साहित्यकार रमेश रञ्जनसहित पाँच स्रष्टा पुरष्कृत- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहित्यकार रमेश रञ्जनसहित पाँच स्रष्टा पुरष्कृत

श्यामसुन्दर शशि

जनकपुर — मैथिली साहित्यकार, अभिनेता तथा निर्देशक रमेश रञ्जन झासहित पाँच स्रष्टालाई एक समारोहबीच शुक्रबार पुरष्कृत गरिएको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उनीहरूलाई नगद, प्रशस्तीपत्र तथा दोसल्ला ओढाई पुरष्कृत गरेका हुन् ।

नेपाल सरकारद्वारा स्थापित विद्यापति पुरष्कार कोष, प्रत्येक वर्ष पाँच विधाका स्रष्टाहरुलाई पुरष्कृत गर्दै आएको हो । रमेश रञ्जन झालाई २ लाख राशिको नेपाल विद्यापति भाषा–साहित्य पुरष्कार, गीतकार अशोक दत्त र मिथिला चित्रकलाको क्षेत्रमा उल्लेखनीय योगदान दिने निर्मला झालाई संयुक्त रुपमा नेपाल विद्यापति कला–संस्कृति पुरष्कार, डा. सूर्यप्रसाद यादवलाई नेपाल विद्यापति अनुसन्धान पुरष्कार तथा अर्जुनप्रसाद गुप्तालाई नेपाल विद्यापति पाण्डुलिपि पुरष्कार प्रदान गरिएको थियो ।

भाषा–साहित्य वाहेका पुरष्कारको राशि एक लाख छ । कला संस्कृति पुरष्कार दुई जनालाई संयुक्त रुपमा दिइएकोले उनीहरूलाई ५०/५०हजारको चेक प्रदान गरिएको थियो ।

कोषको नियमावली अनुसार अनुवाद विधामासमेत एक जना स्रष्टालाई पुरष्कृत गर्नु पर्ने हो तर यस वर्ष अनुसंधान विधामा एउटै पनि निवेदन नपरेकोले पुरष्कार वितरण नगरिएको कोषका सदस्य सचिव रुद्रनारायण झाले जानकारी दिए ।

२०६८ देखि संचालित विद्यापति पुरष्कार कोषले यसअघि डा. राजेन्द्रप्रसाद विमल, रामभरोस कापडि, डा. रेवतीरमण लाल, रमानन्द युवा क्लव, मिथिला नाट्यकला परिषद्, साहित्यकार रोशन जनकपुरी, चन्द्रशेखर उपाध्याय तथा मैथिली साहित्य परिषद् राजविराजलाई २लाख राशिको नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरष्कार प्रदान गरिसकेको छ । यसैगरी डा.रामावतार यादव, डा.योगेन्द्रप्रसाद यादव र डा. सुनिल कुमार झालगायतलाई अनुसन्धान पुरष्कार प्रदान गरेको छ ।

पुरष्कार अर्पण समारोहलाई सम्बोधन गर्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मिथिला संस्कृति र मैथिली भाषा नेपालकै सर्वाधिक पुराना संस्कृतिमध्येको एक भएको बताए । मैथिलीका महाकवि विद्यापतिको नाममा स्थापित पुरष्कार कोष मार्फत स्रष्टाहरुलाई पुरष्कृत गर्न पाउदा आफू खुसी भएको उनको प्रतिक्रिया थियो ।

राष्ट्रिय एकतालाई सुदृढ पार्न भाषा, साहित्यको योगदान महत्त्वपूर्ण हुने गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले मुलुकभरिका सबै भाषा र संस्कृतिको विकासका लागि नेपाल सरकार भाषिक नीति ल्याउने तयारीमा रहेको बताए ।

मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघ्न महतोले मधेस सरकार मैथिली, भोजपुरीसहितका मधेसमा बोलिने भाषाहरूको विकासको लागि भाषा अकादमी गठन गर्ने तयारीमा रहेको जानकारी दिए । उनले भने, 'मधेस सरकारले निती तथा कार्यक्रममै मैथिली र भोजपुरी अकादमी गठनको लागि एक/एक करोड रकम छुट्याइसकेको छ ।'

पुरष्कृत स्रष्टा रमेश रञ्जन झाले नेपालमा दोश्रो सर्वाधिक बोल्ने मैथिली भाषाको एकेडमी गठन गर्नु पर्ने माग गरे । उनले भने, 'मैथिली मुलुकमा दोश्रो सबभन्दा बढी व्यक्तिद्वारा बोलिने भाषा हो । यसको विकासको लागि राष्ट्रिय स्तरमा मैथिली अकादमी गठन गर्नु पर्दछ ।’

कोषका अध्यक्ष प्रा. रामचन्द्र यादवको अध्यक्षतामा सम्पन्न पुरष्कार अर्पण समारोहमा मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मिथिला नाट्यकला परिषदका पूर्वअध्यक्ष सुनिल मल्लिकलगायतको सहभागिता थियो ।

प्रकाशित : असार ३१, २०७९ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्

इन्धनमा करबापत समायोजन गरिएको रकम निगमलाई दिने सरकारको निर्णय 

कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा करबापत गरिएको समायोजन रकम प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि कर कटौती गरेर उपभोक्तालाई दिएको राहत बराबरको रकम निगमलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत दिने निर्णय गरेको हो ।

यसअघि असार ११ गते सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ कर घटाउने निर्णय गरेलगत्तै निगमले उपभाेक्ताका लागि साे बराबरको मूल्य घटाएको थियो । त्यसअघि पनि ती पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर समायोजन गरिएको थियो ।

कर समायोजनबापतकाे मूल्य उपभाेक्ताका लागि घटाए पनि निगमले सरकारलाई भने पुरानै दरको कर तिर्दै आएको छ । यसले गर्दा भारतीय आयल कर्पोरेसनलाई बुझाउनुपर्ने बक्यौता रकम निगमलाई बढ्दै गएको थियो । करबापतको रकम निगमलाई प्रदान गर्ने आजको मन्त्रिपरिषद् बैठकको निर्णले निगमलाई राहत मिल्नेछ ।

प्रकाशित : असार ३१, २०७९ १३:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×