कलाले जोड्दै दुई देशको सम्बन्ध

सुशीला तामा‌ङ

काठमाडौँ — समुद्रमा माछा मारेर आफ्नो जीवन निर्वाह गर्ने जनता, सन्तान हुर्काउँदै तान बुनेर आयआर्जनको बाटो रोजेकी महिला, मौलिक पहिरन र संस्कृतिलाई प्रकृतिको धुनले चिनाइरहेका युवतीहरुको समूह, समथर तथा पहाडी सौन्दर्यले सजिएको प्राकृतिक सुन्दरता इत्यादि नै बंगलादेश र त्यहाँका आदिवासी समुदायलाई चिनाउने विशेषताहरु हुन् । आफ्नो देशका तिनै समग्र पक्षलाई कलामार्फत बोकेर यतिबेला बंगलादेशी कलाकार नेपाल आइपुगेका छन् ।

कलाले जोड्दै दुई देशको सम्बन्ध

‘स्प्रिट अफ फ्रेन्डसिप’ शीर्षकमा बंगलादेशका १० जना कलाकारका डेढ दर्जनभन्दा बढी कलाकृतिहरु अहिले बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनरत छन् । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

नेपाल र बंगलादेशबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५० औं वर्षलाई कलामार्फत उत्सवमय बनाउन प्रदर्शनी बंगलादेशी राजदूतावास र सिद्धार्थ आर्ट ग्यालरीले संयुक्त रुपमा कला प्रदर्शनी गरेको ग्यालरीका निर्देशक संगीता थापाले बताइन् । उनका अनुसार प्रदर्शनीमा समथर भूभाग र पहाडी क्षेत्रका गरी दुई भूभागका कलाकार र कलाकृतिहरु प्रदर्शनीमा समेटिएका छन् । ‘दुई देश भनेर हामीलाई सिमानाले मात्र छुट्याएको हो’, थापाले भनिन्,‘हामीले लगाउने, हामीले मान्ने संस्कृति र परम्पराका कतिपय कुराहरु उस्तै छन् । तराईका थारु समुदायले त्यहाँका आदिवासीहरुको गरगहना र लगाउने कपडा एउटै लाग्छ ।’ यसले दुई देश र जनताबीच भावनात्मक सम्बन्ध बढाउने उनले सुनाइन् ।

यसले नेपाल र बंगलादेशबीच भौगोलिक भू–वनोट र मानिसहरुबीचका उस्तै लाग्ने संस्कृति तथा परम्पराहरु समानता महसुस गराउने छ ।

कलाकार तथा प्रदर्शनीका क्युरेटर कनक चान्पा चक्मा ‘वाटर फ्रम द मुन’ शीर्षकमा एक्रेलिक रंगको माध्यममा तयार गरिएको डोकोकै आकृति झल्कने भारी बोकिरहेको महिला र उनको पहिरन, जीवनशैलीले नेपालमा ग्रामीण महिलाको तस्बिर चित्रण गर्छ । त्यस्तै जयातु चक्माले एक्रेलिक रंगमै बनाएको तान बुनिरहेकी महिलाको तस्बिरले नेपालकै झलक दिन्छ । महिलाले लगाएका पहिरन, गरगहना र त्यहाँका संस्कृति झल्काउने सम्पूर्ण चिजबीजहरु नेपालको पहाडी तथा तराई क्षेत्रका परम्पराहरुसँग मिल्दोजुल्दो देखिन्छ । मौलिक बाजा, प्रकृतिका सुन्दर दृश्यहरु समेटिएका कलाकारहरुका चित्रहरुले नेपाल र बंगलादेशबीच समान भौगोलिक र सांस्कृतिक पक्षहरु उजागर गरेका छन् ।

प्रदर्शनीको मूल उद्देश्य नै दुई देशबीच कायम रहँदै आएको मित्रतालाई अझ प्रगाढ बनाउनु रहेको क्युरेटर चान्पा चक्माले बताइन् । उनले भनिन्, ‘नेपाल र बंगलादेशबीच निकै राम्रो सम्बन्ध छ । हामी दुई देशको सम्बन्ध, संस्कृतिलाई कलाले अझ सुन्दर बनाउनेछ ।’ कलामार्फत आफ्नो देशको संस्कृति, ग्रामीण भेग र त्यहाँका मानिसहरुको सौन्दर्य, उनीहरुको परम्परा, रहनसहन, इतिहास र विशेषगरी आदिवासी समुदायको सम्पन्न संस्कारलाई समेटेर ल्याइएको उनको भनाइ छ । उच्च हिमालय र संस्कृतिले भरिपूर्ण सुन्दर देशका रुपमा नेपाललाई लिने उनी आफ्नो मुलुकलाई कलामार्फत यहाँ चिनाउँदै गर्दा औधी खुसी छन् ।

कलाको कुनै देश, भूगोल र सीमाना छुटिँदैन भन्ने कलाकारहरुको मान्यता छ । सीमानाले अलग्याएको देशहरुलाई सँगै ल्याउन कलाको ताकत रहेको थापाको धारणा छ ।

अमिर हसिन, विश्वजित गोश्वामी, सुधिप चक्मा लगायतका कलाकारहरु सहभागी रहेको प्रदर्शनी भदौ २७ गतेसम्म जारी रहने बताइएको छ ।

प्रकाशित : भाद्र १९, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?