२५ वर्षपछि रंगमञ्चमा

नेपाली फिल्महरूमा लामो समयदेखि खलपात्रको अभिनयमा देखिँदै आएका उनी यस पटक नाटकमा
पर्वत पोर्तेल

दमक — नेपाली फिल्म जगतमा खलपात्रको अभिनयमा राम्रो छवि बनाएका कलाकार हेमन्त बुढाथोकी अचेल झापातिरै छन् । दमकको कदम थिएटरलाई हुर्काउने जिम्मेवारी उनको काँधमा आइलागेको छ । यही मेसोमा उनी करिब २५ वर्षपछि पुन: रंगमञ्चमा देखिँदै छन् । कदम थिएटरमा आगामी शुक्रबारदेखि मञ्चन सुरु हुन लागेको नाटक ‘१२ दुर्वासा’ मार्फत बुढाथोकी रंगमञ्चमा देखिन लागेका हुन् ।  ‘पहिलाभन्दा धेरै बदलिएछ रंगमञ्च,’ रिहर्सलपछि उनले सुनाए ।

२५ वर्षपछि रंगमञ्चमा

एसएलसी सकेर दमकबाट पढ्न राजधानी उक्लिएका बुढाथोकी रंगमञ्च हँुदै फिल्म क्षेत्रमा छिरेका हुन् । अभिनय गर्ने ‘भूत सवार’ भएका बेला करिब २०४५ ताका उनले काठमाडौंमा नवप्रतिभा भन्ने समूहमार्फत सडक र मञ्चमा निक्कै नाटक गरेका थिए । त्यो बेलाको नाटक परम्परावादी र शास्त्रीय खालको हुन्थ्यो । अहिले नाटक बनाउने प्रक्रिया नै अलग लाग्यो उनलाई ।

‘नाटकले कलाकारलाई थप आत्मविश्वासी बनाउने रहेछ,’ बुढाथोकीले अनुभव साटे, ‘मलाई त फिल्मभन्दा बढी मज्जा लाग्यो ।’ बद्रीकृष्ण श्रेष्ठको नाटक ‘झूटो रहेछ गीता पनि’ बाट रंगमञ्चमा पाइला हालेका बुढाथोकीले करिब ५ वर्षभित्र आरोहण गुरुकुलमा सुनिल पोखरेलसँग पनि काम गरे । प्रकाश सायमी, केशव दाहाल र मनबहादुर मुखिया आदिका दर्जन बढी नाटकमा अभिनय भ्याए ।

नाटक खेल्दाखेल्दै अचानक सिनेमा खेल्ने मौका पाए । ५० को दशकमा उनले नारायण पुरीको फिल्म ‘सौता’ मार्फत ठूलो पर्दामा डेब्यु गरे । फिल्म खेल्न थालेको २५ वर्ष हाराहारी भयो । ‘सौतादेखि भर्खरै रिलिज भएको माइकल अधिकारीसम्म आइपुग्दा सय वटाभन्दा बढी फिल्म खेलियो होला,’ बुढाथोकीले भने, ‘अब फेरि नाटकतिर पो लागियो ।’

संयोग कस्तो भएछ भने नारायण पुरी र शैलेश आचार्यहरू मिलेर नयाँ फिल्म बनाउने भएछन् । कलाकार चाहिएछ । गुरुकुलमा कलाकार खोज्दै उनीहरू आएछन् । बुढाथोकीको अभिनयले छोएछ कि क्या हो । निर्देशक पुरीले भनेछन्, ‘सानोतिनो रोल छ, गर्छौं ।’ उनले पनि ‘हुन्छ’ को इसारामा टाउको हल्लाएछन् । ‘फिल्म खेल्न पाएको मौका गुमाउन मन लागेन,’ त्यो क्षण सम्झिए, ‘त्यो जमानामा सानोतिनो रोल पाउन पनि पापड बेल्नुपथ्र्यो ।’

सौतामा ‘सियो’ बनेर पसेका उनी ‘फाली’ भएर अरू फिल्ममा पनि लगालग इन्ट्री मारिरहे । आरोहण गुरुकुलबाट नाटक गर्दागर्दै केही टेलिफिल्महरू खेलिसकेका थिए । ‘सौता’ पछि ‘पृथ्वी,’ ‘मोहनी,’ ‘जुनतारा,’ ‘सिमाना,’ ‘शंकर,’ ‘दु:ख,’ ‘लक्ष्मीपूजा,’ ‘बाटोमुनिको फूल,’ ‘देश खोज्दै जाँदा’ लगायत पाँचभन्दा दर्जन बढी फिल्ममा अभिनय गरे ।

विश्वप्रसिद्ध अमेरिकी नाटक तथा टीभी सिरिज ‘ट्वेल्भ एंग्री म्यान’ को नेपाली रूपान्तरण ‘१२ दुर्वासा’ मा उनी निर्णायक भूमिकामा छन् । यो नाटक २०७३ मा मण्डला थिएटरमा प्रदर्शन भएको थियो । राजन खतिवडाद्वारा निर्देशित नाटकमा कलाकार सिजन दाहाल सहायक निर्देशक थिए ।

यस पटक भने यो नाटक आफैं निर्देशन गर्दै छन् दाहाल । नाटकमा बुढाथोकीसहित दमकका पूर्वमेयर रोमनाथ ओली, सुवास खरेल, राजेन्द्र अधिकारी, सुमन लिङ्देन, सन्तोष दुलाल, जीवन बराल, सुजन भण्डारी, बलु राई, नवीन रिजाल, तिब्बत राई लगायतको अभिनय रहनेछ । ‘नाटकमा नन् एक्टरहरूको भूमिका पनि देख्न पाइनेछ,’ निर्देशक दाहालले भने, ‘नयाँ शैली र ननएक्टरको सहभागिताले नाटक राम्रै बन्यो भन्ने लागेको छ ।’


प्रकाशित : भाद्र ८, २०७९ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?