पानी जाँदैन खेर


चितवन — हिमाल पग्लेर नदी बन्छ; नदी गएर समुद्रमा मिसिन्छ । सबै कुरा सामान्य भएमा मात्रै हो नदी समुद्रसम्म सजिलै पुग्ने तर अचेल सबै कुरा सामान्य छैनन् । हिजोआज नदी रोक्ने, छेक्ने, सुकाउने अनेक काम चलेका छन् र नदी समुद्रमा नपुग्दै रोकिएका छन् ।



यो कथा बोकेको नाटक ‘हिउँको पृथ्वी यात्रा’ नारायणगढको नारायणी कला मन्दिरमा मञ्चन गरिएको छ ।
नाटकका पात्र नै तीनवटा नदी छन् । रंगमञ्चमा नदीहरू अगाडि बढ्छन् र हाम्रासामु राख्छन् जीव, जनावर, मान्छे र समाजका कुरा । विकासका लागि हुने विनाशका दृश्यहरू देखा पर्छन् । आदिवासी बस्तीमा खानेपानीको हाहाकार छ । गर्मीले मुसाहरू जमिनभित्र बस्न सक्दैनन् । जंगली हात्तीहरू कराउँदै यताउता भौंतारिन्छन् । माझीले खोलामा माछा मार्दा निकुञ्जको कानुन लाग्छ तर सक्नेले नदी पनि थुनेर ‘विकास’ गरेका छन् ।
शिल्पी थिएटरको प्रस्तुति रहेको ‘हिउँको पृथ्वी यात्रा’ घिमिरे युवराज र अमजद प्रवेजले लेखन निर्देशन गरेको नाटक हो । पवित्रा खड्का, संगीता उराव, झकेन्द्र बीसी, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लोहार र ज्याक बराल नाटकका पात्रहरू नदीदेखि समुद्रसम्म, मान्छेदेखि मुसा र माछासम्म बनेर कथालाई अगाडि बढाएका छन् । नाटकले समाज र पर्यावरणको मुद्दालाई उठाएको छ ।
बग्नु नदीको चरित्र हो तर मान्छेहरू नदी बगेको विषयलाई पानी खेर गएको भनेर अर्थ्याउँछन् । नाटकमा नदीको प्रश्न छ ‘के म बग्नु भनेको खेर जानु हो ?’ नदी आफैंले निर्माण गर्ने आफ्नो बाटो भएर बग्न नपाए या नसके भोलि पृथ्वीमा पर्ने असर देखाउन खोजेको छ नाटकले । बगेको नदी अगाडि बढ्न नसकेपछि नाटक सकिन्छ । ‘अब यो नदीलाई कसरी अगाडि बढाउने’ घिमिरे युवराज दर्शकसँग यही प्रश्न गर्छन् ।
प्रकाशित : जेष्ठ ३०, २०७९ १२:२३