुमा गमलाहरुमै सीमित भएका रुखबिरुवा देखेर उनलाई खल्लो महसुस हुन्छ । सहरमा ती सबैलाई अटाउने जमिन भइदिएको भए कति जाती हुन्थ्यो भन्ने उनलाई लाग्छ । अझ भएका प्राकृतिक कुराहरुलाई नासेर सहरको सौन्दर्यको लागि कृत्रिम झकिझकाउ र एउटा कोठालाई नर्सरी बनाइएका दृश्यहरुले उनलाई नमीठो अनुभव हुन्छ । उनी घरी–घरी घरको छतमा बसेर सहरलाई नियाल्छिन् र मनमा चलेको छटपटीलाई क्यानभासमा उतार्छिन् । भन्छिन्,‘हामी विकासको नाममा अर्काे जीवनतिर मोडियो । मकै छतमा फल्न थाले । हाम्रा कोठाहरुमा महँगा विदेशी बिरुवा गमलामा सजिन थालेका छन् । हाम्रो आफ्नै प्लान्टहरुलाई हामीले चिन्न सकेका छैनौं ।’ अचेल सहरमा प्राकृतिक बन्ने होडबाजीमा महँगो मूल्यमा विभिन्न प्रजातिका वनस्पतिहरु खरिद गरेर मानिसहरु आफ्ना कोठाहरु सिँगारिरहेका छन् । सहरको यो प्रवृत्तिलाई पनि उनका चित्रहरुले बिम्बात्मक रुपमा व्यंग्य गरेका छन् । अग्लिँदै गएको कृत्रिम भवनबीचमा होचिँदै गएको सहरको वास्तविक अस्तित्वलाई उनका कलाकृतिहरुले सचेत गराउँछन् ।

सबैकुरा कृत्रिम भए पनि हाम्रा भगवान् भएका मन्दिरहरुको अस्तित्व निरन्तर चलिरहेको पक्षलाई उनले कलामा लुकाएकी छैनन् । अग्ला भवनहरुका बीचमा पनि मन्दिरहरुको दृश्य उनका चित्रहरुमा देखिन्छन् । फनपार्क, धरहरा, वीर अस्पताल लगायतका दृश्यलाई उनले ‘लेन्स अफ क्यापिटल’ शीर्षकमा चित्रण गरेकी छन् ।

मानिसको भित्री आवरणको परिचय तथा सांस्कृतिक पहिचानका लागि मुहार आकृतिबिना नै कला सिर्जना गर्दै आएकी उनले पछिल्लो तीन/चार वर्षदेखि सहरको चित्रणलाई निरन्तरता दिँदै आएकी छन् । आफ्ना कलाकृतिमा उनले विशेष त नीला रङहरु नै प्रयोग गरेकी छन् । कृत्रिम वस्तुले ढाक्दै गएको सहरको आवरणलाई नीलो रङ लगाएर उनी प्रकृतिकै झल्को दिन चाहन्छिन् । पानीको नीलो रङको प्रकृति होस् या घरका छतका देखिएका हरिया रङहरुले प्रकृतिको सुन्दरतालाई प्रतीकात्मक रुपमा अर्थ्याउने उनले बताइन् ।

एक्रेलिक, पेन एन्ड इन्क, पेन्सिल लगायतका माध्यममा तयार गरिएका उनका कलाकृतिहरुको प्रदर्शनी असोज १४ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : आश्विन ४, २०७९ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?