कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘इम्प्रेसन’ कला प्रदर्शनी सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्टस्अन्तर्गत आर्ट एन्ड डिजाइन विभागले ‘इम्प्रेसन’ शीर्षकमा कला प्रदर्शनी सुरु गरेको छ ।सोमबारदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीमा विभागअन्तर्गत ललितकला स्नातक(बि.एफ.ए) अन्तिम वर्षका २७ जना विद्यार्थीहरुका एक सयभन्दा बढी कलाकृतिहरु प्रदर्शनरत छन् ।

‘इम्प्रेसन’ कला प्रदर्शनी सुरु

प्रदर्शनरत कलाकृतिमा विद्यार्थीले चित्र, प्रतिस्थापना तथा ग्राफिक्स डिजाइनमा कला सिर्जना गरेका छन् । जहाँ उनीहरुले प्रकृतिमा रहेका अनेकौं वस्तुलाई कलाको फर्ममा ढालेका छन् । कला सिर्जना अध्ययनका क्रममा उनीहरुका आ–आफ्ना अनुभव, कलाप्रति उनीहरुले राख्ने धारणा तथा दैनिक जीवनमा जोडिन आउने पक्षहरुलाई उनीहरूले निकै सुन्दर रूपमा कलाकृतिहरुमा अभिव्यक्त गरेका छन् ।

विद्यार्थीहरू आफूले गरेका अनुभूतिलाई विविध माध्यम र सामग्रीको प्रयोग गरेर कलामार्फत सिर्जलशील अभिव्यक्तिलाई प्रस्तुत गरेको चित्रकार तथा विश्वविद्यालय, स्कुल अफ आर्टस् अन्तर्गत आर्ट एन्ड डिजाइन विभागका उपप्राध्यापक सागर मानन्धरले बताए । उनका अनुसार कला प्रदर्शनी विद्यार्थीहरूका लागि कला क्षेत्रमा व्यावसायिक रुपमै लाग्ने सुरुवाती आधार हो ।

‘विद्यार्थीहरूले चार वर्षसम्म सिकेका र अनुभव गरेका कुरा कलामार्फत स्वतन्त्र रूपमा राख्छन्,’ उनले भने,‘यसले उनीहरूका कला सिर्जनासँगै प्रर्दशन गर्ने, कला क्युरेसन गर्ने तरिका, आम कलाप्रेमीसँग कसरी प्रस्तुत हुने र कलाको माहोलबारे सिकाउँछ ।’ कला सिर्जनामै समर्पित हुन्छु भन्ने नवप्रतिभाका लागि प्रदर्शनी निकै लाभदायी हुने उनको बुझाइ छ । अझ प्रदर्शनी उनीहरूका निम्ति आफ्नो परिश्रम, कलाप्रतिको अनुराग र सामथ्र्यको प्रस्तुतिलाई सार्वजनिक गर्ने एउटा शुभ अवसरका रुपमा उनले लिएका छन् ।

प्रदर्शनी उद्घाटनमा सहभागी ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपालमा कला, संस्कृति तथा ज्ञानको विकास र विस्तारका लागि यस्ता प्रर्दशनीले सहायता पुर्‍याउने बताए । उनले भने,‘कला तथा संस्कृतिको विकासका लागि नयाँ पुस्ता जोडिनुपर्छ । जोश, जाँगर र ऊर्जाका साथ नयाँ पुस्ता अगाडि आएमा हाम्रो कलाको विकास हुन सक्छ ।’

विश्वविद्यालयको आर्ट एन्ड डिजाइन विभागले झन्डै दुई दशकदेखि कला सिर्जनामा नयाँ पुस्ताका कलाकार उत्पादन गरिरहेको छ । विभागले सुरुवातदेखि नै स्नातक अन्तिम वर्षका विद्यार्थीका गरेका कलाकृति प्रदर्शन गर्दै आएको छ । प्रदर्शनी शनिबारसम्म जारी रहनेछ ।

प्रकाशित : श्रावण १७, २०७९ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?