कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चित्रमा रूख, चरा र हात्ती

रुखबिरूवा मासिनुको असर पानीका स्रोतसँगै मान्छे र जीवजन्तुमा सोझै पर्छ
पर्वत पोर्तेल

काँकडभिट्टा — रूखबिरुवाबिनाको पर्यावरणीय प्रणाली कसरी चलायमान होला ? मान्छेको जीवनसँग रूखबिरुवाको अभिन्न सम्बन्ध छ । तर, मान्छेका सुविधाका लागि रूखबिरुवा मासिने क्रम बर्सेनि बढेको छ । जोगाउन सकिने अवस्था हुँदाहुँदै पनि रूखबिरुवा कटान भइरहेको अवस्थाप्रति झापाका चित्रकारहरूले चिन्ता जनाएका छन् । उनीहरूले यो साझा चिन्तालाई चित्रमार्फत व्यक्त गर्दै रूखबिरुवा संरक्षणमा जोड दिएका छन् ।

चित्रमा रूख, चरा र हात्ती

विश्व वातावरण दिवसको सन्दर्भ पारेर मेचीनगर–४ वडा कार्यालयद्वारा बाहुनडाँगीमा आइतबार आयोजित कार्यक्रममा चित्रकारहरूले रूखबिरुवा विनाशको चिन्ता चित्रकलामा पोखे । उनीहरूले मानव जीवनमा रूखको महत्त्व मात्रै झल्काएनन्, रूख कटानपछि पर्यावरणमा आइपर्ने अत्यासलाग्दो भविष्यको पनि कल्पना गरे ।

देही आर्ट ग्यालेरीका चित्रकार छितेन शेर्पाले सुनाए, ‘मेचीनगर क्षेत्रको करिब ४० किलोमिटर लामो साइकल यात्रामा भेटिएका महत्त्वपूर्ण रूखहरूलाई चित्रमा उतारेका हौं ।’ यो नगरमा सयौं वर्ष पुराना रूखहरू पनि संरक्षणको पर्खाइमा छन् । वरपीपल, डुम्री, काभ्रो, लटहर प्रजातिका बडेमानका रूखहरू चित्रमा उतारिएको छ । वर्षौं पुराना रूखहरूका आआफना कथाहरू पनि छन् । ती कथाहरू पनि चित्रमै समेटिएको छ । बाहुनडाँगीमा एउटा वर्षौं पुरानो र ठूलो रूख अझै छ ।

त्यो रूखको कथा रोचक छ । विगतमा रूखको फेदामा गुफा जस्तो रहेको र त्यो बाघको बासस्थान रहेको भनाइ स्थानीयको छ । ‘ओडारमा बाघ लुकेर बसेको छ भन्ने बुझाइले त्यो रूख काट्ने साहस कसैले गरेनछन्,’ चित्रकार शेर्पाले भने, ‘त्यही भएर अहिलेसम्म त्यो जोगिएको रहेछ ।’ रूख पानीको स्रोत जोगाउने माध्यम पनि हो । रूख काटिएका कारण नगरका धेरै गाउँमा पानीको खानेपानीको समस्या पनि देखिएको छ । रूख मासिएसँगै सिमसारहरू पनि सुक्दै छन् । ‘चित्रकलामार्फत रूखको महत्त्व दर्शाउन खोजिएको छ,’ चित्रकार विनोद राजवंशीले सुनाए । अनिश नेम्वाङ, समृद्धि सापकोटा, अर्जुन बस्नेत, मन्जिला तामाङ, पिंकी श्रेष्ठ, विष्णु लिम्बू, सुशील राई, रोशन सुब्बालगायतले चित्र कोरेका हुन् ।

यही मेसोमा वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले चराहरूको तस्बिर प्रदर्शनीमा राखे । हालै उनले इलाममा खिचेको हङरायो नामको चरादेखि बाहुनडाँगी आसपास मेची बगरमा भेटिएको दुर्लभ ठूलो बगर बट्टाईसम्मका दर्जनभन्दा बढी चराका तस्बिर प्रदर्शनीमा राखेका छन् । ‘जसरी मान्छेका लागि रूखको खाँचो पर्छ त्यसरी नै चराहरूलाई पनि रूख चाहिन्छ,’ खरेलले भने, ‘रूख मासिँदै गएपछि चराहरू पनि पलायन हुँदै जान्छन् ।’ उनका अनुसार मेचीनगर नगरपालिका क्षेत्रमा मात्रै करिब ३ सय प्रजातिका चराहरू भेटिएका छन् । मेचीनगरका मेची र निन्दा नदीको किनारका सिमसार क्षेत्र र इलामसँगको सिमानामा रहेको चुरे जंगल आसपासमा मात्रै ३ सय बढी प्रजातिका चराको बासस्थान रहेको उनको दाबी छ ।

हात्ती संरक्षणका अभियन्ता शंकर लुइँटेलले करिब एक दशक अवधिमा खिचेका हात्तीका तस्बिरहरूले धेरैको ध्यान तान्यो । यी तस्बिरहरूमार्फत उनले बाहुनडाँगीमा हात्ती र मानवबीचको सम्बन्ध देखाउन खोजेका छन् । ‘हात्ती र मानवबीचको दुःखलाई अब पर्यटनसँग जोडेर सुख खोज्ने दिन आए,’ वडाध्यक्ष अर्जुन कार्कीले भने, ‘हात्ती प्रभावित क्षेत्रलाई चाँडै हात्ती पर्यटन क्षेत्रमा रूपान्तरण गर्नेछौं ।’

प्रकाशित : जेष्ठ २३, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?