कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुरु भयो बहुभाषिक नाट्य उत्सव

काठमाडौँ — विभिन्न जातिजातिका भाषा तथा संस्कृतिलाई एकै ठाउँमा ल्याई तीनको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्य राखेको बहुभाषिक नाट्य उत्सव सुरु भएको छ ।

सुरु भयो बहुभाषिक नाट्य उत्सव

थापागाउँस्थित कुञ्च थिएटर आरोहण गुरुकुलमा आइतबार लाप्चा उत्थान मञ्च इलामको प्रस्तुतिमा लाप्चा भाषाको नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चनसँगै नाट्य उत्सव शुभारम्भ गरिएको हो ।

नाटकमा लाप्चा जातिको इतिहास, सभ्यता, संस्कृति, परम्परा तथा यस जातिको घट्दो जनसंख्या सम्बन्धी कथालाई समेटिएको छ । नाट्य उत्सवमा सहभागी प्राध्यापक अभि सुवेदीले नेपाललाई आदिवासी जनजाति र तिनको भाषा, संस्कृतिको बहुलता भएको धनी देशका रुपमा औंल्याए । उत्सवले ती सम्पूर्ण भाषा तथा संस्कृतिलाई खोतल्न सघाउ पुग्ने उनले सुनाए । नेपालमा बहुल भाषाभाषी भएपनि तिनले स्थान नपाइरहको अवस्थामा नाट्य उत्सवले महत्त्वपूर्ण अवसर दिएको संस्कृतिविद् तथा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङले बताए ।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र स्कुल अफ थिएटरले संयुक्त रुपमा गरेको उत्सवमा देशभरीका विविध भाषा र संस्कृतिलाई समेटेर तयार गरिएका विभिन्न भाषा–भाषीका ७ वटा नाटकहरु १८ गतेसम्म मञ्चन हुनेछन् ।

सोमबार पुरानो घर समूह रौतहटको थारु भाषाको ‘कनन हरलता’, मंगलबार बाम्बुले राई समाज ओखलढुङ्गाबाट राई भाषाको ‘सुम्निमा’, बुधबार आरोहणबाट नै चाम्लिङ, नेपाली भाषाको ‘सेमुना’, बिहीबार सुम्निमा थिएटर ललितपुरबाट पुमा भाषाको ‘होङ्छा’, शुक्रबार चुलाचुली रंगमञ्च इलामबाट लिम्बु भाषाको ‘सुविउ चरी’ र शनिबार कर्णाली खस संस्कृति संरक्षण केन्द्र जुम्लाबाट अवधि भाषाको ‘कुटिरो’ नाटकहरु मञ्चन हुनेछन् ।

नाट्य उत्सवका लागि डेढ दर्जनभदा बढी नाटकहरु प्राप्त भएपनि भाषा र भौगोलिक महत्त्वअनुसार ७ वटा नाटकहरु छनोट गरिएको थियो ।

प्रकाशित : असार १३, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?