३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कलासँगै नेपाल यात्रा

भारतीय कलाकार सञ्जयकुमार र श्रीमती सञ्जिदाका कला प्रदर्शनमा

काठमाडौँ — कुनै पनि मुलुकलाई भौगोलिक रूपमा छुट्याउन सिमाना हुन्छन् । तर, कला सिर्जनाको पक्षमा भूगोल होइन, मानवता र एउटै प्रकृतिको कुरा आउँछ भन्ने मान्यता राख्छन्, भारतका चित्रकार सञ्जयकुमार सहानी । एक जना सर्जकका लागि प्रकृति र उसका भोगाइ मानवताका हिसाबले समान देख्ने चित्रकार सञ्जय बेलाबेला नेपाल आउँछन् र यहाँका कलाप्रेमीलाई आफ्ना सिर्जनाका स्वाद चखाउँछन् ।

कलासँगै नेपाल यात्रा

झन्डै आधा दशकअघि नेपालमा एकल चित्रकला प्रदर्शनी गरेका उनी फेरि यस्तै कलाका साथ नेपाल यात्रामा छन् । यसपटक भने उनले श्रीमती सञ्जिदा खनामका कलाकृतिहरू पनि साथै लिएर आएका छन् ।

सञ्जिदा र सञ्जयका डेढ दर्जनभन्दा बढी चित्र ठमेलस्थित मिथिला येन आर्ट ग्यालरीमा प्रदर्शनीमा छन् । ‘इनोभेसन अफ युथ’ शीर्षक राखिएको प्रदर्शनीलाई बुधबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, ग्यालरीका निर्देशक श्यामसुन्दर यादव, अग्रज चित्रकार गेहेन्द्रमान अमात्य, गौतमरत्न तुलाधर, लेखक एवं समीक्षक रामदयाल राकेशलगायतले अवलोकन गरे ।

प्रदर्शनीमा आजको समय, युवा र प्रकृतिलाई केन्द्रमा राखेर सिर्जना गरिएका कलाकृति छन् । प्रकृतिबोधक अमूर्त रूपमै मूर्त अर्थ दिने सञ्जयका कला सिर्जना निकै सुन्दर छन् । युवापुस्ताको मानसिकतालाई समेत उनले मिहिन ढंगले केलाएका छन् । अहिलेको पुस्ताले प्रकृति प्रविधि, शिक्षा, घर, परिवारको मानसिक दबाब बोकेर हिँड्नुपरेको यथार्थलाई उनले कलामार्फत अभिव्यक्त गरेका छन् । एउटा सर्जक जसरी जुन अवस्थामा बाँच्छ, त्यही नै उसको सिर्जनामा आउने सञ्जयले सुनाए । ‘मेरो लागि कला जीवनको पाटो हो,’ उनले भने, ‘मैले बाँचेको र महसुस गरेको कुरा नै मेरो कलामा आएका छन् ।’

आजको समयमा युवा मानसिकता र उनीहरूले बोकेको बोझ जुनसुकै भूगोलमा पनि एकै खालको रहेको उनको बुझाइ छ । आफ्ना कलाकृतिले सबै भूगोलका सम्पूर्ण युवा र उनीहरूको अवस्थालाई चित्रण गर्ने उनले सुनाए । प्रकृति प्रेम दर्शाउने चित्रबारे सुनाउँदै उनले आजका युवालाई यसको महत्त्व बुझाउन जरुरी रहेको ठहर गरे । उनले भने, ‘प्रकृति सबैको लागि चाहिन्छ । प्रत्येक घरका भित्तामा प्रकृति झल्काउने चित्र राखे ‘प्रकृतिलाई जोगाऔं’ भन्ने भाव आउँछ ।’ सञ्जिदाका चित्रमा भने अर्ध अमूर्त र कतै मूर्त रूप देखिने महिला फिगरसहितका मानसिक आवेग दर्शाउने कला छन् ।

चित्रहरू अवलोकन गर्दै लेखक एवं समीक्षक रामदयालले नेपाल र भारतबीच सदिऔंदेखि रहेको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन प्रदर्शनीले सघाउ पुराउने धारणा राखे । उनले भने, ‘नेपाल र भारतबीच कला, कलाकारको परिचय मिथिला कलाकालदेखि नै परिचित छ । प्रदर्शनीले हामीबीच रहेको सांस्कृतिक सम्बन्ध विस्तार र यहाँका कलाकर्मीसँग पनि कलात्मक परिचय हुन्छ ।’ प्रदर्शनी युवा कलाप्रेमीलाई प्रेरित गर्न कोसेढुंगा बन्ने उनले आशा राखे ।

कोरोना महामारीको समयमा भएका कला सिर्जनाबारे स्मरण गर्दै प्रतिष्ठानका कुलपति कर्माचार्यले जुनसुकै भूगोल र अवस्थामा पनि सिर्जनाक्रम नरोकिने दाबी गरे । ‘कला सिर्जना कलाकारमा भर पर्ने कुरा हो । समय, प्रकृति, भूगोल र परिस्थितिअनुसार बिम्ब फरक होला तर कला सिर्जना रोकिँदैन,’ उनले भने ।

प्रकाशित : असार ३, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?