भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

चित्रांग थापा

धनगढी — कार्टुनिस्ट क्लव अफ नेपालको आयोजनामा शुक्रबार धनगढीमा भ्रष्टाचारविरुद्ध र सदाचारको पक्षमा सन्देश प्रवाह गर्न 'निसाना' शिर्षकमा कार्टुन प्रदर्शनी भएको छ । शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालका अग्रज र नयाँ पुस्ताका गरी ३६ जना कार्टुनिस्टका ५० कार्टुन प्रदर्शन गरिएको छ ।

पहिलो पटक राजधानी काठमाडौं बाहिर सातै प्रदेशमा यस प्रकारको प्रदर्शनी गरिएको कार्टुनिस्ट क्लव अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले बताए । गत वैशाख ४ गते कामाडौंबाट सुरु भएको प्रदर्शनीको अन्तिम प्रदर्शन शुक्रबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुगेर समापन हुन लागेको हो ।

कैलालीको जन पुस्तकालयको सभाकक्षमा आयोजित प्रदर्शनीमा क्लवका अध्यक्ष वासु क्षितिजले यसप्रकारको प्रदर्शनी केवल प्रदर्शनी मात्र नभइ भ्रष्टाचारविरुद्धका सिर्जनात्मक अभियानको सुरुवात भएको बताए ।

‘हामीले यस पटक भ्रष्टाचारविरुद्धमा निसाना गरेर यसलाई सांकेतिक रुपमा प्रदर्शनीमा ल्याएका हौं,’उनले भने, ‘यो संकेतलाई वास्तविकतामा उतार्न सम्पूर्ण कार्टुनप्रेमी भ्रष्टाचारविरोधीहरूमा आग्रह पनि गर्दछौं ।’

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला जोशी बडालले उद्घाटन गरेको प्रदर्शनी हेर्न धनगढीका विभिन्न विद्यालयका विद्यार्थीलगायत नागरिक समाज, राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरू पुगेका थिए ।

प्रकाशित : भाद्र २४, २०७९ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्

इट्टा उद्योगलाई कोइलाको समस्या, जीटूजीमार्फत् उपलब्ध गराइदिन आग्रह 

चित्रांग थापा

धनगढी — नेपाल इट्टा उद्योग महासंघले जीटूजी प्रक्रियामार्फत् कोइला उपलब्ध गराइदिन सरकारसमक्ष आग्रह गरेको छ । वर्तमान समयमा इट्टा व्यवसायीहरूले कोइलाकै लागि ठूलो समस्या ब्यहोर्नुपरेको जनाउँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।  धनगढीमा सम्पन्न महासंघको १४ औं वार्षिक साधारणसभा समापनका अवसरमा मंगलबार जारी घोषणा पत्रमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । 

महासंघका अध्यक्ष शंकरबहादुर चन्दका अनुसार हाल कोइलाको उपलब्धता नै मुख्य समस्याका रुपमा देखा परेको छ । ‘इट्टा उद्योग नै सञ्चालन गर्न नसक्ने गरी कोइलाको मूल्य वृद्धि भएको छ भने सहज उपलब्ध पनि छैन’ अध्यक्ष चन्दले भने, ‘समयमै कोइला आपूर्ति सहज नभए उद्योग नै बन्द गर्नुपर्ने अवस्था देखिएको छ, यसप्रति सरकारको ध्यानाकर्षण गराएका छौँ ।’ जीटूजीमार्फत् कोइला उपलब्ध गराउन मन्त्री दिलेन्द्रप्रसाद बडूले आश्वासन दिएको उनले बताए ।

त्यस्तै सरकारद्वारा निर्माण गरिने भौतिक संरचनाहरूमा इट्टाको सट्टा वैकल्पिक निर्माण सामग्रीको प्रयोग हुँदै गइरहेकोमा पनि व्यवसायीले दुखेसो पोखेका छन् । सरकारद्वारा निर्माण गरिने भाैतिक संरचनामा स्वदेशी इट्टाको प्रयोगलाई अनिवार्य गर्न सरकारसंँग माग गर्ने निर्णय महासंघले गरेको छ । इट्टा उद्योगलाई थप यान्त्रीकरण र आधुनिकीकरण गर्दै लैजाने महासंघको साधारण सभाले निर्णय गरेको छ । दुई दिनसम्म सञ्चालन भएको वार्षिक साधारणसभाको मन्त्री बडूले उद्घाटन गरेका थिए । सभामा महासंघमा आवद्ध देशभरका इट्टा उद्योगीको सहभागिता रहेको थियो । साधारणसभाका सहभागीहरुले बैंकको चर्को ब्याज दरले पनि समस्या थपिएको गुनासो गरेका थिए ।


प्रकाशित : भाद्र २२, २०७९ १३:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×