जार : महिला विद्रोहको कथा- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जार : महिला विद्रोहको कथा

एकल महिलाका लागि समाज अनुदार भएको समयको कथा नाट्य रुपान्तरणपछि फिल्ममा 
पर्वत पोर्तेल

सिलिगुडी — युवावस्थामै जोडी छुटेकालाई समाज के भन्छ ? उत्तर सजिलो छ– ‘उमेर काट्न गाह्रो छ, चल्दोमिल्दो हेरेर जोडी बाँध्नुपर्छ । विगत सम्झेर भविष्य चल्दैन ।’ समाज यति उदार हुन थालेको धेरै वर्ष भएको छैन । जीवनसाथीको असामयिक अवसानपछि एक्लै कष्टकर जीवन बाँच्न बाध्य पार्ने समाज कस्तो थियो ? पुरुष भन्दा महिलाका लागि निकै असहज थियो । त्यही परिवेश बुझाउँछ फिल्म ‘जार : भएकै एउटा कथा ।’ 

राणाकालीन नेपाली समाजको कथा दार्जिलिङका इन्द्रबहादुर राईले वर्षौंअघि लेखेका हुन् । जसलाई धेरैअघि खगेन्द्र लामिछानेले नाट्य रूपान्तर गरेका थिए, नाटक निर्देशन गरेका थिए सुनील पोखरेलले । दार्जिलिङका फिल्मकर्मी फुर्वा लामाले उक्त कथालाई फिल्मी रूपान्तरण गरेका छन् । फिल्म प्रदर्शनको तयारीमा छ । ‘छिटै रिलिज हुनेछ,’ लामाले भने, ‘हामी फेस्टिभल मोडेलमा रिलिज गर्ने योजनामा छौं ।’

यो फिल्ममा त्यो कथा छ, जुन समयमा श्रीमान् छाडेर दोस्रो बिहे गर्ने साहस महिलाहरूमा विरलै हुन्थ्यो । ‘जीवनका दुविधा र दुःखभन्दा पनि प्रेम मुख्य कुरा भएकाले प्रेमको जित निश्चित हुन्छ भन्ने भाव कथाले बाकेको छ,’ निर्देशक लामा भन्छन्, ‘दोस्रो बिहे गर्ने विद्रोही महिलाको कथा पनि यसले भन्छ ।’

खासमा लामा र उनको टिमले सन् २०२० बाटै फिल्म निर्माण थाल्ने निधो गरेको थियो । तर, कोभिड महामारी अचानक आइलागेपछि योजना बिथोलियो । ‘प्रि–प्रोडक्सन स्टेजमा थियौं, स्क्रिप्ट फाइनल भइसकेको थियो । अरू पनि धेरै काम सकिँदै गएको थियो,’ लामाले अनुभव साटे, ‘कोभिडले त चौपटै पारिहाल्यो नि ।’

महामारी नआएको भए अहिले फिल्म रिलिज भइसक्ने थियो । त्यति मात्रै हैन, पर्यटकीय गन्तव्य घान्द्रुकमा फिल्म छायांकन हुने थियो । आवागमन असहज भयो । अन्ततः सिक्किमको एक गाउँलाई घान्द्रुक मानेर छायांकन भयो ।

फिल्म निर्माणको योजनामा कोभिडपछि धेरै परिवर्तन भयो । सबैभन्दा बढी असर बजेटमा पर्‍यो । करिब ८५ लाख भारु लगानी फिर्ता भयो । ‘लगानीकर्ताले बीचैमा हात झिकिदिए,’ लामाले भने, ‘जसको आड भरोसामा काम गरेका थियौं उनैले हात झिकेपछि चौपट त हुने नै भयो ।’ बनारसकी अनिता देले काँध थापेपछि चाहिँ बल्ल फिल्म निर्माण सुरु भयो ।

सुरुमा असली बाघलाई देखाउन कजाकिस्तानतिर गएर खिच्ने योजना थियो । ‘अन्तिममा लाइभ एनिमल नगर्ने भइयो । कम्प्युटर ग्राफिक्समा करिब आधा करोड खर्च लाग्यो,’ उनले भने । फिल्मको ९० प्रतिशत काम सकिएको छ । ‘सोचेभन्दा ढिलो भयो, तर यो समयमा रिवर्क पनि गर्दै छौं,’ लामाले थपे, ‘ढिलो भएकोमा दुःख छैन, राम्रैका लागि भएको छ, गल्ती कमजोरी सुधार्दै छौं । अब करिब २/३ महिनामा फाइनल हुन्छ ।’

लामाले बलिउड र हलिउडमा फिल्मी अनुभव बटुलिसकेकी सिक्किमकी गीताञ्जली थापालाई फिल्ममा डेब्यु गराएका छन् । सौगात मल्ल र अनुपविक्रम शाही पनि छन् मुख्य पात्रमा । लामाको ठूलो पर्दाको यो डेब्यु फिल्म हो । यसअघि उनीसँग ‘एक ढाकर जीवन’, ‘माछाको मोल’, ‘गोर्खे जिप’ र ‘भाले जुदाई’ आदि फिल्म निर्माण गरेको अनुभव थियो । फिचर फिल्मको अनुभवचाहिँ पहिलो हो । गीताञ्जलीसँग उनको पुरानै चिनापर्ची थियो । केही वर्षअघि पनि उनले गीताञ्जलीलाई एक फिल्मको स्क्रिप्ट पठाएका थिए । उनले मन पराएकी पनि थिइन् । तर, फिल्मचाहिँ बन्न पाएन । जार गर्ने भएपछि दिमागमा गीताञ्जलीकै अनुहार नाच्यो । ‘स्क्रिप्ट पठाएँ, उनले ओके गरिन,’ लामाले भने, ‘नेदरल्यान्डबाट आएर फिल्ममा काम गरिन् ।’

करिब १५ वर्षदेखि फिल्म निर्माणमा संलग्न लामाको व्यावसायिक मसला फिल्मभन्दा पनि विषय प्रधानप्रति बढी रुचि छ । विगतमा दार्जिलिङमा प्रताप सुब्बा, तुलसी घिमिरेहरूको दबदबा थियो । अहिले सेङपेन खिमसर, फुर्वा लामाहरू नयाँ सोच र योजनाका साथ उदाएका छन् । अमेरिकामा बस्दै आएका खरसाङका सेङपेन खिमसरले गोर्खाल्यान्ड आन्दोलनसँग सम्बन्धित ‘ब्रोकेन विङ्स’ फिल्म निर्देशन गरेका छन् । तर, राजनीतिक कथाको यो फिल्म विवादास्पद बनेको छ ।

प्रकाशित : श्रावण १, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

फस्टाउँदै सुपारी खेती

विप्लव भट्टराईं

इलाम — मेची राजमार्गको किटेनी खण्डबाट करिब ५ किलोमिटर पश्चिम छिरेपछि हराभरा कालीटार पुगिन्छ । अन्य क्षेत्रबाट खासै नदेखिने रोङ गाउँपालिका–४ को कालीटार क्षेत्रलाई हराभरा बनाउने मुख्य खेती हो सुपारी ।


आसपासको बाक्लो सखुवाघारी छिचोलेर कालीटार पुग्दा आँखाले भ्याएसम्मको क्षेत्र सुपारी बगानले भरिएको छ । बगानभित्रकै घरमा भेटिएकी विष्णुमाया तामाङ सिंगो गाउँ नै सुपारीको उत्पादनले धानेको बताउँछिन् ।

रोङ–२ बदामटारका सन्तबहादुर तामाङको मुख्य आम्दानीको स्रोत सुपारी हो । एक पटक रोपेपछि सामान्य गोडमेल मात्र गर्नुपर्ने र बजारको पनि चिन्ता नभएकाले उनले सुपारी खेती गरेका छन् । वार्षिक ५ लाख रुपैयाँसम्मको सुपारी बिक्री गर्ने उनी झापाको सुपारी खेती देखेर प्रभावित भएका थिए । झापा सीमावर्ती क्षेत्रमा सुपारीबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्ने उल्लेख्य छन् । अहिले घरघरै सुपारी रोपेर आम्दानी लिने क्रम बढेको छ । रोङ–२ बरफल्याङका रघुनाथ ढुंगेलको आर्थिक भरोसा पनि सुपारी नै रहेको छ । बोट हुर्किएपछि कम मिहिनेत र लगानीमा निरन्तर आम्दानी हुने भएकै कारण उनको रोजाइमा पनि सुपारी खेती परेको हो ।

इलामको रोड, चुलाचुली, र माङसेवुङ गाउँपालिकाको तल्लो क्षेत्र तथा माई नगरपालिकाका किसानले सुपारी खेती विस्तार गरी आम्दानी बढाएका छन् । समतल टारवारी र पाखा भित्तामा पनि सुपारी बगान विस्तार हुने क्रममा छ । सम्बन्धित पालिकाले खेती प्रवर्द्धनका लागि बिरुवासमेत सहुलियतमा दिन थालेपछि कृषकको उत्साह थप बढेको हो । बहुवर्षे बालीका रूपमा सुपारी खेती गरेर एकै बोटबाट ५० केजीसम्म उत्पादन गर्न सकिने किसानको अनुभव छ । सुपारी खेतीले तरकारी र अन्य बालीलाई क्षति नपुर्‍याउने र छहारीको काम गर्ने भएपछि पनि गतिलो आम्दानीको स्रोतका रूपमा सुपारी खेतीमा कृषकको रुचि बढेको हो ।

सुपारी बिक्रीका लागि बजार चाहर्नुपर्ने झन्झट छैन । झापाबाट व्यापारीहरू बगानमा नै आइपुग्छन् । ‘सुपारीको आन्तरिक बजार नै पर्याप्त छ,’ व्यवसायी रामप्यारा गुप्ताले भने । बोटबाटै काँचो सुपारी बिक्री हुने भएकाले यसको प्रशोधन गरेर थप मूल्य लिन सकिने सम्भावना प्रशस्तै छ । तर कृषकले प्रशोधन उद्योग भने खोल्न सकेका छैनन् । सुपारीको खपटाबाट टपारा निर्माण हुन्छ । झापामा खोलिएका यस्ता उद्योगमा उत्पादित टपराको माग बढ्दो छ । सुपारीको बगान बर्सेनि बढ्दै गएकाले रोङ गाउँपालिकाले खपटा बनाउने उद्योग सञ्चालनको तयारी गरेको अध्यक्ष मणिकुमार (सुवास) श्याङवोले बताए । वैदेशिक रोजगारप्रतिको आकर्षणलगायत कारणले हरेक क्षेत्रमा श्रमिक पाउन समस्या छ । धान मकैलगायत खेतीमा श्रमिक धेरै लाग्ने र खर्चिलो पनि बन्दै गएको अवस्थामा जिल्लाको दक्षिणी क्षेत्रका कृषकले विकल्पका रूपमा सुपारीलाई लिएका हुन् ।

प्रकाशित : श्रावण १, २०७९ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×