२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कलामा मौलिकता र अध्यात्मको खोजी

सुशीला तामा‌ङ

काठमाडौँ — आधुनिकता र बढ्दो आवादीसँगै सहरले मौलिक पक्षलाई गुमाउँदैछ । उपत्यकाका मन्दिर, देवालय, पार्टी, पौवा र हिटीलाई कंक्रिट संरचनाले विस्थापित गर्दैछ । बितेका दुई/तीन दशकको अवधिमा पाटनले फेरेको मुहारको साक्षी हुन्, चित्रकार सुष्मा शाक्य । उनले बाल्यकालमा खेलेको, देखेको पाटनको परिवेशमा निकै फेरबदल आए । क्रमश: मासिँदै गएको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका संरचनाहरुलाई २०७२ सालको भूकम्पले अझ थिलथिलो बनायो ।

कलामा मौलिकता र अध्यात्मको खोजी

मौलिकतालाई ध्यान राखेर पुनर्निर्माणकै क्रममा बनेका संरचनाहरुमा समेत कतिपय मौलिक पक्षहरु मासिए । घर आवादी रहेको बस्तीमा कंक्रिटका संरचना बने । यसले चित्रकार शाक्यको मनमा बिझायो । संरचना नरहेपनि तीनको अस्तित्वको दस्तावेज कलामा भएपनि राख्नुपर्छ भन्ने हेतुले उनले प्रिन्ट कलाहरुमा उतार्न थालिन् । मौलिक तथा अध्यात्म पक्षलाई जोड दिएका शाक्यका कलाकृतिहरु यतिबेला ठमेलस्थित दलाई–ला आर्ट स्पेसमा प्रदर्शनरत छन् ।

दर्जनभन्दा बढी प्रिन्ट कलामा उनले धार्मिक र मानव अस्तित्वसँग समेत जोडिने पञ्चत्वका अवधारणालाई झल्काएकी छन् । पृथ्वी, जल, आकाश, अग्नि र वायु जस्ता पञ्चतत्वलाई ध्यानमा राखेर पुराना घरका संरचनाहरु बनाउने प्रचलन रहेपनि अहिले त्यो अवस्था नरहेको शाक्यले बताइन् । ‘पञ्चतत्वलाई मानेर बनाइएका घरहरुमा प्रयोग गरिएका सामानदेखि स्पेस र प्रभावलाई समेत ध्यानमा राखिएको हुन्छ’, उनले भनिन्,‘त्यस्तो घरमा छिर्दा समेत बेग्लै आनन्द आउँछ । त्यो आनन्द अहिलेका संरचनाहरुमा पाउन सकिँदैन ।’

पाटनकै वरपर भूकम्पपछि अधिकांश मौलिक घरहरु मासिएर नयाँ संरचनाहरु बनेको उनले सुनाइन् । उनका अनुसार उनको आफ्नै घरसमेत मौलिकभन्दा आधुनिक पक्ष नै हाबी भएको छ । ‘मौलिकता झल्काउने घरहरु बनाउने मान्छे र स्रोत साधन पाउनै कठिन छ । हामीले मौलिक घर बनाउने चाहना राख्दा पनि बनाउन सकेनौं,’ उनले दु:खेसो गरिन् । अहिले पञ्चतत्व र आध्यात्मिक दर्शनका कुरालाई बुझ्ने जमात न्यून रहेको उनको भनाई छ । फलस्वरुप अहिलेका संरचनाले ध्यात्म र मौलिक पक्षलाई ओझेल पारेको उनको ठहर छ ।

उनले चित्रमा पाटन क्षेत्रको मौलिकता झल्कने मठमन्दिर र विहार, घरका संरचना तथा परिवेशलाई चित्रण गरेकी छन् । उनले चित्रमा पाटनको पद्यसम्भव महाविहारलाई समेत उतारेकी छन् । पाटन क्षेत्रको बस्तीसँगै पृष्ठभूमिमा देखिने हिमाल र मन्दिरका संरचनाहरुलाई उनले ऐतिहासिक दस्तावेजकै रुपमा चित्रसँगै उठान गरेकी छन् । उनी भन्छिन्,‘पहिलाका पुराना घरहरुसँगै देखिने मन्दिर र हिमालहरुको दृश्यहरु अहिले अग्ला भवनहरुले छेके । हामीले र पछिका पुस्ताले हेर्ने भनेकै यही चित्र र तस्बिर मात्र बाँकी छन् ।’

मानव जीवन होस् समाज अध्यात्म र पञ्चतत्वको दर्शनबाटै अघि बढ्न सक्ने उनको तर्क छ । यसको महत्त्वलाई उनले एउटा बीउ उम्रेर विरुवा हुँदै फूल, फलसम्म फेरि अर्काे उत्पादनका लागि परिपक्क हुने प्रक्रियामा चित्रकै माध्यममा देखाएकी छन् । मानव जीवन र सृष्टिका लागि पृथ्वी, जल, आकाश, अग्नि र वायु जस्ता तत्त्वहरु अपरिहार्य छन् । तिनै पक्षलाई मानिसले बेवास्ता गरिरहेको उनको ठम्याई छ । उनले भनिन्,‘मानिस आफ्नो लागि मात्र बाँचिरहेका छन् । आफैंको लागि उसले अरुको बारेमा सोच्दैन । जसले गर्दा हाम्रा आफ्ना भन्ने कुराहरु हामीबाट टाढा हुँदैछन् ।’

मानिसले आफ्नो सुरक्षाको लागि पृथ्वीमा घर बनाइरहेका छन् । त्यही घरले अन्य प्राणी र पृथ्वीलाई कस्तो असर पारिरहेको छ भन्ने सोच मानिसमा छैन । अग्निको विकल्पका विद्युतीय माध्यमा प्रयोगमा छन् । प्रदुषित हावाबाट जोगिन मास्क प्रयोग गरिरहेका छन् । जमिनलाई आफ्नो अधिनमा ल्याउने होडबाजी छ । स्वच्छ पानीकै लागि प्रशोधित मिनरल वाटरहरु प्रयोग गर्छन् । यसले पञ्चतत्व प्रणाली, मानव र सिंगो सामाजिक जीवनलाई पारिरहेको असरबारे मानिस अनविज्ञ बन्दै छन् । अहिलेको संरचनामा पञ्चतत्व प्रणालीलाई मात्र ध्यान सकेमा मौलिक पक्षहरु जगेर्ना हुने शाक्यको मत छ ।

पछिल्लो समय सहरमा स्मार्ट सिटीको अवधारणा र बहसहरु चलेका छन् । हाम्रा मौलिक तथा स्थानिय सामग्रीहरुलाई बेवास्ता गर्दै अत्याधुनिक प्रविधि र संरचना झल्काएर स्मार्ट सिटी नबन्ने उनको धारणा छ । स्मार्ट सिटीका लागि मौलिक र आध्यात्मिक पक्षलाई जोड दिनुपर्ने उनले बताइन् ।

चित्रकला प्रदर्शनी असार १६ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : असार १०, २०७९ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?