कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रंगमञ्चमा सांस्कृतिक इतिहासको उत्खनन

राज्य प्रशासन तथा आधुनिकताको प्रवेशले कसरी किराती संस्कृतिको मौलिक पक्ष ओझेलमा परे, नाटक सेमुनाले खोजी गर्छ
सुशीला तामा‌ङ

काठमाडौँ — आधुनिक प्रविधि र विकासको लहरले पूर्वेली सभ्यता, संस्कृति र जीवन पद्धतिलाई ढपक्कै ढाक्यो । गोरेटा बाटा सडकमा परिवर्तन भए । सप्तकोसी (अरुण) नदीको किनार हुँदै हिँड्ने पुर्खाका सन्तान सहरी संस्कृति र संस्कारमा रमाउन थाले । साकेला/सान्केवा संस्कारमा राज्यको प्रशासन र नीति हाबी भयो । बितेका तीन दशकमा किराती सभ्यता र संस्कृतिमा के–के पक्ष हाबी भए ? किरातीले के पाए, के गुमाए ? नाटक ‘सेमुना’ ले यिनै प्रश्नहरूको जवाफ खोजेको छ ।

रंगमञ्चमा सांस्कृतिक इतिहासको उत्खनन

पूर्वी नेपालमा फैलिएका किरात संस्कार, संस्कृति तथा जीवन पद्धतिको पृष्ठभूमिसहित साकेलालाई करिब तीन दशक पुरानो तत्कालीन जनजीवन र त्यसैभित्रको एक वियोगान्त प्रेमकथासँग जोडेर प्रस्तुत गरिएको छ । नाटकभित्र तीन दशकअघिको समाज, परिवेश, आफ्नै संस्कार र परम्पराभित्र रमाएका किराती जनजीवन, बाँच्नकै लागि तिनीहरूले गरेको संघर्ष अनि अव्यक्त प्रेमकथा छन् ।

तत्कालीन समयमा पूर्वी पहाडी जिल्लालाई सडक सञ्जालले छोएको थिएन । तिनताक माझकिरात, भोजपुरको हतुवा, आमचोक, रामप्रसाद राई गाउँपालिका तथा खोटाङको बोपुङ क्षेत्रका किराती साहुको भारी बोकेर जीविकोपार्जन गर्थे । अजंगको सप्तकोसी नदीको किनारामाथि भीरको गोरेटो बाटोमा उनीहरूको यात्रा जोखिमपूर्ण थियो । त्यही भीरको बाटो छिचोलेर समकालीन समयसम्म बाँचेका र भारीसँगै अरुण नदीमा जिन्दगी नै खसालेकाहरूको कथालाई नाटकले प्रस्तुत गरेको छ ।

साकेला नाच्दै अनि अरुण नदी किनारमा सँगसँगै यात्रा गर्दागर्दै बसेको जेठा र कान्छीबीचको प्रेमकथाको रोमाञ्चकता नाटकमा देख्न पाइन्छ । जुन प्रेम उनीहरूले मनले महसुस गर्छन् तर व्यक्त गर्न सक्दैनन् । अरुण नदीमा सधैंका लागि जिन्दगी खसाएका जेठाका लागि कान्छी उनै जेठाको चिहानलाई कुरेर आजीवन बस्छिन् । यी दुईबीचको प्रेमकथालाई जोड्दै नाटकले किराती समुदायको संस्कृतिसँग दर्शकलाई साक्षात्कार गर्ने जमर्को गरेको छ । प्रकृतिमाथि आस्था राख्ने किरातीहरू, भूमि पूजा गर्ने उनीहरूको संस्कारदेखि मृत्यु संस्कारलाई नाटकले समेटेको छ ।

पुरानो समाजलाई देखाउने पात्रहरूको अभिनय, लबज तथा मञ्चीय साजसज्जाले पुरानै समयको झल्को दिन्छ । इतिहास र वर्तमान समय/पुस्तालाई नाटकले गाँसेको छ । किराती संस्कृतिमा राज्य प्रशासन तथा आधुनिकताको प्रवेश भएपछि कसरी मौलिक पक्षहरू ओझेल पर्दै गएका छन् भन्ने विषयलाई नाटकले सुरुवाती र अन्तिम दृश्यसम्म समावेश गरेको छ ।

हरेक उँभौली/उँधौलीमा पितृ तथा प्रकृतिको पूजा गर्दै नाचिने साकेलालाई किराती आफ्नो जीवन दर्शन मान्छन् । तिनै अवसरमा पितृ तथा देवलाई समेत चाहिने रक्सीको प्रयोग हाल राज्यको ऐन–कानुनले गर्दा कसरी गैरकानुनी भएको छ भन्ने विषयलाई पनि नाटकले उठान गर्छ । नाटकमा सेमुनाहरू मुना हुन चाहन्छन् । उनीहरूलाई सातो होइन, मःम मन पर्छ ।

कथाकार दिलीप बान्तवाको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन नीता राईले गरेकी हुन् । बान्तवाका अनुसार ‘सेमुना’ विशेष गरी माझकिरात, भोजपुरको हतुवालगायत खोटाङको बोपुङ क्षेत्रतिर नै नाचिने साकेन्वा/साकेला नाचको नाम हो । यिनै संस्कृतिलाई युवा पुस्ताले गरेको बेवास्ता, सडक विकासको नाममा किराती बस्तीदेखि चिहानसम्म चलेको डोजर आतंकको त्रास र पीडालाई नाटकको अन्तिम दृश्यले निकै पीडादायी रूपमा देखाएको छ । जेठाको चिहान भएरै गाउँमा मोटर बाटो जाने कुरा उठ्छ । आफ्नो प्रेमीको चिहानलाई नियाल्दै कान्छीले अन्तिम पटक दर्शन गर्छिन्, ‘जेठा, अब तिम्लाई पनि यहाँ बस्न दिँदैनन् । तिम्रै घर भएर मोटर बाटो लाने रे ।’

रंगमञ्चमा अभिनयसँगै निर्देशनमा समेत हात हालेकी युवा पुस्ताकी रंगकर्मी राईले आफूलाई अझै दरिलो रूपमा उभ्याएकी छन् । नाटकमा प्रयुक्त संगीत, ध्वनि र दृश्य परिवर्तनको अवधिमा प्रयुक्त प्रकाश व्यवस्थापनमा दर्शकले केही समय कुर्छन् तर पट्यारै मान्नुपर्ने अवस्था सिर्जना हुँदैनन् । तीन दशकअघिको समय र संस्कारलाई जीवन्त देखाउन सौजन लिम्बू, राजेन्द्र कट्टेल, सुमन कोइराला, प्रकाश थापा, चन्द्र नेपालीलगायतले सशक्त अभिनय गरेका छन् । आरोहण गुरुकुलद्वारा काठमाडौं थापागाउँमा सञ्चालित कुञ्ज थिएटरमा गत शनिबारदेखि सुरु भएको नाटक असार ११ सम्म चल्नेछ ।

प्रकाशित : असार ३, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?