कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गाउँदै पढ्ने चाहना

सांगीतिक करिअरसँगै अध्ययन अघि बढाएकी रचनालाई भविष्यमा आफू गायनमा अझ बढी व्यस्त हुन्छु भन्ने विश्वास 
नारायण खड्का

अस्ट्रेलिया — यदि रचना रिमालले सोचेको जस्तो हुन्थ्यो भने अहिले उनी अस्ट्रेलियाको कुनै विश्वविद्यालयमा विद्यार्थी भिसा लिएर अध्ययन गरिरहेकी हुन सक्थिन् । अनि नेपालबाट आउने कलाकारको गीत सुन्न वा उनीहरूलाई हेर्नका लागि मात्रै भए पनि कम्तीमा १५ डलरको टिकट काटेर लाइनमा उभिएकी हुन्थिन् । तर समयले उनलाई उही सपनाको संसारमा विद्यार्थी नभएर गायिकाका रूपमा कार्यक्रम गर्ने अवसर जुटाइदियो । 

गाउँदै पढ्ने चाहना

बाआमाको चटपटे पसलमा बसेर गीत गाउँदै गरेको एउटा सानो गाउँले भिडियोले उनको जीवनको मोड मात्र परिवर्तन गरिदिएन कि उनका उमेरका युवा जानका लागि मरिहत्ते गर्ने मुलुकहरूमा कार्यक्रम गर्न सक्ने आत्मविश्वास र अवसर दुवै जुटाइदियो ।

साँच्चै भन्ने हो भने रचना रिमाललाई डाक्टर बन्ने इच्छा थियो रे, अन्य सामान्य परिवारमा जन्मिएका बालबालिका झैं । धेरै पैसा कमाउन सकिएला, आफ्ना बाआमालाई राम्रो घर बनाउँला र चटपटेको व्यवसायबाट मुक्ति दिलाउँला भन्ने सोच उनको दिमागमा सानैदेखि सधैं आउँथ्यो । अलि ठूलो हुँदै गएपछि लाग्यो सायद अस्ट्रेलिया पो जानुपर्छ कि उच्चशिक्षाका लागि ? किनकि उनले राम्रो कमाइ मात्र हैन भविष्य पनि राम्रो हुन्छ भन्ने सुनेकी थिइन् । उनले यही साता त्यही देशका ६ सहरमा कार्यक्रम गरेकी छन् । त्यही देशको चौथो ठूलो राज्यको राजधानीमा बसेर आफ्ना अनुभव सुनाइरहेकी थिइन् ।

‘मलाई त धेरै कुरा गर्न पनि आउँदैन,’ दक्षिण अस्ट्रेलियाको एडिलेडस्थित होटलको सोफामा थकित मुद्रामा देखिएकी रिमालले भनिन् । ६ वटा सहरमा छोटो समयमै भएका ‘ब्याक टु ब्याक’ कार्यक्रम सकेर थकित देखिए पनि संगीतप्रतिको मोह उनको मुहारमा प्रस्ट देख्न सकिन्थ्यो । पहिलो पटक अस्ट्रेलिया आएकी उनलाई यहाँको सांगीतिक माया र प्रेमबाहेक यहाँको विकास अत्यन्तै मनमोहक र रोचक लागेछ । प्रस्तुतिका क्रममा सिड्नीदेखि तास्मानियासम्म पुगेकी उनले कति ठाउँ त नेपालजस्तै लागेको सुनाइन् ।

चन्द्रगढीस्थित प्रज्ञा एकेडेमीमा कक्षा ५ मा पढ्दा नै उनले स्कुलस्तरीय सांगीतिक प्रतियोगतामा प्रथम भएर डायरी र ५ सय रुपैयाँ जितेकी थिइन् । उनको जीवनको पहिलो सांगीतिक सफलता र संगीतले दिएको पहिलो पुरस्कार त्यही थियो त्यसैले पनि उनीसँग त्यो डायरी र ५ सय रुपैयाँ अहिलेसम्म छ । ‘मलाई त्यो क्षण र त्यो पुरस्कार अहिले पनि उत्ति नै प्यारो लाग्छ,’ उनी भन्छिन् । त्यसपछि सुस्त रूपमा अघि बढ्दै गएको सांगीतिक यात्रा चटपटे बेच्दै गीत गाएको भाइरल भिडियोसँगै नेपाल आइडलमा आएपछि भने उचाइमा पुग्यो । त्यसमा पनि ‘फोटो फिरिममा’ बोलको गीत गाएपछि उनले सांगीतिक यात्रामा पछाडि फकेर हेर्नु परेको छैन । झन्डै एक हजार हाराहारी गीत गाइसकेकी उनी कन्सर्टमा रमाउँछिन् ।

आफ्नो सांगीतिक यात्रा अझ सफल र व्यस्त हुने उनलाई विश्वास छ । ‘म संगीत नै अध्ययन गरिरहेकी छु र पढाइलाई समेत सँगै लिएर जान्छु,’ उनले आफैंसँग प्रतिबद्धता गरेकी छन् । रिमाल अस्ट्रेलियामा पशुपति शर्मासहितको टोलीमा पुगेकी हुन् ।

प्रकाशित : श्रावण २५, २०७९ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?