कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मिथिलाका रङमा मधेस चित्र

बबरमहलको आर्ट काउन्सिलमा उनीहरु आफ्ना सिर्जनासँगै भोगाइको कथा लिएर उभिए, सुन्नेहरुलाई भने– ‘महिलाले चाहेमा समाज परिवर्तन सम्भव छ’
सुशीला तामा‌ङ

काठमाडौँ — बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘साझा सपनाका रङहरू’ शीर्षकमा मिथिला कलाकृतिहरूका साथ १४ जना महिला कलाकार काठमाडौंलाई आफ्ना संघर्षशील कथा सुनाउन आइपुगेका छन् । प्रदर्शनीमा भने ५१ कलाकारका कृति रहेका छन् ।

मिथिलाका रङमा मधेस चित्र

घरका चौघेरा नाघेर र घुम्टोबाट निस्किएर सुरु गरेको जीवनका नौला आयामहरूबारे शनिबार उनीहरूले दिल खोलेर सुनाए । सहभागी महिलाहरूलाई आफू भएर बाँच्नका साहसको कला सिकाए ।

मिथिला कलालाई मैथिल समाज र सभ्यताको पहिचान मानिन्छ । महिलाहरूले घरको शृंगार धार्मिक परम्परा तथा उत्सवहरूमा गरिने साजसज्जाहरूबाट मिथिला कलाको उत्पत्ति भएको ऐतिहासिक दस्ताबेज तथा किंवदन्तीहरू पाइन्छन् । किंवदन्तीअनुसार राजा जनकले आफ्नी छोरी सीताको विवाहमा अयोध्याबाट आउने राजकुमारहरूका लागि जनकपुरका भित्ताहरूलाई कलात्मक तवरले सजाउन लगाएका थिए ।

रामसीताको विवाह हुँदै धार्मिक तथा उत्सवहरूमा बनाउने मिथिला चित्रहरू आज समकालीन समय र मुद्दाहरू उठाउने सशक्त माध्यम बनेको मिथिला चित्रकार एवं मिथिला संस्कृतिलाई उठान गर्दै आएका लेखक एससी सुमन सुनाउँछन् । उनका अनुसार मिथिला चित्र नै मैथिल नारीहरूका लागि शक्ति हो । मैथिल नारीहरूलाई घुंगटबाट बाहिर ल्याउने काम मिथिला चित्रले गरेको छ । आर्थिक क्षेत्रमा समेत महिलाको पहुँच बढेको छ ।

अचेल मिथिला चित्रले रामसीताको विवाह र कहानी मात्र होइन, तराई क्षेत्र तथा सिंगो मुलुकमा महिलाले भोग्नुपरेको पीडा, सास्तीका बारे बोल्छ । सास्तीकै बीच महिलाहरूले आफ्नै परिवार तथा समाजसँग पौंठेजोरी खेल्दै अगाडि बढ्दै गरेको यात्राहरूबारे वर्णन गर्छ । ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ,’ ‘महिलालाई सुरक्षा होइन अवसर देऊ,’ ‘महिला हिंसा बन्द गर’ र ‘महिलाहरू कमजोर होइनन् शक्ति हुन्’ जस्ता आवाज आजको मिथिला चित्रहरूले उठान गरेका छन् ।

मिथिला चित्र र मैथिल नारी आजको समयसम्म आइपुग्न निकै लामो यात्रा र संघर्ष गर्नुपरेको ६१ वर्षीया चित्रकार मञ्जुलादेवी ठाकुर बताउँछिन् । घरका भित्ताहरूमा कोरिएका चित्रहरू कागजको माध्यममा आउने सुरुवाती चरणमै उनले भोगेको कठिन समयलाई उनले स्मरण गरिन् । ४० को दशकमा अमेरिकाबाट आएकी कलाप्रेमी क्लेयर बुर्कर्टले मिथिला नारीका कलालाई कागजमा ल्याउन अहम् भूमिका खेलेको ठाकुरले सुनाइन् ।

बुर्कर्टसँग २०४३ सालतिरै उनको भेट भएको थियो । बुर्कर्टले सन् १९८८ तिर भित्ते मिथिला कलाकृतिहरूलाई तस्बिरमा संग्रह गरिन् । भित्तामा कलाकृतिहरू बनाइरहेका मैथिल नारीहरूलाई उनैले कागजमा उतार्न प्रोत्साहनसमेत गरिन् । सन् १९९० मा मिथिलाका नारीहरूले काठमाडौंस्थित अमेरिकन लाइब्रेरीमा मिथिला कला प्रदर्शनसमेत गरे । बुर्कर्ट, प्राध्यापक राजेन्द्र विमल र मैथिल नारीहरूको सक्रियतामा वि.सं. २०४८ सालमा जनकपुरस्थित ‘जनकपुर नारी विकास केन्द्र’को स्थापनापछि मिथिला कलामा एक किसिमको जागरण आएको ठाकुरले बताइन् ।

‘नारी विकास केन्द्र खुलेपछि महिलाहरू खोज्ने जिम्मा मेरो थियो,’ ठाकुरले भनिन्, ‘महिलाहरू खोज्नै दिन जान्थ्यो । उता घरमा श्रीमान् ढोकैमा खाउला जसरी बसेको हुन्थ्यो ।’ श्रीमान्को हप्काई, पिटाई सबै सहँदै उनले एक वर्षमा ८६ जना महिला भेला पारिन् । महिलाले बोल्नै नहुने र घुंगटमा बस्नुपर्ने त्यो बेलाको मधेसी समाजमा समाज बिगारेको आरोप पनि उनले खेपिन् । ‘यसले हाम्रो बहुबेटीलाई बिगार्ने भयो भनेर मेरो श्रीमान्लाई कुरा लगाउन मभन्दा पहिला नै घरमा पुग्थे । त्यो बेला मेरो ससुरजीले धेरै सहयोग गर्नुभयो,’ उनले सुनाइन् । १२ वर्षमै विवाह गरेकी ठाकुरको श्रीमान् बितेको दुई/तीन वर्ष मात्र भयो । कलामार्फत नै उनी देश–विदेश घुमेकी छन् र आफ्नो पहिचान बनाएकी छन् ।

भित्ता र घरका आँगनमा सीमित मिथिला कला र कलाकारको चर्चा सन् १९३४ पछि मात्र बाहिर आएको लेखक एवं राजनीतिक विश्लेषक सीके लालले आफ्नो लेख ‘मिथिला कलाको कठिन यात्रा’ मा उल्लेख गरेका छन् । लेखअनुसार बिहार नेपाल महाभूकम्पको क्षति अभिलेखीकरण गर्न तत्कालीन ब्रिटिस इन्डियाका डब्लु जी आर्चरले राज दरभंगाको सीमान्त क्षेत्र र मधुवनी छेउछाउका गाउँका भित्ताहरूमा कोरिएका कलात्मक चित्रहरू अवलोकन गरे । ती कलाहरूलाई उनले छवि चित्र बनाएर बाहिर ल्याउने काम गरे । त्यसै बेलादेखि मिथिला चित्रप्रति अन्तर्राष्ट्रिय ध्यान केन्द्रित भयो । यद्यपि ५० को दशकपछि मिथिला कला र महिला सशक्तीकरणका लागि नारी विकास केन्द्रले निकै ठूलो भूमिका निर्वाह गरेको केन्द्रका प्रबन्धक सतीश साहले बताए । उनले भने ‘३० वर्ष अगाडि मधेसमा महिलालाई बाहिर ल्याउने काम त्यति सजिलो पक्कै थिएन । त्यति बेला महिलाहरूले जन्मजात नै सिकेका सीपलाई केन्द्रले व्यावसायिक बनाएर उनीहरूलाई आत्मनिर्भर बनाउने काम गर्‍यो ।’

साहले यसरी बताउँदै गर्दा आर्ट काउन्सिलकै कोठामा झुन्ड्याइएको आफ्नै जीवनकथा समेटिएको मिथिला चित्रबारे धनुषाकी चित्रकार सुधीरा कर्ण सहभागी दर्शकलाई सुनाउँदै थिइन् । २० वर्षमा विवाह भएको उनी २५ वर्षको उमेरमा विधवा भइन् । श्रीमान्को वियोगमा बिथोलिएकी उनी केही समय मानसिक रूपमा विक्षिप्त बनिन् । काखमा भएको ८ महिने छोरालाई लिएर उनी सेतो पहिरनमै माइतीको शरणमा पुगिन् । छोरालाई हुर्काउने जिम्मेवारी त उनैको थियो । उनले सुनाइन्, ‘माइती पनि हुने खाने थिएन । अब छोरालाई कसरी हुर्काउने भन्ने मनमा चिन्ता बढ्यो ।’

त्यसपछि सानैदेखि सिकेको सीप मिथिला कलालाई उनले नारी विकास केन्द्रमा गएर निरन्तरता दिइन् । अहिले २६ वर्षका उनका छोरा एमबीए अन्तिम वर्षमा पढ्दै बैंकमा जागिरे छन् । मिथिला कलाबाट नै उनले छोरालाई हुर्काइन्, पढाइन् र उनी पनि आत्मनिर्भर बनिन् । आफ्नो जीवन कथालाई उनले कलामार्फत नै अभिव्यक्त गरेकी छन् । विगत २६ वर्षदेखि केन्द्रमा आबद्ध रहेकी कर्णले मिथिला कलामा सेतो सारीलाई प्रतिविम्बित गरेर आजको महिलालाई त्यसको विद्रोह गर्न सिकाएकी छन् । ‘सेतो सारीभित्र मेरो ठूलो संघर्ष छ । यसमा मैले जिएको जिन्दगी छ । सेतो सारी लगाएर कोही दिदीबहिनीले हामीले पाएको जस्तो दुःख नपाओस्,’ उनले भावुक हुँदै भनिन् ।

महिलाहरू बोल्न सक्छन् र उनीहरूले चाहेमा परिवार र समाजमा परिवर्तन ल्याउन सक्छन् भन्ने कर्णको धारणा छ । आफूमा आएको साहसको स्रोत नै मिथिला कलाको देन रहेको उनले जिकिर गरिन् । थपिन्, ‘मिथला कला नसिकेको भए आज म कसैको घरमा झाडु पोछा लगाइरहेको हुन्थेँ होला । अनि तपाईहरूसँग भेटै हुने थिएन ।’ आजका मैथिल नारीहरू मिथिला चित्रकलामा मात्र होइन शिक्षा, स्वास्थ्य, प्रविधि सबैजसो क्षेत्रमा संलग्न छन् र हुनुपर्छ भन्ने सन्देश उनले कलामार्फत नै उठान गरेकी छन् ।

चित्रकार ५८ वर्षीया रेमनी मण्डलले दुई छाक जोहो गर्न गरेको संघर्षलाई चित्रमै देखाइएकी छन् । मिथिला कलाकै माध्यममा माथि उठेको आफ्नो कथालाई उनले सहभागी दर्शकलाई निकै उत्साहका साथ सुनाइन् ।

अर्का मिथिला चित्रकार कोमल पूर्वे भारत मधुवनीबाट विवाहपछि जनकपुर आइपुगिन् । कक्षा १२ पढ्दै गर्दा विवाह भएको उनको अध्ययन त्यही पूर्णविराम लाग्यो । श्रीमान्, सासु, तीन सन्तानलाई स्याहारसुसार गर्दै उनले मिथिला कलालाई अगाडि बढाइरहेकी छन् । घुंगटभित्र रहेकी एउटी महिलाको चित्रमा देखाइएका महिलाका दिनचर्यामा उनले आफ्नै कथा भनिरहेको भान हुन्छ । सोही चित्रको दायाँ–बायाँ वकिल र डाक्टरको अर्को फिगरसहितको चित्र देखिन्छ । आफू जस्तै लाखौं महिलाका कथालाई बाहिर ल्याएको पूर्वेको भनाइ छ । उनले भनिन्, ‘हामीले परिवार र समाजका लागि जे कुरा सहेर बस्यौं, त्यो कुरा आजका महिलाहरूले नभोगोस् । हामीले सबै महिलालाई अगाडि ल्याउन जरुरी छ ।’ उनी आफ्नी छोरीले धेरै पढेर आफ्नो खुसीले जिन्दगी चलाओस् भन्ने चाहन्छिन् । मिथिला कलामा परम्परा र संस्कृतिसँगै भोलिको पुस्ताको चिन्तासमेत चित्रित हुन थालेको उनको मत छ ।

अहिले मिथिला कला अन्य हस्तकलाहरूमा समेत रूपान्तरण हुँदै छन् । भित्ता, कागज, कपडा र क्यानभाससम्म आएको मिथिला कलाले फराकिलो पहिचान बनाएको छ । चाँदनी झाजस्ता कलाकारहरूले मिथिलाको जीवन, संस्कृति र सभ्यतालाई सिलाइबुनाइ कलामार्फत अभिव्यक्त गरिरहेका छन् ।

मिथिला कलामार्फत नै वर्गीय, लैंगीय तथा सामाजिक विभेदलाई बाहिर ल्याउन सक्नु नै ठूलो महिला जागरणका रूपमा लिन्छन् चित्रकार एवं लेखक सुमन । मिथिला कला मैथिल र मधेसी समाजको मात्र नभएर मुलुककै कला निधि भएकाले राज्यले मूलधारमा ल्याउनुपर्ने उनको बुझाइ छ । आधुनिकीकरणले भौतिक संरचना र नयाँ पुस्ताको सोचमा समेत केही परिवर्तन आएकाले मिथिला कलालाई पुस्तान्तरण गर्न पाठ्यक्रम नै बनाएर शैक्षिक पहुँचमा ल्याउनुपर्ने उनले बताए ।

प्रकाशित : भाद्र २०, २०७९ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?