नाटक : चोरको स्वर

लिम्बू संस्कृतिको सेरोफेरो

केटीलाई भगाएर लैजाने र लगेपछि उनको माइती पक्षलाई जानकारी गराउने चलनमा आधुनिकताको प्रवेश
सुशीला तामा‌ङ

काठमाडौँ — दुई लिम्बू गाउँबीच भएर बग्ने खोला आफ्नै रफ्तारमा छ । त्यही खोलामा बनेको पुलले सेर्मा र चेम्जोङ गाउँको पुरानै कथालाई फेरि सीमा र भीमाङको मेखिम (विवाह) सँग जोडेर ब्युँताइदियो । पुलको बाटोलाई साक्षी राखेर, धान नाचको लयमा नाच्दै, च्याब्रुङको धुन सुन्दै सेर्मा र चेम्जोङ गाउँ नछुटिने गरी सधैंका लागि फेरि कुटुम्बेरी साइनोमा बाँधिए ।

लिम्बू संस्कृतिको सेरोफेरो

थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि मञ्चन सुरु गरिएको ‘चोरको स्वर’ मा उठान गरिएको दुई लिम्बू सेर्मा र चेम्जोङ गाउँको कथा हो यो । आर्टमान्डु नेपाल प्रालिको प्रस्तुतिमा मञ्चन गरिएको नाटकमा विशेष गरी लिम्बू समुदायमा प्रचलित भागी विवाह र यसपछि हुने सांस्कृतिक तथा परम्परागत मान्यतालाई झल्काउने जमर्को गरिएको छ । केटाले केटी भगाइसकेपछि केटीको माइतीमा भद्र भलाद्मीहरू विशेष रीतसहित जानकारी दिन जाने चलनलाई लिम्बू समुदायमा ‘चोरको स्वर’ रूपमा लिइन्छ । चेम्जोङ गाउँका भीमाङले सेर्मा गाउँकी सीमालाई भगाएर घर ल्याएपछि नाटकको कथा सुरु हुन्छ । यी दुईको भागी विवाहले नै लिम्बूहरूमाझ हुने विवाह संस्कारका पक्षहरू बोल्छन् । खोलाले छुट्याएको दुई गाउँबीच नमिलेको माङ्गेना (लिम्बूमाझ रहेको शिर उठाउने संस्कृति) लाई यी दुईको विवाहले कसरी मिलाउँछ भन्ने नाटकले समकालीन समयसँगै जोडेर दर्शकलाई बुझाउँदै जान्छ ।

नवीन चौहानको कथालाई नाटकका रूपमा परिकल्पना तथा निर्देशन रंगकर्मीहरू अनिल सुब्बा र अन्वेश राई थुलुङले गरेका छन् । यसले लिम्बू समुदायमा प्रचलनमा रहेको भागी विवाहको संस्कारलाई समयसँग तुलना गर्दै नाटकले यसभित्रको नराम्रो पाटोलाई समेत केलाएको छ । भीमाङकी आमा मनु चेम्जोङको जबर्जस्ती भएको भागी विवाह, उनले अस्वीकार गर्दागर्दै अघि बढेको उनको वैवाहिक जीवनलाई नाटकले यो समयसँग जोडेको छ । उनकी बुहारी सीमाको कुरा बुझ्नु, घर भित्र्याउनुपूर्व राजी कि बिराजी भनेर सोधिनुलाई अहिले महिलालाई वैवाहिक जीवनका लागि दिइएको स्वतन्त्रतासँग जोड्न सकिन्छ । लिम्बू मात्र नभएर अन्य जनजाति समुदायमा प्रचलित छोपेर, तानेर वा भगाएर गरिने विवाह संस्कारलाई ६० को दशकपछि प्रेम विवाहका रूपमा हेरियो । यसमा महिलाको स्वेच्छा र स्वतन्त्रतालाई विशेष प्राथमिकता दिएको कुरा नाटकमा देख्न सकिन्छ ।

सेर्मा र चेम्जोङ गाउँको नमिल्दो माङ्गेनालाई भागी विवाहको संस्कारले मिलाइदिएको कुटुम्बेरी साइनो नाटकको मूल कथाका रूपमा लिन सकिन्छ । चेम्जोङ गाउँकी मनमाया र सेर्मा गाउँका सुनुहाङको भागी विवाहलाई नस्विकारेको दुई लिम्बू गाउँले सीमा र भीमाङको विवाहलाई प्रेम र साइनोका रूपमा स्वीकार गरेको छ । सीमा र भीमाङको विवाहको रीत बुझाउन आउँदा एकअर्कालाई मन पराएर भागेका सेसेहाङ र फुङ्मालाई समेत स्विकारेको छ ।

नाटकका सुनुहाङजस्ता पात्रले लिम्बू समुदायको मुन्धुमसँगै अहिलेको समयलाई समेत आत्मसात् गर्नुपर्छ भन्ने सन्देश दिन्छ । पुराना रीतिथिति, तत्कालीन सत्ता, राजनीति र अहमताले बिग्रिएको दुई गाउँलाई जोड्ने पुल नाटकमा आफैंमा सशक्त बिम्बका रूपमा खडा छ । जसले दुई गाउँलाई मात्र होइन, त्यहाँका समुदायलाई मानवीय भावना जगाएर एकआपसमा वैवाहिक सम्बन्ध बनाइदिएको छ ।

विशेष गरी नाटकले विवाह संस्कृतिलाई नै जोड दिए पनि १० लिम्बू र १७ थुमको लिम्बुवान इतिहास र पहिचानको कुरालाई समेत उठान गर्छ । ‘मुन्धुमचाहिँ नबिगारूँ है साथीहरू’ भन्ने नाटकमा प्रयुक्त संवादहरूमा नै यी कुराहरू झल्कन्छन् । सुनुहाङ र उसको पारिवारिक अवस्थाले माओवादी द्वन्द्वकालले लिम्बू समुदायमा छोडेको बाछिटा, तत्कालीन व्यवस्थामा राज्य पुनःसंरचनाकै क्रममा समुदायले चाहेको स्वायत्त राज्यको परिकल्पनाको कहाँ र कुन अवस्थामा पुगियो भन्ने थोरै भए पनि नाटकले इंगित गरेको छ ।

समुदायमा पुरुषले भन्दा पनि घरको जिम्मेवारी महिलाले लिने परम्परालाई मनमायामार्फत देखाइएको छ । बहिनीको विवाहको चाँजोपाँजो मिलाउन सुनुहाङभन्दा पनि मनमायाले देखाएको चिन्ता र उनको तयारीले समुदायमा मातृसत्ताको परम्परा देखिन्छ । लिम्बू समुदायमा महिलाका सम्पत्तिका रूपमा ‘पेवा’ परम्परा, ख्यालठट्टालाई सीमा र भीमाङको विवाह रीत बुझाउने संस्कारमा तुहा खेलेको दृश्यमा देख्न सकिन्छ ।

नाटकमा पूर्वेली समाज र संस्कृतिलाई जीवन्त देखाउने बिम्बसँगै संगीत र सांस्कृतिक पक्ष, पात्रको लवज, पहिरन तथा प्रयुक्त प्रप्सहरू नै सशक्त छन् । नाटकमा मञ्चको संरचना भव्य छ । पात्रहरूको अभिनय उत्तिकै सशक्त छ । च्याब्रुङको धुन सुनाएर पूर्वतिर डोर्‍याउँदै नाटकले दर्शकलाई माइती र चेलीबीचको बिछोडको कथा पनि भन्छ तर दुःखी हुने मौका दिँदैन ।

विवाह भनेको बेहुला र बेहुलीको मिलन मात्र होइन, दुई पक्ष एकै ठाउँमा आउनु, सम्बन्धहरू बन्नु, संस्कार र संस्कृतिहरू मिलाउने अर्थमा लिनुपर्ने कथाकार चौहानको बुझाइ छ । अडियो, भिडियोसँगै गीतसंगीतको क्षेत्रमा आफ्नो ओझिलो स्थान बनाएको आर्टमान्डु नेपालले नाट्य क्षेत्रमा समेत आफूलाई दरिलो रूपमा उभ्याएको छ ।

अनिल सुब्बा, रूपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, वेदना राई, सुरज तमू, प्रतिना राई, सुनील तामाङ, नुशा लिङ्देनलगायत कलाकारहरूको अभिनय रहेको नाटक असार १५ सम्म मञ्चन हुने जनाइएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?