१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नदीको यात्राले देखाउने 'जलवायु परिवर्तन'

रीना मोक्तान

काठमाडौँ — 'म हिउँको यात्रा, सागरको छाया मेरो गन्तव्य थोपा थोपा...' पृष्ठभूमिमा यो गीत मधुर सुनिएसँगै स्टेजमा देखा पर्छ, हिमाल । शान्त अनि चम्किलो । त्यही हिमालबाट पग्लिएर तीन नदीले सुरु गर्छ समुद्र पुग्ने यात्रा । त्यही यात्रामा ती नदीहरू साक्षी बन्छन् जलवायु परिवर्तन, त्यसले मानव जीवनमा पारेको प्रभावको । मानवीय गतिविधिले जलवायु परिवर्तनमा पुर्‍याएको असर र त्यसका मारमा परेका जीव, जन्तुका विषय नियाल्दै अगाडि बढ्छ यात्रा ।

नदीको यात्राले देखाउने 'जलवायु परिवर्तन'

'पोखिएर फेरि बग्दैछु । फेरि नयाँ बाटो लिइँदैछु,' एउटा नदीले प्रफुल्लित हुँदै अर्को नदीलाई सुनाउँछ । समुद्रसँग भेट्ने नदीको यात्रा पूरा होला ? नाटक 'हिउँको पृथ्वी यात्रा' त्यसैको जवाफ हो । अमजद प्रवेज र घिमिरे युवराजको लेखन र निर्देशनमा तयार भएको नाटकले जलवायु परिवर्तनमा मानवीय गतिविधिका अन्तरसम्बन्ध, मावनदेखि जीव जन्तुका विषयलाई कलाकारहरूमार्फत मञ्चमा प्रस्तुत गरेका छन् ।

प्रकृति दोहन, त्यसले सृजना गरेका असमानता समेटिएको नाटकमा नदीहरू बोल्छन्, डल्फिनहरूको संवाद राखिएको छ । नदीलाई कलाकारले शरीरमा ल्याएर उनीहरूका यात्रा, संघर्ष र अनुभूतिलाई मञ्चमा उतारिदिएका छन् । बग्दै गरेको नदी र मानवीय जनजीवन कथाको केन्द्रमा छ ।

०००

जलवायु परिवर्तनका कारण वर्षा हुन सकेको छैन । गाउँ काकाकुल बनेको छ । पानी पर्ने आसमा बसेका छन्, कुसुमका परिवार । कुसुमका बुवा, आमा, हजुरआमा, भाइ थोपाथोपा हिसाब गर्दै पानी पिउँछन् । घरभन्दा माथि खोला थुनेर बाँध बनाएपछि घर अगाडिको खोला सुकेको छ । धारा र कल पनि सुकिसके । बाँधमा थुनिएको पानीले बिजुली आउने खुसी त छ, तर त्यो भन्दा बढी आवश्यकता पानीको छ ।

त्यसैले उनीहरू आकाश वर्षने व्यग्र प्रतिक्षामा बस्छन् । तर, पानी वर्षँदैन । गर्मीले यो परिवार मात्रै होइन अन्य धेरै जीवहरू पनि मारमा परेका छन् । मुसाहरू दुलोबाट बाहिरिएका छन् । बोटबिरुवा सुकेका छन् । हात्तिहरू बस्ती पस्न थालेका छन् । नदी सुख्दा कुसुमका बुवाको माछा मार्ने पेशा धरापमा परेको छ । नाटकले नदी र मानव जनजीवको कथालाई सँगसँगै अगाडि बढाएको छ ।

प्रकृति दोहनले मानवलाई कसरी असर पारिरहेको हुन्छ, कुसुमका परिवार त्यसको उदाहरण हो । प्रकृति मासेर बाँध बनाउँदा उनीहरूको जीवन सुख्खा भएको छ । उनीहरू चाहेजति मन भरुञ्जेल पानी पिउन सक्दैनन् । निर्धक्क नुहाउन सक्दैनन् । कुसुमका बुवा र भाइ एकदिन छेउकै खोंचमा माछा मार्न पुग्छन् । जति जाल हान्दा पनि उनीहरूको हातमा माछा पर्दैन । त्यतिकैमा त्यहाँ आइपुगेका आर्मीको समूहले उक्त ठाउँ निकुञ्जभित्र पर्ने भएकाले माछा मार्न प्रतिबन्ध लगाइदिन्छ । माछा मार्न नपाउँदा कुसुमका बुवा बिरक्तिएका छन् । प्रकृति मासेर गरिएको असन्तुलित विकासले ल्याएको विपदको सामना मानवले गर्नुपरेको कुरालाई नाटकमा प्रस्तुत गरिएको छ ।


त्यसैले एउटा दृश्यमा प्रेमी सरोजको प्रश्नको जवाफमा कुसुम भन्छिन्, 'प्रकृतिलाई जथाभावी चलाएर हामीले कंक्रिटको सहर त निर्माण गरौंला । तर त्यसको बदलामा ठूलो मूल्य चुकाउनुपर्छ कि क्या हो ? यो पृथ्वी मानिसको मात्रै होइन । अन्य जीवहरूको पनि हो ।'

हामीले आफ्नो जीवन बाहेक अन्य जीवहरूका लागि कति पटक सोच्यौं त ? हाम्रा गतिविधिले उनीहरूमा पर्ने असरबारे कहिल्यै हामी गम्भीर बन्यौं त ? मञ्चमा देखिने नदी, डल्फिन, हात्तिका जीवनले एकपटक सोच्न लगाउँछ । मानवीय गतिविधिमाथि घोत्लिन लगाउँछ । एक दृश्यमा एउटा नदीले 'यो पृथ्वीमा हाम्रो कत्ति ठूलो जिम्मेवारी छ है । हामी बग्दै बग्दै सारा जमिनलाई सिंचित गर्छौं । हामीलाई दिएर बोटबिरुवा, चराचुरुङ्गीहरूले आफ्नो तिर्खा मेटाउँछ ।' त्यसमा अर्को नदीले थपिदिन्छ, 'हामीभित्र कत्ति धेरै जीवहरू छन् है । यदि हामी सुक्यौं भने कत्ति जीवहरूलाई गाह्रो हुन्छ होला । कत्ति जीवहरू मर्छन् होला । हामीलाई यही सोचेर चिन्ता लाग्छ ।' उक्त नदीको कुरा सकिन नपाउँदै अर्को नदीले भन्छ, 'हामीलाई बगिरहनमा कति जीवहरूको जीवनको अर्थ छ । तर मानिसहरू हामी बगेको देखेर खेर गयो भन्छन् । के हामी साँच्चै खेर गएको हो ?'

जलवायु परिवर्तन मात्रै होइन राजनीति, प्रेम पनि 'हिउँको पृथ्वी यात्रा'मा देखाइएको छ । विपदमा परेका जनतामाथि गरिने राजनीतिलाई देखाइएको छ । नाटकमा मानव जीवनलाई मात्रै देखाइएको छैन । अन्य जीवका जीवनलाई पनि समेटिएको छ । डल्फिनका भोगाइलाई देखाइएको छ । यसरी थुप्रै कथाहरू समेट्न खोज्दा, नदीको यात्रा अप्रष्ट देखिन्छ । मञ्चमा कुसुमको परिवारलाई हेर्नेहरूले नदीको यात्रा कहाँ पुग्यो, त्यो बिर्सिसक्छन् । तर, नदी र जीव जन्तुको जीवन भोगाइलाई मञ्चमा प्रस्तुत गर्ने चुनौतिबीच नाटकले उठाइएको विषय गम्भीर छ । मिठा संगीत, सुन्दर प्रप्स, मौलिक संवाद र कलाकारहरूको अभिनयले जटिल विषयलाई सरल ढंगमा प्रस्तुत गरिएको छ ।

नाटकमा प्रयोग गरिएको संगीत निकै सशक्त लाग्छन् । धेरै दृश्यमा गीतहरूले कथावाचन गरिदिएको छ । स्मारिका फुयाँल र अनुप तिमिल्सिनाको आवाजले दर्शकलाई कथासँग जोडेर राख्न भूमिका खेलेको छ ।

त्यस्तै हिमाल, हात्ती, डुंगालगायत मिहिन प्रप्सहरू जुन मञ्चमा देखिन्छन्, त्यसले पनि कथामा बल प्रयोग गरिदिन्छ । कुसुमले प्रेमीलाई सरोजलाई भेटेको एउटा दृश्य निकै आकर्षक र कलात्मक लाग्छ । टर्चको सहयोगमा जसरी जुनकिरि समातिएको देखाइएको छ, उक्त दृश्य नाटकको शसक्तमध्येको एउटा हो ।

प्रप्समा मिहेनत देखिन्छ । कलाकारहरूको अभिनयले जीव जन्तुका भोगाइलाई विश्वासयोग्य बनाइदिएको छ । हजुरआमाको चरित्रलाई पवित्रा खड्काले मञ्चमा आफ्नो अभिनयमार्फत् जीवन्त प्रस्तुत गरिदिएकी छन् । हजुरआमा बाहेकका अन्य चरित्रलाई पनि उनले जसरी प्रस्तुत गरिदिएकी छन् ।

त्यसले उनको अभिनय कौशलता प्रष्ट्याउँछ । संगीता उराँवले पनि आफ्नो चरित्रलाई न्याय दिने अभिनय गरेकी छन् । नाटकमा पवित्रा र संगीतासँगै झकेन्द्र विसी, ज्योति पोखरेल, रविन परियार, गोविन्द्र ओली, हिमाल भुजेल, शुशीला लोहार र ज्याक बरालको अभिनय छ । शिल्पी थिएटरमा मञ्चनरत यो नाटक यसअघि कालेबुङ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा देखाइएको थियो भने उपत्यकाबाहिर १२ पटक मञ्चन भइसकेको छ ।

प्रकाशित : श्रावण ३, २०७९ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?