स्टेजमा गुन्जिए जनताका गीत

काठमाडौँ — जनगायिका कुस्मिता दर्लामी (हिराकुमारी दर्लामी)ले जनताका पक्षमा लेखिएका गीतहरु प्रस्तुत गरेर नेपालको राजनीतिक परिवर्तनमा स्रष्टा र सिर्जनाले गरेको योगदानको झल्को दिइन् ।

स्टेजमा गुन्जिए जनताका गीत

बुधबार जमलस्थित राष्ट्रिय नाचघरमा एकल गायनमा दर्लामीले ‘सुन्दर क्षितिज’, ‘ढुंगाको शालिक’, ‘उकालीमा बिसाउने चौतारी’ ‘अविरल बग्ने झर्ना खोली’, ‘मैले बोल्दा सँगै रोइदिन्छ भीर पहरा’ लगायतका एक दर्जन गीत प्रस्तुत गरेकी थिइन् । ‘नेपाली क्रान्तिमा जनकलाकार’ भन्ने नाराका साथ जनसांस्कृतिक महासंघ नेपाल र सांस्कृतिक संस्थानको सहकार्यमा भएको कार्यक्रममा उनले मगर भाषाको ‘किसान मजदुर’, ‘मैथिली भाषाको फाटल पहिरवे’, ‘चौरी गोठमा’, ‘नहुने के रैछ’ र ‘माझी दाइ’ बोलका गीतहरु समेत प्रस्तुत गरिन् । उनलाई वाद्यवादनतर्फ भागीरथ सुस्लिङले किबोर्ड, सुरज श्रेष्ठले बेस गितार, राजकुमार समालले गितार, राम सुस्लिङले ढोलक, सुनिल बर्देवाले तबला, पूर्ण थापाले बाँसुरी र पदम क्षेत्रीले ड्रममा साथ दिएका थिए ।

कार्यक्रममा उपस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन श्रेष्ठले जनगायिका दर्लामी प्रतिभाशाली कलाकार भएको बताए । उनले जनताले दर्लामीको स्वरलाई अझै लामो समयसम्म सुनिरहन पाउन् भन्ने कामना गर्दै जनताको दु:खबाट पछि नहटी अगाडि बढ्न आग्रह समेत गरे । ‘संगठित रुपले जनताका लागि योजनाबद्ध तरिकाले कलाकारले अझै प्रभावकारी सांगीतिक यात्रालाई अगाडि बढाउनु पर्दछ’, उनले भने’, ‘यसको दिगोपनका निम्ति तपाईं हामीले व्यवस्थित ढंगले काम समेत गर्नुपर्दछ ।’

महासंघ नेपालका अध्यक्ष मातृका पोखरेलले करिब तीन दशकदेखि जनगायिका दर्लामीसँगै सांस्कृतिक आन्दोलनमा सहभागी हुने अवसर पाएको स्मरण गरे । उनले भने, ‘जनगायिका कुस्मिता मौलिक आवाज र जनताका पीरव्यथालाई सांगीतिक धुनमार्फत गायकी प्रस्तुत गर्ने प्रतिभाशाली कलाकार हुनुहुन्छ । उहाँ साँच्चिकै जनताको कलाकारका रुपमा परिचित हुनुहुन्छ ।’ पोखरेलले जनता जगाउने अभियानमा दर्लामीले गायनमार्फत विशिष्ट भूमिका खेलेको बताए ।

गायिका दर्लामीले आफूले सानै उमेरदेखि जनताका गीत गाउँदै आएको सुनाइन् । मजदुर, किसान, गरिब, सीमान्तकृत समुदाय लगायत भुइँमान्छेका आवाजलाई गीतमार्फत प्रस्तुत गर्दै आएको सुनाउँदै उनले भनिन्, ‘जनता जगाउने अभियानमा हिँडेर सिंगो मानव मुक्तिको आवाजलाई सांगीतिक ढंगले प्रस्तुत गर्ने कोसिस गर्दै आएँ । आज त्यही यात्राको क्रममा गाएका गीतलाई एकल गायनमार्फत पुन प्रस्तुत गर्ने कोसिस गरेको छु ।’

वि.सं. ०३८ सालमा भीमेश्वर–८ सिन्धुलीमा जन्मिएकी गायिका दर्लामीको गायनयात्रा ०४७ सालदेखि सुरु भएको हो । हाल जनसांस्कृतिक महासंघ नेपालको केन्द्रीय सदस्य रहेकी उनले ०५४ सालदेखि हिसन समालको नेतृत्वमा बनेको इन्कलाब परिवारमा आबद्ध भई नेपालको रुपान्तरणकारी आन्दोलनमा पूर्णकालीन रहँदै आएकी थिइन् । गायनसँगै गायिका दर्लामीले ‘मन्त्रीको कुकुर’, अँधेरोमा छट्पटाएका मानिसहरू लघु गीतिनाटक आदिमा अभिनय समेत गरेकी छन् ।

दर्लामीका ‘रातो सलाम’, ‘इन्कलाब’, ‘राप’, ‘एक धक्का’, ‘पारिजात’ लगायतका कृतिहरु प्रकाशित छन् । मगर, नेवारी, तामाङ मैथिली, भोजपुरी लगायतका भाषामा गीत गाइसकेकी दर्लामीका चार सयभन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले नेपाल आदिवासी जनजाति, अन्तर्राष्ट्रिय महिला संगीत प्रतियोगिता, पार्टीका भ्रातृ संगठनद्वारा आयोजित विभिन्न कार्यक्रम र रेडियो नेपालद्वारा सम्मान तथा पुरस्कार प्राप्त गरेकी छन् ।

कार्यक्रममा जनगायक जीवन शर्मा, कर्ण विद्रोही, प्रगति महरा, श्याम तमोट, वीरप्रसाद भन्सारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : भाद्र ३१, २०७९ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?