२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अस्ताए केके

काठमाडौँ — हम रहे या ना रहे कल
कल याद आयेंगे ये पल

अस्ताए केके

सन् १९९९ अप्रिल १६ मा बजारमा आएको ‘पल एल्बमका आठ गीतमध्येको एउटा हो यो गीत । पप गीत गाउने–सुन्ने क्रम बढेका बेला उक्त एल्बम ल्याएका थिए गायक केकेले । बलिउडका यी चर्चित गायक केके अर्थात् कृष्णकुमार कुन्नथका गीतहरू बुधबारदेखि फ्यानहरूले युट्युबमा हेर्दै–सुन्दै उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । ५३ वर्षीय गायकको मंगलबार राति कोलकातामा निधन भएको छ ।

कोलकाताको एउटा कलेजको कार्यक्रममा प्रस्तुति दिने क्रममा अत्यधिक गर्मीले उनलाई केही असहज भएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार कन्सर्टलगत्तै उनी होटल फर्किए । होटलमा उनी बेहोस भएर ढले । लगत्तै अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मंगलबार राति कोलकाता अडिटोरियमको नजरुल मञ्चमा प्रस्तुति दिँदै केके, जुन प्रस्तुति उनको जीवनकै अन्तिम बन्न पुग्यो । तस्बिर : केकेको फेसबुक पेजबाट

अस्पताल पुगेका पश्चिम बंगाल सरकारका ऊर्जामन्त्री अरुप विश्वासका अनुसार चिकित्सकहरूले केकेको निधन हृदयाघातबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् ।

तमिल, तेलुगु, कन्नड, मराठी, बंगला र गुजराती फिल्महरूमा थुप्रै गीत गाएका केके कोलकातास्थित गुरुदास कलेजको कार्यक्रममा भाग लिन आएका थिए । निधनभन्दा अगाडि उनको इन्स्टाग्राम पेजमा कोलकाता अडिटोरियममा आयोजित कन्सर्टका भिडियो र तस्बिर पोस्ट भएका छन् ।

सन् १९९४ बाट गायनमा करिअर सुरु गरेका उनले प्रारम्भमा विज्ञापनहरूमा आवाज दिएका थिए । मेहबुब आलम कोतवालका रचना र लेज्ली लुइसको संगीय संयोजनमा उनले पहिलो एल्बम ‘पल’ ल्याउँदासम्म भारतीय संगीत जगतमा उनले छुट्टै नाम बनाइसकेका थिए ।

व्यावसायिक ‘ब्रेक’ पाउनका लागि धेरैजना संगीतकारलाई आफ्नो आवाजको टेप पठाएका केकेलाई सन् १९९६ मा ‘माचिस’ फिल्मको ‘छोड आए हम वो गलियाँ’ गीतमा दुई लाइन गाउन विशाल भारद्वाजले मौका दिएका थिए । उक्त गीतमा हरिहरन र सुरेश वाडकर मुख्य गायक थिए भने विनोद सहगल र केके सहयोगी स्वर । तर त्यसमै केकेको प्रतिभालाई याद गरेका संगीतकार एआर रहमानले फिल्म ‘मिनसरा कानभु’ को ‘स्ट्रबेरी’ बोलको गीत गाउन मौका दिए । अरविन्द स्वामी, काजोल र प्रभु देवा अभिनित तमिल भाषाको उक्त फिल्म तेलुगु र हिन्दी भाषामा पनि रिलिज भएको थियो । त्यसले बलिउडको संगीत जगतमा पहिचान स्थापित गर्न केकेलाई सघाएको थियो ।

बलिउडमा उनले सर्वाधिक चर्चा सन् १९९९ मा आएको सञ्जयलीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ को ‘तडप तडप के इस दिल से’ बाट पाए । उक्त फिल्मका संगीतकार इस्माइल दरबारले सञ्चारमाध्यमसँग भनेका छन् ‘केकेले यो गीत कसरी गाए भन्ने कथा छुट्टै छ ।’ बलिउडका अग्रज संगीतकारहरूसँग लामो समय सहयोगीका रूपमा काम गरेका दरबारको व्यक्तिगत नामका लागि उक्त फिल्म ‘डेब्यु’ थियो । निर्माता चाहन्थे– छनोट गरिएको गीतमा कब्बालीका गायकहरूको स्वर होस् । ‘कब्बाली बोलाएर दिनभर रेकर्ड गरियो तर आवाज चित्त बुझेको थिएन, मलाई मेहबुबले केकेको फोन नम्बर दिए,’ उनले भनेका छन्, ‘त्यसअघि उनीसँग चिनजान थिएन । बोलाएर आएपछि उनले त्यो गीत म गाउन सक्दिन होला भनेका थिए । मैले अवश्य सक्छौं भनेपछि गाए । केकेको आवाजमा रहेको त्यो गीत सुनेर भन्सालीका आँखा रसाएका थिए ।’

बलिउडका व्यावसायिक फिल्ममा आवाज दिनेहरूभन्दा केही फरक आवाज भएकाले केकेले लगातार मौका पाए । तर उनी फिल्मका गीतहरू गाउने मौका खोज्नुभन्दा कन्सर्टहरूमा जान बढी रमाउने गरेको सञ्चारमाध्यमले जनाएका छन् । ‘तु जो मिला (बजरंगी भाइजान),’ ‘आँखों मे तेरी (ओम शान्ति ओम),’ ‘क्या मुझे प्यार है (वो लम्हे),’ ‘दिल क्यों ये मेरा (काइट्स्),’ ‘जरा सा (जन्नत),’ र ‘तु ही मेरी सब है (गैंग्स्टर) आदि उनका चर्चितमध्येका गीतहरू हुन् ।

उनको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै बलिउडका कलाकार र संगीतकर्मीहरूले दुःख व्यक्त गरेका छन् । केकेका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा नकुल र छोरी तमारा पनि सांगीतिक क्षेत्रमै सक्रिय छन् ।

– (एजेन्सी)

प्रकाशित : जेष्ठ १९, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?