पहिरनसँग जोडिन्छ मानवीय पहिचान

सुशीला तामा‌ङ

काठमाडौँ — मानिसले कपडा किन लगाउँछन् ? यो प्रश्नमा शरीरको सुरक्षा र लाज ढाक्न मानिसले कपडा लगाउँछन् भन्ने सामान्य उत्तर आउला । अत्याधुनिक प्रविधिको विकासँगै मानिसमा आएको चेतले अहिले कपडाको परिभाषा शरीर सुरक्षा र लाजको दायराभन्दा फराकिलो भएको छ । मानिस र उसले लगाउने पहिरन या कपडाले उसको व्यक्तित्व, मुलुक, भूगोल, समुदाय र संस्कृतिको पृष्ठभुमिलाई बताउँदै मानवीय सम्बन्ध तथा भावनाहरु जोडिने चित्रकार मुना भडेलले आफ्नो कला सिर्जनामा प्रस्ट्याएकी छन् ।

पहिरनसँग जोडिन्छ मानवीय पहिचान

ठमेलस्थित दलाई ला आर्ट स्पेशमा बुधबारदेखि ‘कोर रिलेसन बिटवीन अस’ शीर्षकमा जारी एकल चित्रकला प्रदर्शनीमा झन्डै एक दर्जन चित्रहरुमा उनले मानव पहिरनसँग जोडिएको मानवीय व्यक्तित्वसँगै सम्बन्ध, व्यक्तिको मनोवैज्ञानिक पक्ष, भावनात्मक प्रभाव तथा सामाजिक स्थितिलाई केलाउने जमर्काे गरेकी छन् । उनका चित्रहरुमा सारी, ढाका कपडाका ‘प्याट्रन’ हरु देखिन्छन् ।

मानव सभ्यताको विकाससँगै ढुंगेयुगमा नै मानिसले शरीर सुरक्षाको लागि उपलब्ध जनावरका छाला तथा हड्डीहरुबाट कपडा बनाई लगाउन सुरुवात गरेको पाइन्छ । त्यसपछि क्रमश: सियो, कपडा सिलाउने मेसिनहरु विकास हुँदै आजको समयसम्म आइपुग्दा मानिसले लगाउने पहिरनमा व्यक्तिको व्यक्तित्व झल्काउने ‘फेसन’ ट्याग झुन्डिएको छ । मानिसले लगाउने कपडामा सामाजिक, आर्थिक, मानसिक पाटोसमेत प्रत्यक्ष रुपमा जोडिने उनको धारणा छ । मानिसमा विभिन्न आवश्यकताहरुमध्ये अहिले उसले लगाउने पहिरन पनि पहिलो प्राथमिकता पर्ने उनले बताइन् । ‘हामी जहाँ जाँदा होस् अथवा कुनै चाडपर्व, उत्सव हुँदा सुरुमै दिमागमा के लगाउने भन्ने आउँछ,’ उनले भनिन्, ‘आफूलाई कस्तो लगाउँदा राम्रो हुन्छ, लगाउने पहिरनले कस्तो महत्त्व राख्छ भन्ने कुरामा हामी सचेत हुन्छौं ।’ पहिरनकै आधारमा संस्कृति र समुदायको पहिचान समेत झल्कने उनको बुझाइ छ ।

महिला शरीरमा देखिएका उनका चित्रहरुमा देखिएका पहिरनहरु आधुनिक जस्ता देखिन्छन् । चित्रसँग पृष्ठभूमिमा देखिएका आकर्षक बुट्टासहित राजस्थानी लोककलाका महिला पात्रहरु देखिन्छन् । पहिरनमा आधुनिक डिजाइनका शैलीभन्दा पनि यससँग जोडिएको मानवीय सम्बन्धलाई सौन्दर्य थप्न बुट्टाको शैली स्थापित गर्न खोजिएको उनको भनाई छ । विशेषगरी कलामार्फत उनले महिलाको पहिरनमा जोडिएको शृंगार, सौन्दर्यलाई संस्कृति तथा यसको प्रभावसँग केलाउन खोजेकी छन् । उनले भनिन्, ‘हामीले देखेअनुसार पुरुषभन्दा महिलाहरु नै बढी कपडा लगाउने कुरा बढी सचेत देखिन्छन् । हरेक चाड, विवाह, जमघट हुँदा पहिला नै के लगाउने भन्ने कुरा दिमागमा आउँछ । त्यसैले मैले कलामा पनि महिलालाई देखाएकी छु ।’

डेढ दशकदेखि कला क्षेत्रमा भडेलले आफूलाई भिजुअल कलाकारका रुपमा उभ्याएकी छन् । महिला शरीर र पहिरनमा आफ्नो कल्पनाशीलतालाई खोज्ने उनले सिर्जनालाई पनि अलग पहिचान दिएकी छन् । हजुरआमाको पहिरन शैली र सुनाइएका कथाहरुबाट प्रभावित भएकी उनले यसैलाई आफ्नो सिर्जनाको आधार बनाइन् । ‘हजुरआमाले लगाउनु भएको कपडा, त्यसको बुट्टा, रंगले म निकै प्रभावित भएँ । उहाँले पहिला–पहिला लगाउने कपडाहरुबारे पनि सुनाउनुहुन्थ्यो । यसैलाई आर्ट फर्ममा ल्याएँ,’ उनले भनिन् । सादा र बुट्टाविहीन कपडा लगाउँदा हजुरआमाको मनोभावना, उनको इच्छालाई समेत उनले नजिकबाट नियालिन् । अहिले हजुरआमा उनीमाझ नभएपनि हजुरआमासँग स्मरण कलामा जोडिएको उनले सुनाइन् ।

आ–आफ्नो मुलुक, जाति, समुदाय र संस्कार अनुसारका मौलिक पहिरनहरु अनगिन्ती छन् । कलामा पहिरनको चित्रण हुन सकेमा यसले कुनै मुलुक तथा जातिको ऐतिहासिक पृष्ठभूमि समेत खुल्ने उनको ठहर छ । पहिरनकै आधारमा मानिसको स्तर, पद, सामाजिक हैसियत, रीतिरीवाज, व्यक्तित्व, मानसिक अवस्था र चेतनाको स्तर समेत निर्धारण हुने भएकाले यी सबै पक्षका विषयमा समेत कलासँगै अन्य क्षेत्रमा समेत बहसका रुपमा आउनुपर्ने उनका कलाकृतिहरुले इंगित गर्छन् । सिर्जना मार्फत पहिरनलाई फरक शैलीमा उठान गरिएको भडेल स्वयंले समेत यसलाई सौन्दर्य, संस्कृति, मनोचेतना र मानवीय सम्बन्धसँगै ऐतिहासिक पाटोलाई सुक्ष्म रुपमा खोजी गर्नुपर्ने देखिन्छ । उनको समकालीन कला विधाबाट नै मानिसको मौलिक पहिरन शैली समेत उजागर हुन सक्छ ।

यी विविध पक्षलाई उनले नकेलाएपनि पहिरनसँग जोडिने मानव शरीरको अस्तित्व र प्रभावबारे निकै सुन्दर ढंगले केलाएको प्रदर्शनी अवलोकनमा सहभागी चित्रकार कपिलमणि दिक्षितले बताए । मानव शरीर आफैंमा एउटा सौन्दर्य हो । संसारमा मानवले लगाउने वस्त्रका कुरा छोड्ने हो भने मानवको सामाजिक तथा आर्थिक हैसियतको विषय नै नउठ्ने मर्मलाई दिक्षितले न्युड आर्टमार्फत् व्यक्त गर्दै आएका छन् । कलाका शैली, रंगको संयोजन, बुट्टाका सौन्दर्यमा भडेलले महिला शरीरको अस्तित्वलाई पनि अघि सारेको उनको बुझाइ छ ।

कला प्रदर्शनी भदौ १५ गतेसम्म जारी रहने छ ।

प्रकाशित : श्रावण ३०, २०७९ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?