१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

काठमाडौंमा ‘झिमरुकतिर’

बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा ‘झिमरुक तिर’ शीर्षकमा शनिबारदेखि सुरु भएको कला प्रदर्शनीमा चित्र तथा तस्बिरमा झिमरुकको सुन्दरता अवलोकन गर्न सकिन्छ ।
सुशीला तामा‌ङ

काठमाडौँ — कतै खर, कतै ढुंगा र कतै परालले छाएका घरसहितको छिटिक्क परेको बस्ती । मानिसहरू आफ्नै दिनचर्या व्यस्त छन् । मुहारमा मुस्कान बोकेका आमाहरू, हरियाली वनपाखाले खुलेको प्रकृति, आफ्नै गति समाएको गौमुखी क्षेत्रको छाँगो, लमतन्न परेको रक गार्डेन र अतिथि कुर्दै बसेको काउछे दरबार हेर्न प्यूठानस्थित ओखरकोट झिमरुक गाउँपालिकातिर पुग्नै पर्दैन ।

काठमाडौंमा ‘झिमरुकतिर’

झिमरुक गाउँको सिंगो सौन्दर्यलाई यतिबेला कलाकारहरूले राजधानीसम्म ल्याइपुर्‍याएका छन् । बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा ‘झिमरुक तिर’ शीर्षकमा शनिबारदेखि सुरु भएको कला प्रदर्शनीमा चित्र तथा तस्बिरमा झिमरुकको सुन्दरता अवलोकन गर्न सकिन्छ । एक्रेलिक रंग, काष्ठ प्रिन्ट कला, फोटोग्राफी र आलोक चित्रमा १० जना कलाकारले झिमरुकको प्राकृतिक, सांस्कृतिक, सामाजिक, मानवीय तथा वास्तुकलालाई उतारेका छन् ।

प्यूठान झिमरुक गाउँपालिका ओखरकोट कोटको फेदिखर्क छेउ जोगीथुममा सांस्कृतिक संग्रहालय स्थापना गर्ने उद्देश्यले गत वर्ष नै कलाकारहरूले झिमरुकमा स्थलगत रूपमा नै तयार गरिएका कलाकृतिहरु नै अहिले काउन्सिलमा प्रदर्शन गरिएको चित्रकार रतनकुमार राईले बताए । उनका अनुसार प्रदर्शन सकिएलगत्तै कलाकारहरूले कलाकृतिहरु संग्रहालयका लागि झिमरुक गाउँपालिकालाई हस्तान्तरण गरिनेछ ।

आधुनिकताले लोप हुँदै गएको झिमरुकको कला, संस्कृति, चाडपर्व, पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्न प्यूठानले भावी योजना प्रारूपमा विकास निर्माणसँगै कलाको संग्रहालयको अवधारण अगाडि सारेको थियो । सोही अवधारणालाई राजनीतिज्ञ मोहनविक्रम सिंह र गाउँपालिका अध्यक्ष तिलकबहादुर जीसीलगायतले सुरुवात गरेका थिए ।

गाउँपालिकाको आमन्त्रणमा झिमरुक पुगेका कलाकारहरुले त्यहाँका प्रकृति, बस्ती, आवास, परिवेश, मानव जनजीवन, संस्कृति, संगीत तथा मूर्त तथा अमूर्त सम्पदालाई नियालेर हुबहु उतारिएको चित्रकार राईले सुनाए । राईले चित्रमा झिमरुकको गौमुखी ओढारलाई उतारेका छन् । उनका अनुसार कलाकृतिहरुले त्यहाँको प्राकृतिक तथा ऐतिहासिक महत्त्व बोकेको सौन्दर्यलाई समेटेको छ । मानव सभ्यता, इतिहास र प्रकृतिलाई बोकेका यस्ता सम्पदाहरु कलामा उतारी राखेमा भावी पुस्ताका लागि दस्तावेज बन्ने उनको भनाइ छ । ‘आधुनिकताले सबै कुरा नयाँ बनेर जाँदैछन्,’ उनले भने,‘आजको कुरा भोलि नदेखिन सक्छ । कलामा उतारी राखे यो पछिसम्म रहिरहन सक्छ ।’

प्रदर्शनीमा रहेका कलाकृतिहरूमा झिमरुकबासीले प्रयोग गर्ने परम्परागत सामग्री, तिनको सौन्दर्य, बस्तीको संरचना, त्यहाँका अनुहार, धामिर्क स्थल, पुराना दरबार, पुराना बाजागाजासमेत चित्रण गरिएका छन् । कलाकृतिमा त्यहाँको मानव सभ्यता, समाज, विकास, मानिसले अवलम्बन गर्दै आएको कला, संस्कृति र सभ्यताका बाछिटाहरु मिसिएका देखिन्छ । चित्रकार कुन्तीश्री थापाका अनुसार ‘प्रत्येक गाउँ, ठाउँ, त्यहाँका मानिस, तिनको संस्कृति र सभ्यता आफैंमा एउटा जीवन्त संग्रहालय हो ।’ त्यहाँको परम्परागत शैलीका आवास र समग्र भेगको पहिचानलाई उनले चित्रमा उतारेकी छन् ।

कलालाई बेवास्ता गर्दै आएको समाजमा एउटा गाउँपालिका जस्तो स्थानीय निकायले त्यहाँको समग्र परिवेश र पर्यावरणलाई कलामा समेटेर संग्रहालय नै स्थापना गर्न गरको सुरुवात नै ज्यादै सह्रानीय रहेको चित्रकार जीवन राजोपाध्ययले बताए । ‘काठमाडौं महानगरपालिकामा नै एउटा गतिलो कला संग्रहालय छैन । कलालाई प्राथमिकता कतै पनि छैन । एउटा सानो गाउँपालिकाले गरेको सुरुवात गरको छ । यसबाट सबैले सिक्न जरुरी छ,’ उनले भने । देशैभर केन्द्र मात्र नभएर प्रदेश र स्थानिय तहमा झिमरुकले जस्तै सुरुवात गर्ने हो भने नेपालमा पनि कला क्षेत्रले विस्तार हुने चित्रकार नरेश सुन्दर सैंजुको धारणा छ । कलाको संग्रहालय बन्नु नै कुनै बस्ती तथा ठाउँका लागि सभ्यताको पहिचान बन्ने उनले सुनाए ।

संग्रहालय स्थापनाका लागि कलाकारहरू मुकेश श्रेष्ठ, राजकुमार रानामगर, सुदेशा थापा, सुजिता महर्जन, दुर्गा सुनुवार र फोटो तथा भिडियोमा सुदर्शन कार्की सहभागी भएका थिए । प्रदर्शनी सोमबारसम्म जारी रहनेछ ।

प्रकाशित : श्रावण ९, २०७९ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?