मत याः मा लोपोन्मुख १५ बाजा- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मत याः मा लोपोन्मुख १५ बाजा

प्रत्येक वर्ष फरक टोलले यात्रा आयोजना गर्ने भएकाले वर्षैपिच्छे नयाँले बाजा सिक्नुपर्छ, पोहोर अर्को टोलमा सिकेकाले यो वर्ष सोही टोलमा आएर बजाउन पाउँदैनन्
दामोदर न्यौपाने

काठमाडौँ — प्राप्तिका वज्राचार्यले धा बाजा सिक्न लागेको ९ महिना भयो । बाजा सिकिसकेर गुरुसँग बिदा भइसकेको पनि चार दिन बित्यो । प्रशिक्षण सकिए पनि पाटन कोबहाको भगवती फल्चामा अभ्यास गर्न भने आइरहेकी छन् । १८ वर्षीया वज्राचार्यले आउँदो आइतबार हुने मत याः यात्रामा धा बाजा बजाएर ललितपुरको प्राचीन बस्ती परिक्रमा गर्नेछिन् । 

आयुष वज्राचार्य पनि धा बाजाकै अभ्यास गरिरहेका छन् । प्राप्तिका र आयुषजस्तै १३ वर्षदेखि ५५ वर्ष उमेरका सय जनाले नौ महिनादेखि बाजा बजाउन सिकिरहेका छन् । यीमध्ये सबैभन्दा बढीचाहिँ धा बाजा सिक्ने नै छन् । सय जनामध्ये ३६ जनाले धा बाजा सिकिरहेका छन् । योसहित १५ वटा बाजा मत याःमा घन्किन्छन् । तीमध्ये केही बाजा हराउँदै गएकासमेत छन् । ‘हराएका बाजासमेत मत याःले संरक्षण गरिरहेको छ,’ मत याः यात्रा सञ्चालक समितिका अध्यक्ष सुधालाल मुल्मीले भने, ‘ललितपुरका टोलै ब्युँझाउने यो भव्य पर्व हो ।’

मत याः मा दर्जी समुदायले बजाउने पञ्चैबाजादेखि तामाङ समुदायमा प्रचलित ढ्याङ्ग्रोसम्म बजाइन्छ । ज्यापू समाजमा प्रचलित धिमे बाजादेखि किरात समुदायमा प्रचलित मुर्चुङ्गासमेत बजाइन्छ । कुनै बाजा सिकाउन ९ महिना लाग्यो भने कुनै एकै दिनमा पनि सिकिए । एक दिनको बाजा सिक्नेमध्येमा पर्छन् सुवर्ण शाक्य । उनले ढ्याङ्ग्रो बजाउन सिकेका छन् । ‘एकै दिनमा सिकें मैले,’ फाल्चामा धा बजाइरहेका उनले भने, ‘तर धा बाजा सिक्न नौ महिना लाग्छ । यो गाह्रो छ ।’

धिमे, नायु खिंचा, काशी बाजा, खैजडी, कोचाखी, मगःखि, नगरा, दमोखिं, मृद्ग, ढोलक, दः धाँ, धोचा, दरमा, जोनगरा र कान्ताडब गरी १५ प्रकारका हुन्छन् बाजा । यीमध्ये प्रमुख बाजा धा बाजा मानिन्छ । दमोखिंलाई चाहिँ महत्त्वपूर्ण बाजा मानिन्छ । दमोखिंलाई देव बाजा मानिने मुल्मीले बताए । दमोखिंको विभिन्न भागमा विभिन्न देवदेवी विराजमान भएको मानिन्छ । दमोखिंको दायाँ भागमा महालक्ष्मी, बायाँमा महाकाली, बीचमा भैरव विराजमान भएको मानिन्छ । दायाँ चक्कामा नृत्यनाथ र बायाँमा महांकाल विराजमान भएको मानिन्छ ।

ललितपुरका १० टोलले मनाउँछ यो मत याः । हरेक वर्ष बेग्लाबेग्लै टोलले आयोजना गर्छ । यो वर्ष कोबहाको पालो परेको छ । ‘हाम्रो पालो २०६९ सालमा आएको थियो, यो पालि २०७९ मा आयो,’ मुल्मीले भने, ‘अब २०८९ सालमा हाम्रो टोलको पालो आउँछ । यो टोलमा ललितपुर महानगरका ९, ११, १२ र १६ गरी ४ वटा वडा पर्छन् । नकवहिल, चक्रवहिल, बुबहाल, ओकुबहाल, कोबहाल, मंगलबजार, इखाछें, हौगल, इखालखु र सौगाल गरी १० वटा टोलले आयोजना गर्छ मत याः । ‘यहाँ कुनै जातीय विभेद छैन,’ मुल्मीले भने, ‘सबै जाति सहभागी हुन्छन् ।’

प्रत्येक वर्ष फरक टोलकाले यात्रा आयोजना गर्ने भएकाले प्रत्येक वर्ष नयाँ मान्छेले बाजा सिक्नुपर्छ । पोहोर अर्को टोलमा सिकेको मान्छेले यो वर्ष अर्को टोलमा बजाउन पाउँदैन । ‘हाम्रो टोलमा पालो आएपछि हाम्रै टोलकाले सिक्नुपर्छ । अघिल्लो वर्ष सिकेकाले यहाँ आएर बजाउन पाउँदैन,’ मुल्मीले भने, ‘प्रत्येक वर्ष नयाँले सिक्नुपर्छ । १० वर्ष पहिला सिकेकाले पनि बिर्सिसकेको हुन्छ ।’ यो वर्षको मत याः सिकिएको दुई महिनापछि नै नयाँ टोलले सिक्न सुरु गरिसकेको हुन्छ । ‘यस अर्थमा वर्षर्भैरि कुनै न कुनै टोल मत याःमा जुटेको हुन्छ,’ उनले भने, ‘वर्षैभरि कतै न कतै उत्सव भइरहेको पर्व हो मत याः ।’

नवीनमंगल जोशीले ललितपुरको मत याः मा उल्लेख गरेअनुसार दसौं शताब्दीमा राजा गुणकामदेवको पालामा यो यात्रा पुनरुत्थान गरिएको थियो । गुणकामभन्दा अगाडि १४ सय वर्ष पहिला राजा बालार्चन देवको पालादेखि नै ललितपुर नगरमा आफ्नो परिवारको कोही सदस्यको मृत्यु भएमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मत याः सुरु गरेको जोशीले उल्लेख गरेका छन् । मत याः गाईजात्राको भोलिपल्ट पर्छ ।

बौद्ध समुदायको पर्वका रूपमा चिनिने मत याः मा ललितपुरभित्रका चैत्य, बहा, बही र विहारको परिक्रमा गरिन्छ । निकु जात्रा, दीपजात्रा र शृंगारभेरी जात्रा भनेर चिनिने मत याः को बेलुका मात्र यी १५ किसिमको बाजा बजाएर टोल घुमिन्छ । बाजा बजाउनु अघिचाहिँ दीप लिएर घुम्ने गरिन्छ । मत याः सुरु हुनुभन्दा दुई साताअघि श्रावण शुक्लपक्ष प्रतिपदा तिथिबाट एक सातासम्म नेकु बाजा बजाएर टोल घुम्ने गरिन्छ । यसलाई व्वगी जाने कार्यक्रम भनिन्छ । व्वगी मध्यरातमा गएर बिहान घाम झुल्कनुअघिसम्म जारी रहन्छ ।

वर्षायाममा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोप नहोस् भनेर नेकु बाजा फुक्दै चैत्य घुम्ने परम्परा रहेको मुल्मीले बताए । ‘यसरी परिक्रमा गर्नाले सम्भावित अनिष्ट हट्ने विश्वास गरिन्छ,’ उनले भने, ‘ढ्याङ्ग्रो, डम्फु जस्ता थर्किने बाजाबाट निस्कने तिखो र चर्को आवाजले भूतप्रेत पन्छिने जनविश्वास छ ।’

मत याः को दिन ललितपुर परिक्रमा गरिन्छ भने भोलिपल्ट बुङ्मती गइन्छ । तेस्रो दिन स्वयम्भूसम्म पुगिन्छ । मत याः को चौथो दिन गणेश पूजा गरिन्छ । ललितपुरका विभिन्न गणेश मन्दिरको परिक्रमा गरिन्छ । अनि त्यही दिन अर्को वर्षको यात्राको व्यवस्थापनको जिम्मा अर्को टोललाई हस्तान्तरण गरिन्छ ।

प्रकाशित : श्रावण २५, २०७९ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्

पुरातात्त्विक पोखरीमा पुल

कानुनअनुसार प्राचीन स्मारक नष्ट गर्न, भत्काउन, हटाउन, स्वरुप परिवर्तन गर्न वा विरुप बनाउन निषेध
दामोदर न्यौपाने

भक्तपुर — भक्तपुरको प्राचीन बस्ती चित्रपुरको पोखरीको बीचमा पुल निर्माण गरिएको छ । प्राचीन स्मारक संरक्षण ऐनविपरीत ‘वाफे पुखु’ मा पुल राख्दा पोखरी कुरूप देखिएको छ । सूर्यविनायक नगरपालिका–४ मा पर्ने यो पोखरीको गत वर्षदेखि जीर्णोद्धार सुरु गरिएको थियो ।


जीर्णोद्धार गर्न नगरले गरेको लागत इस्टमेटमा यस्तो पुल राख्ने उल्लेख छैन । ‘प्राचीन स्मारक संरक्षण ऐनविपरीत मात्र होइन, नगरपालिकाले तयार पारेको लागत स्टमेटविपरीत काम भयो,’ स्थानीय राजेशकुमार राजथलाले भने, ‘यो ऐनविपरीत काम तुरुन्त सच्याउनुपर्छ ।’

प्राचीन स्मारक संरक्षण ऐनले सम्पदामा नयाँ संरचना बनाउन निषेध गरेको छ । ऐनले प्राचीन स्मारक नष्ट गर्न, भत्काउन, हटाउन, स्वरूप परिवर्तन गर्न, विरूप बनाउन निषेध गरेको छ । यसो गरेमा सजाय हुन्छ । ऐनको दफा १२ को खण्ड कमा सजायको व्यवस्था गरेको छ । ऐनको दफाले प्राचीन स्मारक ऐनअनुसार काम गरेमा बिगो रकम असुरउपर गरी पच्चीस हजार रुपैयाँदेखि लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षदेखि १५ वर्षसम्म सजायको व्यवस्थासमेत गरेको छ । ‘सम्पदा जोगाउन हामी कानुनी कारबाहीको माग लिएर अदालतमा जानसमेत तयार छौं,’ राजथलाले भने, ‘यो सम्पदा हाम्रो बस्तीको गहना हो । यसलाई खेलबाड गर्न दिँदैनौं ।’ सूर्य विनायक नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समितिमार्फत सुरु गरिएको जीर्णोद्धार कार्य अन्तिम चरणमा पुगेको छ । पोखरीको उत्तरतर्फबाट भित्र पस्ने गेट बनाइएको छ । त्यो गेटबाट छिर्नासाथ पुल सुरु हुन्छ । करिब दुई मिटर लम्बाइको पुल बनाइएको छ । ‘खै के बनाउन लागेको हो ? पोखरीको बीचबाट पिल्लर पनि उठाइएको छ,’ स्थानीयवासी मदन राजथलाले भने, ‘हामीले सुरुमा थाहै पाएनौं । पछि हेर्दा पो पुल बनाइएको रहेछ ।’

कृष्णहरि खड्काले यहाँ पुल बनाएका हुन् । पोखरीको बीचमा नागको प्रतिमा बनाउने उनको योजना रहेको स्थानीयले जनाए । यो नागपोखरी नभई कृषकको संस्कृतिसँग जोडिएको पोखरी भएकाले नागको मूर्ति राख्नु उचित नभएको राजथलाले बताए । उनका अनुसार पोखरीको चिउरा बनाउने सस्कृतिसँग जोडिएको छ । चिउरा बनाउन धान भिजाउन यही पोखरीबाट पानी लगिन्थ्यो । धान भिजाउने पोखरी भएकाले यसको नामै धान भिजाउने पोखरी भनेर चर्चित भयो । नेवारी भाषामा यो पोखरीलाई ‘वाफे पुखु’ भनिन्छ । राजथलका अनुसार वाफे भनेको धान र पुखु भनेको पोखरी हो । ‘राख्नै परे बरु धानको प्रतीक राख्नु, किसानको प्रतीक राख्नु,’ राजथलाले भने, ‘त्यही पनि ऐनअनुसार पोखरी चलाउन पाइँदैन । न यहाँ धानकै राख्न मिल्छ, नत नागकै राख्न मिल्छ । यहाँ बनाइएका अनावश्यक संरचना तुरुन्त भत्काउनु पर्छ ।’

वडाध्यक्ष लक्षु न्यौपानेले पोखरीबारे के भएको बुझेर आवश्यक कारबाही गर्ने बतााए । ‘यो पहिला नै निर्माण सुरु भएको हो । कसरी निमाण भयो, कसले बजेट दियो सबै अध्ययन गर्छौं,’ न्यौपानेले भने, ‘हिजो स्थानीयको पनि भेला भएको थियो । भेलाले जे भन्छ, त्यही गर्छौं ।’ भेलाले सम्पदा संरक्षण समितिसमेत बनाउने निर्णय गरेको उनले जनाए ।

प्रकाशित : श्रावण २३, २०७९ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×