काठमाडौंका मेयर शाहले गरे लोकबाजा संग्रहालय अवलोकन


काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले लोकबाजा संग्रहालयको अवलोकन गरेका छन् । मेयर शाहले बुधबार त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा रहेको संग्रहालयको अवलोकन गरेका हुन् । शाहले संग्रहालयमा संग्रहित लोकबाजाहरु अवलोकन गर्दै तीनको ऐतिहासिक, सांस्कृतिक तथा मौलिक लोक संस्कृतिबारे संग्रहालयका संस्थापक तथा अध्यक्ष रामप्रसाद कँडेलसँग जानकारी लिए ।



कँडेलले शाहलाई वैदिक परापूर्वकालदेखिको सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका लोकबाजाहरु देखाउँदै तिनको संकलन, संरक्षण र संवर्द्धनमा राज्यले बेवास्ता गरेको गुनासो गरे ।
२०७२ सालको भूकम्पछि पुनर्निर्माण गरी महादेव मन्दिर परिसरलाई गुठी संस्थानले काठमाडौं विश्वविद्यालयलाई संगीत विद्यालय सञ्चालनका लागि दिइने निर्णय गरेको थियो । गुठी संस्थानले गरेको निर्णयका कारण संकटमा परेको संग्रहालयबारे समेत कँडेलले शाहसँग कुराकानी गर्दै स्थानीय सरकारले संग्रहालयको संरक्षणका लागि आग्रह गरे ।
‘हामीले व्यक्तिगत तवरबाट नै २५/३० वर्ष लगाएर लोकबाजाहरु र संस्कृतिलाई खोजी गरेका छौं,’ उनले भने,‘अहिले हामी साह्रै समस्यामा परेका छौं । मेयरसाब आफैं कलाकार हुनुहुन्छ । यहाँको साथ र समर्थन पाए यसको संरक्षण होला भन्ने आशा राखेका छौं ।’
शाहले कँडेललाई आफूले गिटार, हार्मोनियम, तबलालगायत १०/१५ प्रकारका बाजा बजाउने सुनाउँदै संग्रहालयको संरक्षणबारे भने महानगरले तत्काल गर्ने कामबारे बोलेनन् । मेयर शाहले संग्रहालय संरक्षणका लागि महानगरको नीति तथा कार्यक्रमअनुसार योजनाहरु अघि सार्ने कुरा उठान गरेको कँडेलले कान्तिपुरसँग बताए ।
काठमाडौं महानगरले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने दीर्घकालीन सोचका साथ यस वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । काठमाडौं संस्कृति र सम्पदाको संरक्षण, प्रवर्द्धन गर्ने, आधुनिक सूचना र सञ्चार प्रविधिको अधिकतम प्रयोग गरी सहरलाई जीवन्त बनाउने महानगरको योजना छ ।
कला क्षेत्रका सर्जक नै महानगरको प्रतिनिधित्व गरेकाले संग्रहालय संरक्षणका लागि पहल गर्ने कँडेलको आशा छ । उनले भने,‘हामीले व्यक्तिगतरुपमा यति लामो समयसम्म संग्रहालयका लागि काम गर्यौं । व्यक्तिगतरुपमा मात्र काम गर्न साह्रै कठिन रहेछ । अब महानगर तथा राज्यलाई नै यो काम हस्तान्तरण गरेर यसको संरक्षणको जिम्मा लगाउन चाहन्छौं ।’
२०५२ मा सुरु भएर २०५४ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संग्रहालय ऐन नभएकै कारण सामाजिक संस्थाको रुपमा दर्ता गरिएको संग्रहालयमा हाल ६ सय ५५ थरिका लोकबाजा संग्रहित छन् । त्यस्तै ४० हजार घण्टा लोकबाजा, लोक गीत, नाच, लोक पर्व, जात्रा श्रव्य-दृश्य सामग्रीहरु संग्रहित छन् भने १० हजार घण्टा सामग्रीहरु डिजिटलरुपमा नै संग्रहित गरिएका छन् ।
कँडेल लगायतको समूहको प्रयासमा संकलित सामग्रीलाई व्यवस्थान र प्रदर्शन गर्ने हेतुले २०५८ सालमा भद्रकालीमा कोठा भाडामा लिएर संग्रहालयको रुप दिएका थिए । तत्कालीन मन्त्रिस्तरीय बैठकबाट अनुमोदन पाएर २०६४ सालमा भने गुठी संस्थानबीच सम्झौताअनुसार त्रिपुरेश्वर महादेव मन्दिर परिसरको सतलमा संग्रहालय सारिएको थियो ।
संग्रहालय संरक्षणकै लागि हालसम्म कँडेल झण्डै आधा दशकदेखि कानुनी लडाइँकै क्रममा छन् । गुठी संस्थान र काठमाडौं विश्वविद्यालयले संग्रहालय हटाउने दबाबकै कारण कँडेलले २०७४ सालमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो तर फैसला संग्रहालयको पक्षमा आएन ।
उच्च अदालतकको फैसला समेत संग्रहालयको पक्षमा नआएपछि सर्वोच्च नै जानुपर्ने अवस्था सिर्जना भएको कँडेलले सुनाए । परिसरमा पुनर्निर्माणपछि विश्वविद्यालयले संगीत अध्यापन सुरु गरे पनि हालको स्थान संग्रहालयका लागि उपलब्ध भएमा लोकबाजा र संस्कृतिको सुंरक्षण हुने उनको भनाइ छ ।
भूकम्पपछि संस्थानले पुनर्निर्माण गर्न नसकेपछि क्षतिग्रस्त परिसरलाई निर्माण तथा सञ्चालनका लागि काठमाडौं विश्वविद्यालयलाई दिने सहमति गरेको संस्थानका पूर्वप्रवक्ता सरोज थपलियाले बताए । नेपाल सरकारको सम्पत्तिमा संग्रहालयजस्ता कुनै पनि संस्थाले भाडामा बस्दैमा आफ्नो भनी दाबी गर्न नहुने उनको भनाइ छ ।
‘भूकम्पपछि क्षतिग्रस्त मन्दिर परिसर र सतललाई संस्थानले बनाउन सकेन । काठमाडौं विश्वविद्यालयले पुनर्निर्माण र नियमित पूजा कर्मसमेत हेर्ने सहमति भएपछि हामीले त्यस क्षेत्र संरक्षणका लागि भए पनि दिने निर्णय गरेका हौं,’ उनले भने ।
बाजा संरक्षणका लागि भूकम्पपछि पुनर्निर्माण भएका काठमाडौंभित्रका अन्य सतलहरुमा भाडा तिरेर सार्ने सल्लाह दिँदा कँडेलले अस्वीकार गरी कानुनी लडाइँतिर गएको उनले सुनाए । उनले भने, ‘हामीले छाउनी, हनुमानढोका लगायतका स्थानमा समेत संग्रहालयका थुप्रै विकल्पहरु दिएका थियौं । तर उहाँहरु त्यही ठाउँमै बस्ने अडानमा हुनुहुन्छ । त्यो सम्भव छैन ।’
यो पनि हेर्नुहोस् :