किरणको कला : ‘समर्पण’

‘कलाकार भनेको चराजस्तै हुनुपर्छ । चराले आकाशमा उड्दै नयाँ-नयाँ ठाउँ घुमेजस्तै कलाकारले नयाँ सिर्जना गर्न सक्नुपर्छ । कला सिकेर, गरेर कहिल्यै सकिँदैन ।’
सुशीला तामा‌ङ

काठमाडौँ — ‘कलाकार भनेको चराजस्तै हुनुपर्छ । चराले आकाशमा उड्दै नयाँ-नयाँ ठाउँ घुमेजस्तै कलाकारले नयाँ सिर्जना गर्न सक्नुपर्छ । कला सिकेर, गरेर कहिल्यै सकिँदैन ।’ चित्रकार किरण मानन्धर कलालाई अनन्त सिर्जनाको रुपमा व्याख्या गर्छन् । जीवनको ७२औं वसन्तमा हिँड्दै गरेका चित्रकार मानन्धरले साँढे ६ दशकभन्दा लामो समय कला क्षेत्रमै व्यतित गरिसककेका छन् ।

किरणको कला : ‘समर्पण’

कलाप्रेमीहरूका लागि उनी अहिले नौलो कलाकृतिहरूका साथमा आएका छन् । गत साता आइतबारदेखि बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘समर्पण’ शीर्षकमा मानन्धरको एकल कला प्रदर्शनी सुरु भएको छ । करिब एक महिनासम्म चल्ने प्रदर्शनीमा उनका झन्डै चार दर्जनको हारहारीमा कलाकृतिहरू प्रदर्शनमा रहेका छन् । पछिल्लो समयमा सिर्जना भएका सम्पूर्ण कलाकृति सिंगो मुलुक, इष्ट देवदेवी, पितृ तथा कलाप्रेमीहरूप्रति समर्पण गरिएको उनले बताए । त्यसैले उनले प्रदर्शनीको नाम नै ‘समर्पण’ भनेर राखे ।

‘मैले जानेको र गरेको काम नै यही कला हो,’ उनले भने, ‘कलालाई माया गर्ने, देशवासी, कुल देवता, भगवानलाई कला नै मेरो समर्पण हो ।’

काठमाडौं नयाँ बजारमा हुर्के-बढेका मानन्धरले बाल्यकालबाटै कलम फालेर कुची समाते । अक्षर सिक्नबाट दूर भागेका उनी कुची, रंग तथा कागजको जोहो गरी बालाजुदेखि विष्णुमती खोला किनार सिर्जनाका लागि निकै भौतारिए । उनले भने,‘कलाका लागि मेरो पहिलो विश्वविद्यालय नै विष्णुमती हो । त्यसपछि बालाजु बन्यो ।’ बाबुको आँखा छल्दै विष्णुमती र बालाजुतिर भौतारिँदै गर्दा उनले अग्रज चित्रकार चन्द्रमान सिंह मास्केलाई बालाजु पार्कमा भेटे । त्यसपछि भने उनको कला यात्राले लय समात्यो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति समेत भइसकेका मानन्धरले सन् १९८० मा वनारस हिन्दू विश्व विद्यालयबाट कलामा स्नातकोत्तर गरेका छन् । भारतबाट फर्केलगत्तै सन् १९८१ मा उनले जमल कान्तिपथस्थित ‘ग्यालरी पल्पसा’ स्थापना गरे‚ जुन ग्यालरी १० वर्ष सञ्चालन भएपछि बन्द भयो । नेपालमा कलाकारलाई हेय दृष्टिले हेर्ने समयमा मानन्धरले कला यात्रा सुरु गरे । उनी सम्झन्छन्,‘न्युरोडमा सारी पसल खोल्न सटर पाइन्थ्यो तर ग्यालरी खोल्न कसैले दिन मान्दैनथे ।’ र पनि उनले परिवारको चाहनाविपरीत चित्र बनाउने हुटहुटीलाई निरन्तरता दिए । सन् १९९८ मा कला अध्ययन गर्न ‘सिटी इन्टरनेसनल द आर्ट’ फेलोसिप पाएपछि उनले पेरिसको कलालाई नजिकबाट नियाले । पेरिसमा उनले मौखिक भाषा त बुझेनन् तर कलाको भाषा भने बुझे र अझै गहिराइमा पुगे । कलाका लागि सिर्जना र विषय कहिल्यै नसकिने उनको बुझाइ छ । कलाकारले जति सिर्जना गर्‍यो, त्यति टलक आउने उनको अनुभवले भन्छ । उनले थपे,‘एक वर्षमा एउटा चित्र बनाएर हुँदैन । कला सिर्जना निरन्तर गरिरहनुपर्छ ।’

अमूर्त, अर्धामूर्त शैलीमा सुन्दर कलाकृति सिर्जना नै मानन्धरका विशेषता हुन् । महिलालाई ‘प्रेम’ को प्रतीकका रुपमा कतै न कतै बिम्बात्मक रुपमा प्रस्तुत गर्ने उनको कला सिर्जनाको शैली नै सुन्दर र लोभलाग्दो छ । त्यसैमा रंग र दृश्यको अर्धअमूर्त सिर्जनाले नै उनको कलामा प्राण भरिदिन्छ ।

पछिल्लो प्रदर्शनीमा भने कला सिर्जनाको विषयमा मानन्धरले भगवान्‌लाई बढी जोड दिएका छन् । अझ विशेषत: उनले भगवानको रुपमा पनि महिलालाई बढी प्राथमिकता दिएका छन् । पहेँलो, सेतो, रातो, कालो रंगमा देवदेवीलाई उतारेका छन् । रातो रंगलाई ज्वाला, आक्रोश, पहेँलो रंगलाई वैभव, सेतो रंगलाई चाँदीको बिम्ब मान्दै उनले मानिसमा पनि आफ्नो कर्मप्रति जोश, जाँगरको आक्रोश आएमा मात्र सफलता मिल्ने इंगित गरेका छन् । देवताहरूमा भएको जस्तै शक्ति कलाकारहरूमा पनि हुनुपर्छ भन्ने उनको मान्यता छ । समय र परिस्थितिअनुसार चलेर कलाकारले त्यसलाई कलामा उतार्न सक्नुपर्ने उनी बताउँछन् । प्रदर्शनीमा राखिएको भैरवको चित्रलाई उनले आक्रोशको बिम्बका रुपमा चित्रण गरेका छन् । त्यस्तै लाखे, शिव-पार्वती, गणेशलगायत देवदेवीलाई उनले कलामा उतारेका छन् ।

प्रदर्शनीमा रहेका कलाकृतिहरू अवलोकन गर्दै गर्दा कतै रातो रंगको प्रभावले दर्शकहरूमा आक्रोश र शक्ति उत्पन्न भएको महसुस हुन्छ भने फेरि अर्को पहेँलो रंगलाई भरेको क्यानभास हेर्दा शीतलता प्राप्त हुन्छ । उनले प्रयोग गर्ने एक्रेलिक रंग र त्यसैमा गरिएको टेक्सचर शैली निकै सुन्दर तथा आकर्षित पार्ने खालका छन् । कला प्रदर्शनीमा सहभागी चित्रकार तथा कला लेखक तीर्थ निरौलाले मानन्धरको पछिल्लो कला सिर्जना केही नौलो देखिएको सुनाए । उनका अनुसार कलाको प्रयोग र रंग संयोजन अझ उत्कृष्ट रहेको छ ।

कला क्षेत्रकै विकास र विस्तारमा मानन्धरको निरन्तरता नै उल्लेखनीय रहेको ग्यालरीका निर्देशक तथा चित्रकार संगीता थापाले बताइन् । ३० को दशकमा कला क्षेत्रको विकासमा होमिएका उनीसँगै मानन्धरलगायत चित्रकारहरुको त्यतिबेलाको माहोललाई उनले स्मरण गरिन् । नेपालमा अझै पनि कला क्षेत्र, कला लेखन र सञ्चार क्षेत्रसँग बसेर कुरा गर्ने वातावरण बनि नसकेको मानन्धरले जिकिर गरे । कलालाई अप्रत्यक्ष रुपमा व्यापारकै एक पाटोमा समेत लिएको आजको समयमा कला विस्तार तथा बहसका लागि ग्यालरीहरू खोलिनुपर्ने उनको जोड छ ।

प्रदर्शनी भदौ ८ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : श्रावण १६, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?