कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सर्वनाममा ‘सपना अनेक-अनेक’

काठमाडौँ — साढे चार दशकभन्दा लामो नाट्य क्षेत्रको अनुभवसँगै रंगकर्मी अशेष मल्लले थुप्रै नाटकका अनगिन्ती कथा, पात्र, तिनका अभिव्यक्ति र प्रतिबिम्बलाई रंमगञ्चमा प्रस्तुत गरिसकेका छन् ।

सर्वनाममा ‘सपना अनेक-अनेक’

कोरोना महामारीले लामो समयको विश्रामपछि यतिखेर मल्ल एउटा खण्डकाव्यलाई नाटकका रुपमा मञ्चन गर्ने तयारीमा छन् । कवि गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’ मा आधारित रहेर मल्लको निर्देशन तथा परिकल्पनामा गीति नाटक ‘सपना अनेक–अनेक’ बिहीबारदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुँदैछ । मल्लका अनुसार चार दशक लामो इतिहास बोकेको सर्वनामले पहिलोपटक गीति नाटक प्रस्तुत गर्दैछ ।

मल्लले अहिले आफ्नो पहिलो नाटक ‘तुवाँलोले ढाकेको बस्ती’कै जस्तो अनुभव गरिरहेका छन् । अन्य नाटक र गीति नाटकमा कलात्मक भाव प्रस्तुतिमा केही फरक रहेको उनले बताए । ‘हुन त मलाई सबै नाटकहरू पहिलोपल्ट गरेको जस्तै अनुभूति हुन्छ’, उनले भने,‘गीति नाटकमा लेखकको भाव, कथालाई कलात्मक बनाएर प्रस्तुत गर्दा झन डर हुँदो रहेछ ।’

उनी नाटकमा प्रयोग गरेको बिम्बले लेखकको कथालाई सम्प्रेसण गर्न नसक्नु नै परिकल्पनाकारको असफलताका रुपमा लिन्छन् । कुनै संवादबिना गीत र संगीतसँगै कलाकारले शरीरको अभिव्यक्तिले मात्र गीति नाटकको समग्र भावलाई केन्द्रमा राखेर प्रस्तुत गर्नुपर्ने भएकोले चुनौती नै रहेको मल्ल बताउँछन् ।

नाटकले ‘आमा’ शब्दलाई केन्द्रमा राखेर सिंगो मुलुक र महिला पात्रलाई उठान गरेको छ । जहाँ विदेशिन बाध्य युवापुस्ता, तिनिहरूले राख्ने देशप्रेम, युवाहरू विदेश पलायन भएपछि मुलुक, समाज, परिवारको अवस्था, आफ्नो सन्तानलाई बाबुको परिचय दिन नपाई मृत्यु अंगालेका कुमारी आमाहरूको कथा नाटकमा छन् । यी कथाका भावहरूलाई दर्शकले संगीतको धुन, गीतको लय र कलाकारको शारीरिक अभिव्यक्ति तथा बिम्बात्मक रुपमा प्रयुक्त प्रप्सले महसुस गर्न सक्ने मल्लको भनाइ छ ।

नाटकमा समग्र कथालाई बुझाउन संगीतकार राजु सिंहले संगीतको धुन भरेका छन् भने बानिका प्रधान र सत्यराज आचार्यले स्वर दिएका छन् । मुलुकको समकालीन समय र परिवेशलाई सांस्कृतिक तथा लोक परम्परामा ढाल्न कोरियोग्राफर प्रमिला कार्की उप्रेतीले कलाकारहरूको शारीरिक चाललाई घाँटु, चरिया, भरतनृत्य, नेपाली लोकनृत्यको ताल संयोजन गरेकी छन् ।

निर्देशक मल्लका लागि मात्र नभएर लामो समयदेखि संगीत, गायन तथा नृत्य क्षेत्रमा पोख्त संगीतकार सिंह, गायिका प्रधान, आचार्य र कोरियोग्राफर उप्रेतीलाई नाटकले नौलो अनुभूति दिलाएको छ । संगीत, गायन तथा नृत्य जस्ता आ–आफ्नो विधालाई निकै नजिकसँग नियाले पनि नाटकको कथा, पात्र र तिनको भाव अनुसारको सिर्जनाले बेग्लै अनुभूति दिलाएको सबै सर्जकहरूको अनुभव छ ।

संगीतमा तीन दशकभन्दा लामो समयको अनुभव बटुलेका संगीतकार सिंहका अनुसार नाटकका लागि धुन सिर्जना गर्नु नौलो रह्यो । ‘नाटकमा एउटा कथा र पात्रमा बाँधिएर धुन बनाउँदा साह्रै कठिन हुँदोरहेछ । जुन कुरा मैले पहिलोचोटि अनुभव गरें,’ कथा र पात्रमा सीमित भएर धुन सिर्जना गर्दा स्वयं सर्जकले कसरी भाव महसुस गर्नुपर्छ भन्ने कुरा नाटकबाट सिक्न पाएको सिंहले बताए ।

लामो समयदेखि अमेरिकामा बस्दै आएकी कवि खत्री नाटकका लागि निकै उत्साहित छिन् । हाल नेपालमै रहेकी उनले नाटकले नेपाल र नेपाली युवाको अहिलेको समग्र कथालाई उठान गर्ने भएकाले आफ्नो जीवनकै एउटा सपना पूरा भएको सुनाइन् । उनले भनिन्, ‘लामो समयदेखि गीति नाटक बनाउने ठूलो सपना थियो । अहिले त्यो पूरा हुँदै छ । मैले मेरो सिर्जनामा देश र एउटी महिलालाई ‘आमा’को प्रतीकका रुपमा चिनाएकी छु ।’

साउन ५ गतेदेखि २१ गतेसम्म मञ्चन हुने नाटकमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा मगर, मिलन शाक्य, निरीक्षा घतानी, शुंँ–गूको अभिनय रहेको छ ।


प्रकाशित : श्रावण ३, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?