१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सम्झिइए सरोजगोपाल

दीपक परियार

पोखरा — पाँच दशकअघि नेपाली संगीत क्षेत्रले एकै दिन दुई कालजयी गीत पायो । ‘देउराली उकाली चढेर, विजयपुर खोला तरेर...’ र ‘खुट्टैमा निल परे पर्ला झ्याउँरेमा ननाची छोड्दिनँ...’ । संयोग के थियो भने दुवै गीतका रचनाकार एकै व्यक्ति थिए, सरोजगोपाल बज्राचार्य । ०२८ चैत २८ मा रेडियो नेपालमा रेकर्ड भएका यी दुई गीतको चर्चा गायिका तारा थापाले शनिबार पोखरामा गरिन् । 

सम्झिइए सरोजगोपाल

‘देउराली उकाली...’ सरोजगोपालले आफ्नै संगीत र स्वरमा गीत रेकर्ड गराएका थिए । अर्को गीत सीके रसाइलीको संगीतमा पूर्ण नेपाली र तारा थापाले युगल रेकर्ड गराए । सरोजगोपाल र तारा थापाले त्यस दिन पहिलोपल्ट गीत रेकर्ड गराएका थिए । रेडियो नेपालबाट बज्न थालेपछि दुई गीतले दुवैलाई चर्चाको चुलीमा पुर्‍याइदियो । थापालाई शनिबार पोखरामा ‘सरोजगोपाल स्मृति साँझ’ मा थापाले गायक रामभक्त जोजिजुसँग त्यही गीत गाइन् । ‘मेरो सांगीतिक यात्राको एउटा महत्त्वपूर्ण र कहिले पनि भुल्न नसकिने नाम हो सरोजगोपाल,’ पोखरेली युवा सांस्कृतिक परिवारले आफ्नो संस्थापक अध्यक्षको आठौं स्मृति दिवसमा गरेको सांगीतिक साँझमा उनले भनिन्, ‘जब–जब मेरो सांगीतिक यात्राबारे कुराकानी हुन्छ तब मेरो पहिलो गीत र गीतकारको बारेमा भन्नुपर्ने हुन्छ ।’

स्मृति साँझमा कलाकारले सरोजगोपालको शब्द, संकलन, संगीत र स्वरमा रहेका चर्चित एक दर्जन गीत प्रस्तुत गरे । उनकी श्रीमती बाबा राणाले सरोजगोपालको शब्द तथा संगीत रहेको ‘बिर्सी जाने निष्ठुरीलाई सम्झँदै सम्झँदै बसुँला...’ गाउँदा माहोल भावुक बन्यो । सरोजगोपालका छोरा फिरोजगोपाल बज्राचार्यले बुबाको सम्झनामा ‘तोरी हरियो, माया लाउनाले बीचै परियो...’ र ‘गाईले पराज खायो बरिलै...’ गाए । गायक विनोद बानियाँले सरोजगोपालको पहिलो र चर्चित गीत ‘देउराली उकाली चढेर...’ गाउँदा दर्शकबाट ‘वान्स मोर’ आइरह्यो ।

लोक गायिका कविता आलेमगर, रामभक्त जोजीजू, इतु जोजिजुले सरोजगोपालका सदाबहार गीत प्रस्तुत गरे । ‘नक्कलीलाई भगाइ लग्यो झिल्केले...,’ ‘सँइको घर काँ हो काँ..’, ‘करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल..’ लगायत गीत पोखरा उद्योग वाणिज्य संघको हलमा गुन्जियो ।

कार्यक्रममा साहित्यकार सरुभक्तले नेपालको सांगीतिक आकाशमा सरोजगोपालको देन अविष्मरणीय रहेको बताए । प्रकाश सायमीले सरोजगोपालसँगको आफ्नो सामीप्यताबारे सुनाए । सरोजगोपालले आफ्नो जीवनकालमा विभिन्न कालजयी गीत संगीतबद्ध गर्नुका साथै आफ्नो मौलिक आवाज दिएका थिए । २००९ मंसिर २ मा जन्मिएका उनले गीत गाउन थालेपछि सर्जकहरु जातपातभन्दा माथि हुने भन्दै आफ्नो थर हटाएर ‘सरोज गोपाल’का रुपमा आफूलाई चिनाए ।

नगरविकास प्रशिक्षण केन्द्रमा लामो समय जागिरे जीवन बिताएका उनले ०४७ मा त्यहाँबाट स्वैच्छिक अवकाश लिएका थिए । त्यसपछि उनले रेडियो नेपालको पोखरास्थित क्षेत्रीय प्रसारण केन्द्रमा लामै समय कार्यक्रम प्रमुखका रुपमा सेवा गरे । पछि पोखराकै माछापुच्छ्रे एफएममा स्टेसन प्रमुखका रुपमा काम गरे । २०७१ साउन २९ मा ६५ वर्षको उमेरमा उनको निधन भएको थियो । उनकै नेतृत्वमा ०३४ मा पोखरेली युवा साँस्कृतिक परिवार गठन भएको थियो ।

प्रकाशित : आश्विन २, २०७९ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?