१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आर्ट काउन्सिलमा अलफ्रेस्को कला प्रदर्शनी

काठमाडौँ — अग्रज तथा नयाँ कलाकारका कलाकृतिहरुलाई एकैसाथ समेटेर अलफ्रेस्को मिडिया एण्ड म्यानेजमेन्ट संस्थाले बृहत कला प्रदर्शनी सुरु गरेको छ । बिहीबार बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, अग्रज कलाकारहरु गेहेन्द्रमान अमात्य, मदन चित्रकार लगायतका कलाकार तथा कलाप्रेमीहरुको उपस्थितिमा प्रर्दर्शनीको थालनी गरिएको हो ।

आर्ट काउन्सिलमा अलफ्रेस्को कला प्रदर्शनी

प्रदर्शनीमा परम्परागत पौभा, मिथिला कला, समकालीन तथा आधुनिक, अमूर्त तथा ल्याण्डस्केप विधाअन्तर्गत ४ सय भन्दा बढी कलाकारका ५ सय भन्दा बढी कलाकृतिहरु प्रदर्शन गरिएका छन् । विशेषगरी नयाँ पुस्ताका कलाकारलाई जोड दिएर झण्डै डेढ दशकदेखि अलफ्रेस्कोले कला प्रदर्शनीका साथै विद्यालय तथा कलेज तहका विद्यार्थीहरुबीच कला प्रतिस्पर्धा समेत गर्दै आएको छ । कलाको माध्यमबाट नेपालको पर्यटन, संस्कृति, सांस्कृतिक सम्पदाको विकास गरी नयाँ पुस्तालाई समेत सिर्जनाका माध्यममा सबल बनाउने संस्थाको मूल उद्देश्य रहेको छ ।

यस वर्ष पनि संस्थाले कक्षा १ देखि ४ सम्म, कक्षा ४ देखि ७ सम्म, कक्षा ८ देखि १० सम्म र कलेज स्तरका विद्यार्थीहरुबीच कला प्रतिस्पर्धा गराएर उत्कृष्ट कलाकृतिहरुलाई पुरस्कृत गरेको छ । प्रदर्शनी उद्घाटनको अवसरमा छनौटमा परेका २३ जना भन्दा बढी नयाँ पुस्ताका कलाकारहरुलाई संस्थाले सम्मान गरेको थियो ।

प्रदर्शनीमा प्रदर्शनरत कलाकृतिहरुमा नयाँ पुस्ताका कलाकारहरुका पाका सिर्जना अवलोकन गर्न सकिन्छ । उनीहरुले आफ्ना सिर्जनाहरुमार्फत धर्म, संस्कृति, समाज, ग्रामीण परिवेश, सहरको पर्यावरण, आधुनिकताले नासिँदै गएको प्रकृतिलाई उतारेका छन् । कलामार्फत नै उनीहरुले पृथ्वीमा रुखको महत्व, आपसी मानवीय भावना, समाजिक एकता, पृथ्वीमा सबै जीवहरुको बाँच्ने समान अस्तित्व लगायतकालाई उठान गर्ने जमर्को गरेका छन् ।

उनीहरुको कलामा आफूले बाँच्दै गरेको समाज, उनीहरुले देखेका र भोगेका अनुभवहरु प्रतिविम्बित भएका छन् । कला प्रदर्शनीले साना स्कुले बालबालिकाहरुलाई सिर्जनात्मक कार्यमा निकै सकारात्मक प्रभाव पार्ने कला प्रदर्शनीमा सहभागी कलाकार प्रकाश मिजारले बताए । अहिले मोबाइल जस्ता प्रविधिको लत बसेको बालबालिकालाई चित्र सिर्जना त्यसबाट टाढा राख्ने माध्यम बन्न सक्ने उनको भनाई छ । उनका अनुसार व्यक्तिगत रुपमा चलेको संस्थाले कला र बालबालिकाको स्तर उन्नतिका लागि निकै सह्रानीय कार्य गरेको छ ।

कलाको माध्यममा बालबालिकाहरुमा नैतिक शिक्षा दिई उनीहरुलाई कलाकारका रुपमा कला क्षेत्रमा दिगो रुपमा स्थापित गराउनु संस्थाको ध्येय रहेको अध्यक्ष श्रेष्ठले बताए । उनले भने,‘हाम्रो उद्देश्य नयाँ पुस्तालाई प्रोत्साहन दिएर उनीहरुलाई कलाका माध्यमबाट आत्मनिर्भर हुन सिकाउनु हो । प्रदर्शनीमार्फत हामी नयाँ र पुराना कलाकारबीच सम्बन्ध स्थापित गर्ने पुलका रुपमा उभिएका छौं ।’

कला नै मुलुकको सभ्यता, संस्कृति र पहिचानको आधार भएकाले यसैबाट नयाँ पुस्तालाई डोर्‍याएर संस्थाले उल्लेखनीय कार्य गरेको मन्त्री श्रेष्ठले सुनाए ।

प्रकाशित : भाद्र २४, २०७९ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?