१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

क्यारिकेचर प्रदर्शनीमा मेयर बालेन्द्र र हर्क पनि

सुशीला तामा‌ङ

काठमाडौँ — नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा नेपालका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको मुहार झल्कने ‘नेपाली क्यारिकेचर प्रदर्शनी २०७९’ सुरु भएको छ । आइतबार प्रतिष्ठान र नेपाल कार्टुनिस्ट क्लबले संयुक्त रुपमा गरिएको प्रदर्शनीमा ४३ जना कलाकारहरुद्वारा तयार गरिएको साढे तीन दर्जनभन्दा बढी व्यक्तित्व झल्कने क्यारिकेचरहरु प्रर्दशन गरिएका छन् ।

क्यारिकेचर प्रदर्शनीमा मेयर बालेन्द्र र हर्क पनि

प्रदर्शनीमा नेपालमा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरुको क्यारिकेचर अवलोकन गर्न सकिन्छ । शताब्दी पुरुष सत्यमोहन जोशीदेखि अहिले स्वतन्त्रतर्फबाट काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयर बालेन्द्र साह तथा हर्क साम्पाङसम्मको क्यारिकेचर प्रदर्शनीमा छन् ।


प्रदर्शनीमा लेखक एवं पत्रकार किशोर नेपाल, ऋषि धमला, कलाकारहरु नीर शाह, सुनिल थापा, नारायण गोपाल, हरिवंश आचार्य, भुवन केसी, केदार घिमिरे, विपिन कार्की, रंगकर्मी सुनिल पोखरेल, गायक अमृत गुरुङ, चित्रकारहरु किरण मानन्धर, केके कर्माचार्य, सुषमा राजभण्डारी लगायतका हुबहु मुहारलाई अतिरञ्जना गरिएका छन् ।

कुनै पनि व्यक्तिको मुहारलाई व्यंग्यात्मक रुपमा चित्रण गर्नुलाई क्यारिकेचरको रुपमा लिइन्छ । यस विधामा कुनै व्यक्तिको मुहारको भाव आउने गरी कुनै रंग, रेखा वा डिजिटर माध्यममा अतिरञ्जना गरिन्छ । झट्ट हेर्दा कार्टुन चित्र जस्तै देखिए पनि यसलाई कार्टुन विधामा समेट्न नसकिने कार्टुनिस्ट केशवराज खनालको धारणा छ । ‘कार्टुनले कुनै पनि विषय वा घटनाको बारेमा कुनै सन्देश बोकेको हुन्छ’, उनले भने,‘क्यारिकेचरमा हास्यव्यंग्य झल्कने गरी व्यक्तिको मुहार चित्र बनाइन्छ ।’ यसमा हास्यरससँगै व्यक्तिको व्यक्तित्व समेत हुबहु झल्काउने पर्ने भएकोले मुहार चित्र भन्दा अझ कठिन रहेको उनको अनुभव छ ।


कार्टुनमा कुनै घटनालाई तिखो व्यंग्य प्रहार हुने गरी सम्बन्धित क्षेत्रलाई समेत सचेत बनाउन चित्र बनाइन्छ भने क्यारिकेचरमा ख्यातिप्राप्त व्यक्तित्वहरुलाई चिनाउन सम्बन्धित व्यक्तिको मुहार चित्रमा अतिरञ्जना गरिन्छ । नेपालमा तुलनात्मक रुपमा कला क्षेत्रमा महिला सहभागिता निकै देखिएपनि कार्टुन तथा क्यारिकेचर विधामा न्यून संख्यामा देखिएको कार्टनिस्ट अविन श्रेष्ठले बताए । प्रदर्शनीमा भने नयाँ पुस्ताका महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ । प्रतिष्ठान र क्लबले गत पुस महिनामा तीन दिने क्यारिकेचर विधामा महिला कलाकारकालाई अभिप्रेरित गर्ने लक्ष्य राखेर क्यारिकेचर कार्यशाला नै सञ्चालन गरेको थियो । प्रदर्शनीमा २१ जना महिला सहभागी भएका थिए । ती मध्येबाट पनि केहीलाई छनोट गरी प्रदर्शनीमा समावेश गरिएका छन् ।


कार्टुन तथा क्यारिकेचर विधामा पुरानो पुस्तामा महिला सहभागिता नदेखिएपनि अहिले नयाँ पुस्तामा निकै अग्रसरता बढको प्रतिष्ठानका चित्रकला विभाग प्रमुख शुषमा राजभण्डारीले बताइन् । आगामी दिनमा महिला कलाकारहरुको समेत सहभागिता बढाउन प्रदर्शनीले उत्प्रेरणा दिने उनको विश्वास छ । प्रतिष्ठान र क्लबले २०७४ सालदेखि नै नियमित रुपमा क्यारिकेचर प्रदर्शनी गर्दै आइरहेको छ ।


प्रदर्शनी मंगलबारसम्म जारी रहनेछ ।

प्रकाशित : असार २७, २०७९ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?