कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

अपागंता भएकाहरूका लागि प्रतिभा प्रस्फुटनको मञ्च

सुशीला तामा‌ङ

काठमाडौँ — सामान्यतया सौन्दर्य प्रतियोगिता भन्नेबित्तिकै चिटिक्क मिलेको जिउडाल, शारीरिक रूपमा सशक्त र सुन्दर युवतीहरूको चित्र आम मानिसको मानसपटलमा आउँछन् । यद्यपि महिलाको सौन्दर्य शरीरमा मात्र केन्द्रित हुनु हुँदैन ।

अपागंता भएकाहरूका लागि प्रतिभा प्रस्फुटनको मञ्च

अपागंता भएकाहरुको सुन्दरता र सौन्दर्यलाई बौद्धिक स्तरबाट नै मापन गर्दै उनीहरुलाई दया होइन अवसर दिनुपर्छ भन्ने मान्यतालाई अघि सार्दै अपागंता भएका महिला तथा किशोरीबीच भएको ‘मिस एन्ड मिसेज डिसेबिलिटी क्विन २०२२’ प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा अनिला श्रेष्ठ को कोरियोग्राफीमा सम्पन्न ग्रिन आर्टस् मिडिया प्रालिले गरेको प्रतियोगितामा यस वर्ष जेनिसा कडायत र छवि कुमारी वलीले क्रमश: मिस एन्ड मिसेज डिसेबिलिटी क्विनको उपाधि हात पारे ।

अपांगता भएका व्यक्तिहरुको क्षमता र उनीहरुमा लुकेर बसेको प्रतिभालाई समाजमा सक्षमताअनुसार प्रस्तुत गरी समाजमा आफ्नो चिनारी बनाउन सहयोग पुर्‍याउने हेतुले गत वर्षदेखि ग्रिन आर्टस् मिडियाले प्रतियोगिता सुरु गरेको हो । यस वर्ष प्रतियोगितामा देशका विभिन्न भागबाट प्रतिनिधित्व हुने १४ जना महिला तथा किशोरीहरु सहभागिता जनाएका थिए । विभिन्न कारणले दुर्घटनामा परी शारीरिक रूपमा अशक्त भएका तथा आवाजमार्फत आफ्नो भावना पोख्न नसकेका प्रतियोगीहरुले कलाका विविध विधामार्फत प्रतिभा प्रस्फुटन गरे ।

सहभागीहरुले कसैले चित्रमार्फत आफ्नो भावना र क्षमतालाई प्रर्दशन गरे भने कसैले ह्विल चियरमै बसेर निकै मग्न रुपमा नृत्य प्रस्तुत गरे । ‘मिस डिसेबिलिटी क्विन’ को उपाधि जितेकी जेनिसाले ह्विल चियरमै बसेर ‘आँखैमा राख्छु मेरो देश’ बोलको गीतमा नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा देखाइन् । २०७० सालमा सडक दुर्घटनामा परेकी कैलाली सुदूरपश्चिमकी २५ वर्षीया जेनिसा हाल काठमाडौं जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा बस्दै आएकी छन् ।

कैलालीमै सडकमा साइकल चलाउँदै गर्दा एउटा रुखले थिचेर उनी गम्भीर घाइते बनिन् । दुई वर्षको लामो उपचारपछि अहिले उनी ह्विल चियरमा बस्न सक्ने भएकी हुन् । स्नातक दोस्रो वर्षमा अध्ययनरत उनी आफूसँगै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चाहन्छिन् । साहित्य र नृत्यमा औधि रुचि राख्ने उनलाई पौडीबाज खेलाडी बन्न छ । ‘अपांगता भएका व्यक्तिहरुप्रति समाजको दृष्टिकोण बदल्न जरुरी छ’, उनले भनिन्,‘यो प्रतियोगिता हामी जस्ताहरुका लागि आफ्नो क्षमता देखाउने प्लाटफर्म हो ।’ शारीरिक रूपमा अशक्त हुनेबित्तिकै परिवार एवं समाजबाट नै अपागंता भएका व्यक्तिहरु अपहेलित हुनुपर्ने अवस्था रहेको उनले सुनाइन् । उनले जोडिन् ‘मेरो यो दोस्रो जन्म हो । म आफूलाई सक्षम बनाई देशलाई समेत खेल क्षेत्रबाट चिनाउँछु भन्ने आँट छ । यो प्रतियोगिताले मलाई अगाडि बढ्ने हिम्मत दिएको छ ।’

‘मिसेज डिसेबिलिटी क्विन’ उपाधि जितेकी छविकुमारी वलीको पनि देश र समाजका लागि योग्य मानिस प्रण छ । २०४९ सालमा दाङमा जन्मिएकी उनी ६ महिनाकी हुँदा नै आगोले जलेकी थिइन् । समयमै उपचार नभएका कारण उनका दुवै खुट्टा अशक्त भए । हाल काठमाडौं जोरपाटी नारायणटारमा एक छोरी र श्रीमान्का साथ बस्दै आएकी उनले कक्षा १२ सम्म अध्ययन गरेकी छन् ।

शारीरिक रूपमा अपांगता भएकै कारण परिवार, समाजबाट भोगेको विभेदबारे सुनाउँदै उनले रोजगारीका अवसरबाट समेत वञ्चित हुनु परेको सुनाइन् । उनले भनिन्, ‘हाम्रो शरीर केही कमजोर भए पनि हामीमा पनि केही गर्ने क्षमता हुन्छ । जुन कुरा समाजले बुझ्दैन । हाम्रो दु:खेको मनलाई कसैले बुझ्ने प्रयास गरेनन् ।’ यस्ता प्रतियोगिताले अपांगता भएका व्यक्तिमाथि हुने विभेदलाई हटाउन सघाउ पुराउने उनको मत छ । उनका अनुसार समाजमा हुने विभेदलाई तोड्न नै उनी प्रतियोगितामा सहभागी भएकी हुन् । आफूजस्तै व्यक्तिहरुको जमघट तथा प्रतिभा प्रस्फुटनले अपांगता भएका व्यक्तिहरुलाई केही गर्ने साहस आउने उनले सुनाइन् ।

शरीरिक रूपमा अपांगता भएका मानिसहरु पनि समाजको हिस्सा भएको सुनाउँदै त्यस्ता व्यक्तिहरुको लुकेका प्रतिभालाई बाहिर ल्याई समाजका स्थापित गराउन प्रतियोगिताले जोड दिएको आयोजक प्रविन लाकौलले बताए । दोस्रो संस्करणसम्म आइपुग्दा निकै कठिनाइ र चुनौतीको सामनासमेत गर्नुपरेको उनले दु:खेसो गरे । १७ वर्षदेखि संस्थाले व्यक्तिगत प्रतिभालाई प्रस्फुटनलाई जोड दिएको सुनाउँदै उनले अपागंताहरुमाथि समाजको दृष्टिकोणसमेत परिवर्तन गर्ने उद्देश्य राखेको प्रस्ट्याए ।

निर्णायकको भूमिकामा रहेकी सीता सुवेदी(जो एकै खुट्टाले कथन नाच्ने, सिकाउने)ले प्रतियोगिता निकै सह्रानीय भएको धारणा राखिन् । उनले भने,‘शारीरिक अपांगता भएकाहरु पनि क्षमतावान र सुन्दर छन् । तर उनीहरुलाई समाजले बाहिर आउन दिएको छैन । उनीहरुको क्षमतालाई बाहिर ल्याई फरक तरिकाबाट हामीले प्रस्तुत गर्ने वातावरण बनाउन सकेमा अन्तर्राष्ट्रिय स्तरसम्म पनि लैजान सक्छौं ।’

ह्विल चियरको सहायतामा हिँड्नेहरुलाई मञ्चमा ल्याउनु निकै कठिन कार्य रहेको उनको भनाइ छ । अपांगता भएकाहरुलाई समान अवसर र बाटोमा हिँडाउन यस्ता खाले प्रयासहरुको माहोल बनाउन उनले सबैलाई आग्रह गरिन् ।

प्रकाशित : असार ३, २०७९ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?