नदीको यात्राले देखाउने 'जलवायु परिवर्तन'- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नदीको यात्राले देखाउने 'जलवायु परिवर्तन'

रीना मोक्तान

काठमाडौँ — 'म हिउँको यात्रा, सागरको छाया मेरो गन्तव्य थोपा थोपा...' पृष्ठभूमिमा यो गीत मधुर सुनिएसँगै स्टेजमा देखा पर्छ, हिमाल । शान्त अनि चम्किलो । त्यही हिमालबाट पग्लिएर तीन नदीले सुरु गर्छ समुद्र पुग्ने यात्रा । त्यही यात्रामा ती नदीहरू साक्षी बन्छन् जलवायु परिवर्तन, त्यसले मानव जीवनमा पारेको प्रभावको । मानवीय गतिविधिले जलवायु परिवर्तनमा पुर्‍याएको असर र त्यसका मारमा परेका जीव, जन्तुका विषय नियाल्दै अगाडि बढ्छ यात्रा ।

'पोखिएर फेरि बग्दैछु । फेरि नयाँ बाटो लिइँदैछु,' एउटा नदीले प्रफुल्लित हुँदै अर्को नदीलाई सुनाउँछ । समुद्रसँग भेट्ने नदीको यात्रा पूरा होला ? नाटक 'हिउँको पृथ्वी यात्रा' त्यसैको जवाफ हो । अमजद प्रवेज र घिमिरे युवराजको लेखन र निर्देशनमा तयार भएको नाटकले जलवायु परिवर्तनमा मानवीय गतिविधिका अन्तरसम्बन्ध, मावनदेखि जीव जन्तुका विषयलाई कलाकारहरूमार्फत मञ्चमा प्रस्तुत गरेका छन् ।

प्रकृति दोहन, त्यसले सृजना गरेका असमानता समेटिएको नाटकमा नदीहरू बोल्छन्, डल्फिनहरूको संवाद राखिएको छ । नदीलाई कलाकारले शरीरमा ल्याएर उनीहरूका यात्रा, संघर्ष र अनुभूतिलाई मञ्चमा उतारिदिएका छन् । बग्दै गरेको नदी र मानवीय जनजीवन कथाको केन्द्रमा छ ।

०००

जलवायु परिवर्तनका कारण वर्षा हुन सकेको छैन । गाउँ काकाकुल बनेको छ । पानी पर्ने आसमा बसेका छन्, कुसुमका परिवार । कुसुमका बुवा, आमा, हजुरआमा, भाइ थोपाथोपा हिसाब गर्दै पानी पिउँछन् । घरभन्दा माथि खोला थुनेर बाँध बनाएपछि घर अगाडिको खोला सुकेको छ । धारा र कल पनि सुकिसके । बाँधमा थुनिएको पानीले बिजुली आउने खुसी त छ, तर त्यो भन्दा बढी आवश्यकता पानीको छ ।

त्यसैले उनीहरू आकाश वर्षने व्यग्र प्रतिक्षामा बस्छन् । तर, पानी वर्षँदैन । गर्मीले यो परिवार मात्रै होइन अन्य धेरै जीवहरू पनि मारमा परेका छन् । मुसाहरू दुलोबाट बाहिरिएका छन् । बोटबिरुवा सुकेका छन् । हात्तिहरू बस्ती पस्न थालेका छन् । नदी सुख्दा कुसुमका बुवाको माछा मार्ने पेशा धरापमा परेको छ । नाटकले नदी र मानव जनजीवको कथालाई सँगसँगै अगाडि बढाएको छ ।

प्रकृति दोहनले मानवलाई कसरी असर पारिरहेको हुन्छ, कुसुमका परिवार त्यसको उदाहरण हो । प्रकृति मासेर बाँध बनाउँदा उनीहरूको जीवन सुख्खा भएको छ । उनीहरू चाहेजति मन भरुञ्जेल पानी पिउन सक्दैनन् । निर्धक्क नुहाउन सक्दैनन् । कुसुमका बुवा र भाइ एकदिन छेउकै खोंचमा माछा मार्न पुग्छन् । जति जाल हान्दा पनि उनीहरूको हातमा माछा पर्दैन । त्यतिकैमा त्यहाँ आइपुगेका आर्मीको समूहले उक्त ठाउँ निकुञ्जभित्र पर्ने भएकाले माछा मार्न प्रतिबन्ध लगाइदिन्छ । माछा मार्न नपाउँदा कुसुमका बुवा बिरक्तिएका छन् । प्रकृति मासेर गरिएको असन्तुलित विकासले ल्याएको विपदको सामना मानवले गर्नुपरेको कुरालाई नाटकमा प्रस्तुत गरिएको छ ।


त्यसैले एउटा दृश्यमा प्रेमी सरोजको प्रश्नको जवाफमा कुसुम भन्छिन्, 'प्रकृतिलाई जथाभावी चलाएर हामीले कंक्रिटको सहर त निर्माण गरौंला । तर त्यसको बदलामा ठूलो मूल्य चुकाउनुपर्छ कि क्या हो ? यो पृथ्वी मानिसको मात्रै होइन । अन्य जीवहरूको पनि हो ।'

हामीले आफ्नो जीवन बाहेक अन्य जीवहरूका लागि कति पटक सोच्यौं त ? हाम्रा गतिविधिले उनीहरूमा पर्ने असरबारे कहिल्यै हामी गम्भीर बन्यौं त ? मञ्चमा देखिने नदी, डल्फिन, हात्तिका जीवनले एकपटक सोच्न लगाउँछ । मानवीय गतिविधिमाथि घोत्लिन लगाउँछ । एक दृश्यमा एउटा नदीले 'यो पृथ्वीमा हाम्रो कत्ति ठूलो जिम्मेवारी छ है । हामी बग्दै बग्दै सारा जमिनलाई सिंचित गर्छौं । हामीलाई दिएर बोटबिरुवा, चराचुरुङ्गीहरूले आफ्नो तिर्खा मेटाउँछ ।' त्यसमा अर्को नदीले थपिदिन्छ, 'हामीभित्र कत्ति धेरै जीवहरू छन् है । यदि हामी सुक्यौं भने कत्ति जीवहरूलाई गाह्रो हुन्छ होला । कत्ति जीवहरू मर्छन् होला । हामीलाई यही सोचेर चिन्ता लाग्छ ।' उक्त नदीको कुरा सकिन नपाउँदै अर्को नदीले भन्छ, 'हामीलाई बगिरहनमा कति जीवहरूको जीवनको अर्थ छ । तर मानिसहरू हामी बगेको देखेर खेर गयो भन्छन् । के हामी साँच्चै खेर गएको हो ?'

जलवायु परिवर्तन मात्रै होइन राजनीति, प्रेम पनि 'हिउँको पृथ्वी यात्रा'मा देखाइएको छ । विपदमा परेका जनतामाथि गरिने राजनीतिलाई देखाइएको छ । नाटकमा मानव जीवनलाई मात्रै देखाइएको छैन । अन्य जीवका जीवनलाई पनि समेटिएको छ । डल्फिनका भोगाइलाई देखाइएको छ । यसरी थुप्रै कथाहरू समेट्न खोज्दा, नदीको यात्रा अप्रष्ट देखिन्छ । मञ्चमा कुसुमको परिवारलाई हेर्नेहरूले नदीको यात्रा कहाँ पुग्यो, त्यो बिर्सिसक्छन् । तर, नदी र जीव जन्तुको जीवन भोगाइलाई मञ्चमा प्रस्तुत गर्ने चुनौतिबीच नाटकले उठाइएको विषय गम्भीर छ । मिठा संगीत, सुन्दर प्रप्स, मौलिक संवाद र कलाकारहरूको अभिनयले जटिल विषयलाई सरल ढंगमा प्रस्तुत गरिएको छ ।

नाटकमा प्रयोग गरिएको संगीत निकै सशक्त लाग्छन् । धेरै दृश्यमा गीतहरूले कथावाचन गरिदिएको छ । स्मारिका फुयाँल र अनुप तिमिल्सिनाको आवाजले दर्शकलाई कथासँग जोडेर राख्न भूमिका खेलेको छ ।

त्यस्तै हिमाल, हात्ती, डुंगालगायत मिहिन प्रप्सहरू जुन मञ्चमा देखिन्छन्, त्यसले पनि कथामा बल प्रयोग गरिदिन्छ । कुसुमले प्रेमीलाई सरोजलाई भेटेको एउटा दृश्य निकै आकर्षक र कलात्मक लाग्छ । टर्चको सहयोगमा जसरी जुनकिरि समातिएको देखाइएको छ, उक्त दृश्य नाटकको शसक्तमध्येको एउटा हो ।

प्रप्समा मिहेनत देखिन्छ । कलाकारहरूको अभिनयले जीव जन्तुका भोगाइलाई विश्वासयोग्य बनाइदिएको छ । हजुरआमाको चरित्रलाई पवित्रा खड्काले मञ्चमा आफ्नो अभिनयमार्फत् जीवन्त प्रस्तुत गरिदिएकी छन् । हजुरआमा बाहेकका अन्य चरित्रलाई पनि उनले जसरी प्रस्तुत गरिदिएकी छन् ।

त्यसले उनको अभिनय कौशलता प्रष्ट्याउँछ । संगीता उराँवले पनि आफ्नो चरित्रलाई न्याय दिने अभिनय गरेकी छन् । नाटकमा पवित्रा र संगीतासँगै झकेन्द्र विसी, ज्योति पोखरेल, रविन परियार, गोविन्द्र ओली, हिमाल भुजेल, शुशीला लोहार र ज्याक बरालको अभिनय छ । शिल्पी थिएटरमा मञ्चनरत यो नाटक यसअघि कालेबुङ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा देखाइएको थियो भने उपत्यकाबाहिर १२ पटक मञ्चन भइसकेको छ ।

प्रकाशित : श्रावण ३, २०७९ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्

कोदोको रक्सी प्रवर्द्धन गर्न कार्यक्रम

रमेशचन्द्र अधिकारी

धनकुटा — सबैको हातमा मदिरा (कोदोको रक्सी) को गिलास थियो । पिउने क्रमसँगै कार्यक्रमको औपचारिक सुरुवात गरियो । सन्दर्भ थियो, परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति गठन गर्ने । मंगलबार दिउँसो धनकुटा नगरपालिका–७ बसपार्कस्थित सैनिक भवनमा आयोजित कार्यक्रमको दृश्य हो यो । सुरुमा मञ्चमा आसिन अतिथिलाई मदिरा बाँडियो ।

धनकुटामा मंगलबार आयोजित घरेलु मदिरा प्रवर्द्धन कार्यक्रममा मदिरा पिउँदै सहभागी । तस्बिर : रमेशचन्द्र अधिकारी/कान्तिपुर

त्यसपछि सहभागीलाई बाँडिए पछि सबैले एकै स्वरमा चियर्स भन्दै पिए । उपस्थित कतिपयले सुरुमा पानी वितरण गरेको ठाने पनि प्लास्टिकको ठूलो बोतलबाट गिलासमा राखेर मदिरा बाँडिएको थियो । कोदोको रक्सी प्रवर्द्धन समिति प्रदेश १ ले आयोजना गरेको कार्यक्रममा अधिकांश महिला सहभागी थिए ।

परम्परागत पेय पदार्थ ब्रान्डिङ गर्न अभिप्रेरित गर्न अभियान थालिएको घरेलु रक्सी प्रवर्द्धन समिति प्रदेश १ का अध्यक्ष टेकबहादुर खजुमले बताए । जमिन बाँझिन थालेकोले कोदो बालीको उत्पादन गर्न अभियानले सघाउ पुर्‍याउने उनको विश्लेषण छ । ‘झट्ट रक्सीको नाम सुन्दा मनोवैज्ञानिक रूपमा त्रास उब्जिने गरे पनि अब घरेलु रक्सीको ब्राडिङ गर्न जरुरी छ,’ खजुमले भने, ‘पुराना कानुन परिमार्जन तथा समयसापेक्ष ऐन कानुनमार्फत यसको उत्पादन गरी विदेश निर्यात गर्ने वातावरण बनाउन सके राजस्व वृद्धि गर्न सकिन्छ ।’ उनले घरेलु मदिरालाई ब्यान्ड (प्रतिबन्ध) होइन, ब्रान्ड बनाएर विदेश निर्याततर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

घरेलु मदिरा प्रवर्द्धन अभियन्ता सरु सिंगकले अवधारणा पत्र प्रस्तुत गरिन् । उनले जनजातिहरूले पुख्र्यौली रूपमा विकास गरेको मदिरा बनाउने प्रविधि कला अझै पनि सुरक्षित रहेको भन्दै संरक्षणमा जोड दिइन् । उत्पादित मदिराको स्तरीकरण र ब्रान्डिङ गरी व्यवस्थित बजारीकरणतर्फ सरकारको चासो जानुपर्नेमा उनल जोड दिइन् । प्रदेशका सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिराको ब्रान्डिङ गरी विदेश निर्यात गर्ने भने पनि अझै त्यसले मूर्तरूप नपाएकाले आफूहरू अभियानमा जुटेको बताइन् ।

प्रचलित मदिरा ऐन २०३१ तथा मदिरासम्बन्धी नियमावली २०३३ लगायत विभिन्न निर्देशनहरूले घरेलु मदिरालाई प्रतिबन्धित वस्तुको रूपमा उल्लेख गरेको छ । त्यस्ता कानुन संशोधन तथा समयानुकूल परिमार्जन गर्न बाँकि रहे पनि घरेलु मदिरा उत्पादन गर्न अभियान थालिएका छन् । कानुन संशोधन नहुन्जेल विद्यमान कानुनले घरेलु मदिरा उत्पादनमा समस्या हुनसक्ने अवधारणापत्रमा उल्लेख छ ।

बन्देज फुकुवा गर्न कानुन संशोधन गरेर घरेलु मदिराको उत्पादन, गुणस्तरसँगै वैज्ञानिक परिक्षण गरी मानव स्वास्थ्यका विषयमा अध्ययन अनुसन्धान जरुरी रहेको अभियन्ता सिंगकले बताइन् । उक्त कार्यक्रममा जनप्रतिनिधि, आदिवासी जनजाति महासंघ, पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथिका रूपमा सहभागी थिए ।

प्रकाशित : श्रावण ३, २०७९ २१:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×