युद्धका डोब सम्झाउने कथा- कला - कान्तिपुर समाचार
नाटक समीक्षा - पल्पसा क्याफे

युद्धका डोब सम्झाउने कथा

'युद्ध भयो तर त्यसलाई पूर्ण रूपमा बिसाउन अझै सकिएको छैन । द्वन्द्व व्यवस्थापनका काम १५ वर्षदेखि अल्झेका अल्झियै छन् । टुप्लुक दैलोमा आफन्त आउलान् कि भन्ने पर्खाइमा बेपत्ताका परिवारले अझै बसेका छन् । नाटकमा रुपान्तरित चर्चित उपन्यास 'पल्पसा क्याफे'ले तीनै युद्धका डोबहरुलाई फेरि एकपटक सम्झाएको छ ।
रीना मोक्तान

काठमाडौँ — 'तिमी किन एक्लै बसेको, मजस्तै कसैलाई कुरिबसेको त होइन नि?' सामान्य भलाकुसारीमै हजुरआमा गम्भीर प्रश्न गर्छिन् । 
'होइन, हजुरआमा,'पुस्तक खोज्दै गरेका दृश्यले जवाफ फर्काउँछ,'गाउँ नगएको धेरै भयो ।' 
'घर जाँदै गर्नु, घरले पर्खिन्छ…' चर्खामा धागो मिलाउँदै हजुरआमा बोल्छिन् । 

जेलिएका धागो मिलाउन हजुरआमालाई सघाउन थाल्छन्, दृश्य । आफ्नो ग्यालरीमा आएकी एक युवतीले उनका चित्र(पेन्टिङ)का रङ कालो भएको प्रतिक्रिया दिएपछि पुरानो कलासंस्कृतिका सन्दर्भ पुस्तक खोज्दै दृश्य हजुरआमाकहाँ पुगेका हुन् । ती युवतीले चिसो पेन्टिङका पछाडि भित्ताका रङ कारक बनेको सुनाएपछि नै हो दृश्य त्यहाँ पुगेको । हजुरआमा धागो मिलाउँदै हुन्छिन्, दृश्यले पुस्तक खोतल्न थाल्छ । अनि खोतल्न थाल्छन्, कसैको पर्खाइमा बसेकी हजुरआमाका नखोतलिएका कुरा । त्यसपछि हजुरआमा र दृश्यको त्यो मिठो भेटबारे लेखिएको चिठी पार्श्व धून बनेर गुञ्जिन्छ । मण्डला थिएटरमा मञ्चनरत नाटक पल्पसा क्याफेको दृश्य हो यो ।

लेखक नारायण वाग्लेको उपन्यास 'पल्पसा क्याफे'लाई नाट्य रुपान्तरण गरेका हुन् सुरज सुवेदीले । युद्ध र प्रेमको सम्मिश्रण उपन्यासको नाममा विमल सुवेदीले नाटक निर्देशन गरेका छन् । पाठकले मानसपटलमा कोरिसकेका उही पुरानै पात्र, परिवेश र घटनाक्रमलाई उनले मञ्चमा उतार्ने प्रयास गरेका छन् । उपन्यासका पात्रलाई मञ्चमा उभ्याउँदा पाठक आफूले बाँचेको पात्र अनि परिवेशलाई दुरुस्तै देख्न रुचाउँछन् । त्यही पात्र र परिवेश मिल्दोजुल्दो नभइदिँदा पाठक हुँदै दर्शक बनेकाहरुलाई दृश्यमा भनिएका कथा खल्लो लाग्न सक्छ । तर, यो नाटकका लेखक अनि निर्देशकद्वय सुवेदीले भने 'पल्पसा क्याफे'का पाठकलाई केही हदसम्म उही पुरानै दृश्य, पल्पसा, सिद्धार्थसँग भेटाउने प्रयास गरेका छन् । नेपालको राजनीतिको महत्त्वपूर्ण कालखण्डमा उभिएर भनिएको दृश्य र पल्पसाबीचको प्रेम अनि युद्धका डोबहरुमा नाटकले दर्शकलाई डोहोर्‍याउँदै लान्छ ।

पुस्तकमा पल्पसा र दृश्यको प्रेममार्फत युद्धका परिवेश र घटनाहरू लेखिएका छन् । नाटकमा भने प्रेमभन्दा बढी द्वन्द्वका विषय समेटिएका छन् । नाटकको सुरुमै कलाकारहरु बेलुनलाई बेस्सरी मुसार्छन्, त्यसबाट निस्कने कर्कशपूर्ण आवाजले नै युद्ध कस्तो थियो भन्ने झल्को दिन्छ । बम पड्किन थाल्छ । पृष्ठभूमिमा युद्ध भूमिका चित्राकार सुनिन्छन् । युद्धको नमिठो धुनसँगै पृष्ठभूमिमा बज्ने बन्दुक, युद्धको कोलाहलले दर्शकको मुड युद्धतिर तानिन थाल्छ । त्यसपछि मञ्चमा देखा पर्छन् पल्पसा अनि दृश्य । गोवामा संयोगले भेटिन्छन् यी दुई । दृश्य पेशाले चित्राकार । काठमाडौंको कोलाहलबीच शान्त चित्र कोर्न सक्ने चित्रकार ।

अमेरिकाबाट नेपाल फर्किएकी पल्पसा दृश्यका चित्रका फ्यान । अमेरिकाको कथामा डकुमेन्ट्री बनाए पश्चिमा कथाहरुको दास बन्ने सोचले पल्पसालाई काठमाडौं फर्काएको हो । डकुमेन्ट्री फिल्ममेकिङमार्फत उनी आफ्नै देशका कथा भन्न चाहन्छिन् । गोवामा एकअर्कासँग ठोक्किएका यी दुई काठमाडौं फर्केपछि पनि भेटिरहन्छन् । अव्यक्त कुराहरुलाई चिठ्ठीमार्फत आदानप्रदान गर्छन् । चित्रमार्फत नजिक भएका उनी दुईको प्रेमलाई चिठ्ठीहरुले जोडदिन्छ । चिठ्ठीहरु अनि एकाध भेटबाट मौलाउँदै गएको पल्पसा र दृश्यको प्रेममा दुईको प्रेमबीच सशस्त्र संघर्ष मिसिँदै जान्छ । उत्कर्षमा पुग्दै गरेको युद्ध अनि पलाउँदै गरेको यी दुईको प्रेम 'पल्पसा क्याफे'मा प्रस्तुत छ ।

कृतिलाई दृश्यमा परिणत गर्दा कथाको मर्म मर्ने खालका थुप्रै प्रयासहरु विगतमा असफल बने । तर 'पल्पसा क्याफे'मा हजुरआमासँगको भेट, युद्धमा होमिन तयार किशोरी, दृश्यकहाँ सेल्टर माग्न आउने साथी सिद्धार्थ, मीत बा र आमालाई भेट्न जाँदाका घटनाक्रम छुटेका छैनन् । उपन्यासको मर्म समेटिएकै कारण मञ्चमा पल्पसा क्याफे अधुरो लाग्दैन । तर, दृश्य र पल्पसाबीचको प्रेमलाई उपन्यासमा झैं बलियो रूपमा प्रस्तुत गरिएको छैन । तर, युद्धकालको एउटा समय, परिवेश अनि त्यसबेलाका पात्रहरुले बाँचेको जीवनलाई भने नाटकले बोलिदिएको छ ।

थाल फ्याँक्दै गरेको बिम्बात्मक दृश्य निकै सशक्त पूर्ण ढंगले देखाइएका छन् । थालहरू एकापसमा ठोक्किन्छन् । चर्को आवाज गुञ्जिन्छ । दुई विचारको ठक्कर, दुई सिद्धान्तको द्वन्द्व, युद्धमा लडेका दुई पक्षको प्रतिनिधित्व गर्ने उक्त दृश्यमा थालहरू ठोक्किँदाको आवाजले युद्धको कोलाहल देखाइदिन्छ । त्यही दृश्यलाई निकै कलात्मक ढंगले युद्धका लागि तयार भएकी किशोरीसँग जोडिदिएको छ । शब्द जति सशक्त हुन्छन्, दृश्य त्यो भन्दा बढी शक्तिशाली हुन्छ भन्ने कुराको उदाहरण हो यो । युद्धका कमान्डर सिद्धार्थको मृत्युलाई पनि कलात्मक रुपले प्रस्तुत गरिएको छ ।

सेना र जनयुद्धका लडाकुबीचको द्वन्द्वलाई गीतहरुमार्फत निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ । स्टेजको दायाँपट्टि उभिएका जनयुद्धका लडाकुहरु गाउँछन्,'हातमा कलम हुनेहरु कलम लिएर उठ। बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ । गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ । यो देशको मुहार फेर्नलाई उठ…।' त्यसपछि सेनाहरु गाउँछन्,'रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो…।'

नाटकले द्वन्द्वकालले छोडिदिएको आघात, घाउहरुलाई सम्झाइदिन्छ । हुर्कँदै गरेको छोरीलाई जनयुद्धमा पठाउँदा एक बुवाले झारेको आँसु र पीडालाई देखाइदिन्छ । बारुदका आवाज । पर्दामा देखाइने थोत्रा गोल्डस्टार । आफ्नाहरुलाई गुमाउनेहरुको त्रास । दुई पक्षको युद्धका बीचमा पिल्सिएका जनता । मारिएकाहरुको लास । परिवर्तनका लागि क्रान्ति गरेका सिद्धार्थहरु । गलत व्यवस्था सच्याउन हिँडेकाहरुको अनुहार नाटकमा प्रस्तुत गरिएको छ । युद्ध केका लागि र कसका लागि गरियो, कस्ता व्यवस्थाको विरुद्ध थियो युद्ध ? अनुत्तरित यीनै प्रश्नहरूमाथि सोच्न बाध्य पार्छ नाटकले ।

सेल्टर लिन आएको सिद्धार्थले पहिरेको सफा चिट्टिक्क लुगालाई खोलिँदा देखिने रगतका दागहरुले युद्धमा बगेका रगत झल्को दिन्छ । उक्त दृश्यमा क्रान्तिका लागि लड्दै गरेको सिद्धार्थलाई दृश्यले भन्छ,' तिम्रो यो युद्धमा जनता मर्दैछन् । निर्दोष जनता मारेर आएको व्यवस्थामा केही नयाँ चिज हुन सक्दैन । युद्ध हिँड्ने बाटोमा को-को हराए, को-को डराए, को-को पुरिए, विश्व नै हतियारबद्ध छ । यहाँ मान्छेको हिसाब, मान्छेको हिसाब कसले गर्ने ?'

युद्धको समयमा बिहान घरबाट हिँडेकाहरू फर्केर आएनन् । आउँछु भनेर पर्खाउनेहरू फर्किएनन् । उनीहरूलाई पर्खिरहेकाहरूको आवाजमा दृश्यले बोल्छ, 'हो त हजुरआमा एउटा सिंगै मान्छे त्यसै कहाँ हराउँछ । उ हराउन त, धेरै मान्छेहरू चुप बस्नुपर्छ । उ हराउन त धेरै चिजहरु चुप बस्नुपर्छ । हराउँदै गरेको उसलाई कसै न कसैले त देखेको होला । हराउँदै गरेको उसलाई कसै न कसैले त सुनेको होला ?

युद्धमा बेपत्ता छानबिन र सत्य निरूपणका लागि दुई छुट्टाछुट्टै आयोग बनेका थिए। सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६० हजारभन्दा बढी उजुरी परे । तर निकै थोरै घटनामा मात्र छानबिन भएको छ । युद्धमा विद्रोही शक्ति, प्रहरी/सेना र सर्वसाधारण गरी १७ हजारभन्दा बढी मारिए, सयौं बेपत्ता पारिए । करिब १ दशक चलेको राज्य र विद्रोही शक्तिबीचको युद्ध २०६३ साल मंसिर ५ गते शान्ति सम्झौता भएपछि टुंगियो । विद्रोही शक्ति पटक-पटक सरकारमा आए । तर द्वन्द्वका अवशेष अझै बाँकी छन् ।

नाटकमा भनिएझैं युद्ध सुरु गरियो, तर त्यसलाई पूर्ण रूपमा बिसाउन अझै सकिएको छैन । द्वन्द्व व्यवस्थापनका काम अझै बाँकी छन् । टुप्लुक दैलोमा आफन्त आउलान् कि भन्ने पर्खाइमा बेपत्ता परिवार अझै बसेका छन् । आफन्त गुमाएकाहरू न्याय निरुपणको पर्खाइमा छन् । युद्धमा घाइते भएका व्यक्तिहरू शरीरमा गोली र छर्रा बोकेर बसिरहेका छन् । अनि युद्धमा होमिँदै गरेकी छोरीलाई बाबुले सम्झाएको नाटकको एक संवाद समयसान्दर्भिक लाग्छ, 'छोरी शरीरमा गोली बोकेर कहिल्यै नहिँड्नु । त्यसले जीवनभर पोलिरहन्छ ।'

अडियोमा वाचन हुने चिठ्ठी, डिजिटल प्रोजेक्सनमा देखाइने चित्र अनि जीवन्त लाग्ने पात्रहरुमार्फत मञ्चमा द्वन्द्वको वास्तविक स्वरूप र दु:ख देखाइदिएको छ । 'ल्यामपोस्टमुनि आगो तापिरहेछन् नानीहरु । युगौंदेखि छ जाडो…'बोलको गीत, मिठा संवाद, बिम्बको बेजोड प्रयोग गरिएको यो नाटकमा दर्शकहरूका लागि अवसर हो, युद्धलाई फर्केर हेर्ने । अनि प्रश्न गर्ने, व्यवस्था फेरिए, क्रान्ति सकियो के युद्धले खोजेको परिवर्तन आयो ? ।नाटकमा प्रप्सहरुका प्रयोग प्रशंसालायक पक्ष हुन् ।

हजुरआमासँगको भेटमा दृश्यले प्रयोग गर्ने पुस्तकहरू त्यसका उदाहरण हुन् । आफ्नो अभिनयमार्फत संगीता थापाले सबैभन्दा बढी दर्शकको ध्यान तानेकी छन् । उनले हजुरआमाको अभिनयलाई सशक्त ढंगले प्रस्तुत गरेकी छन् । सानी 'फुच्ची' को भूमिकामा पूर्णिमा आचार्यले गरेको अभिनय उम्दा लाग्छ । पल्पसाको भूमिकामा सृष्टि श्रेष्ठ र दृश्यको भूमिका निर्वाह गरेका निर्देशक विमल सुवेदीको अभिनय पनि प्रशंसनीय नै छ ।

प्रकाशित : वैशाख १९, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्

'एमालेले युवाको प्रतिनिधित्व गर्न मलाई उम्मेदवार बनाएको हो' [भिडियो]

'बोल्दिन मात्र, गरेरै देखाउँछु । यो कुरा मेरा अहिलेसम्मका कामहरूले प्रस्ट्याइसकेका छन्'
'राजनीतिमा मेरो यो पहिलो खुट्किला हो'
'एक्लो व्यक्तिले काम गर्न सम्भव छैन, मेरो टिमवर्क हुनेछ'
रीना मोक्तान

काठमाडौँ — वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाका लागि सुनिता डंगोल नेकपा एमालेबाट उपमेयरको उम्मेदवार हुन् । स्वतन्त्रतर्फ मेयरमा उठ्ने घोषणा गरेसँगै डंगोल चर्चामा आएकी थिइन् । मिस नेवा २०११ समेत रहेकी डंगोललाई एमालेले उपमेयरमा उठाउने निर्णय गरेसँगै उनले त्यसलाई सहर्ष स्विकारिन् ।

आफ्नो उम्मेदवारी एमालेले युवालाई उपहार दिएको बताउँदै आएकी उपमेयरकी उम्मेदवार डंगोलसँग निर्वाचन र उनका प्रतिबद्धताबारे ईकान्तिपुरकी रीना मोक्तानले गरेको कुराकानी :

तपाईंले सुरुमा स्वतन्त्र रुपमा मेयरमा उठ्ने घोषणा गर्नुभएको थियो । तर, अहिले उपमेयरमा उम्मेदवारी दिनुभएको छ । किन ?

सबैभन्दा पहिला हामी युवाहरूले उद्देश्य बिर्सिनुहुँदैन । सुरुमा म एक्लै तयारी गरिरहेकी थिएँ । सोहीअनुसार विभिन्न उतारचढावसँगै मैले दलीय रुपमा आउनेछु भन्ने कुरा गरेकी थिएँ । विभिन्न दलहरूसँग कुरा गर्ने क्रममा नेकपा एमालेसँग पनि कुरा भयो । उहाँहरूले उपमेयरका लागि कुरा गर्नुभयो । पदभन्दा पनि उद्देश्य पूरा हुनुपर्छ । हामीले जहिल्यै पनि पद नै खोज्ने होइन । पदभन्दा माथि आफ्नो लक्ष्य/उद्देश्य पूरा गर्नुपर्छ भन्नेमा विश्वास गर्छु । सोहीअनुसारको उद्देश्य भनेको काठमाडौंलाई बनाउने नै हो । काठमाडौंलाई बस्न योग्य, बस्नलाई लालायित हुने सहर बनाउने हो । त्यही उद्देश्यलाई केन्द्रित गरेर अगाडि बढ्दैछु । राजनीतिमा यो मेरो पहिलो कदम हो । त्यसैले देशकै लोकप्रिय र ठूलो पार्टीबाट उपमेयरमा अगाडि बढ्नु भनेको आफैंमा सबै युवाहरूको जीत हो भन्दै यसलाई मैले धन्यवादसहित सहर्ष स्विकारेकी हुँ ।

पार्टीरहित भएर उठ्न खोज्नुभएको थियो । पार्टीले बोलाउनेबित्तिकै तपाईं एमालेमा किन जानुभयो ? पार्टीसँग मिलेर जाँदा पार्टी र तपाईंबीच के लेनदेन भयो ?

सुरुदेखि नै मैले मल्टीपार्टी डेमोक्रेसीमा विश्वास गर्छु भन्दै आएकी छु । मल्टीपार्टी डेमोक्रेसी भन्नेबित्तिकै दलीय रुपमा आउनुपर्छ । दलीय रुपमा जहिल्यै पनि युवालाई स्थान दिइँदैन । त्यसैले दलीय रुपमा पनि युवालाई स्थान दिनुपर्छ भन्दै आवाज उठाइरहेकी थिएँ । त्यसपश्चात विभिन्न पार्टीसँग मेरो कुरा भयो । त्यो बार्गेनिङ थिएन, बार्गेनिङ नभनौं पनि । त्यहाँ उद्देश्यबारे छलफल भएको थियो या भनौं उम्मेदवारी दिइरहँदा तयार पारेका प्रतिबद्धताबारे नै कुराकानी भयो । ती प्रतिबद्धताहरू/एजेन्डाहरू कुन पार्टीले बोक्छ भन्ने कुरा थियो । विभिन्न पार्टीहरूसँग कुरा गर्ने क्रममा ती एजेन्डाहरू नेकपा एमालेसँग मिल्यो । ती प्रतिबद्धता सँगसँगै पार्टी आफैंले आफ्नो घोषणापत्र र प्रतिबद्धतामा अझ राम्राराम्रा योजनाहरू राखिए । अनि सँगै जाने निर्णय भएको हो ।

मेयर उठ्ने घोषणा गर्नुभएको व्यक्ति पार्टीले टिकट दिँदैमा उपमेयरमा खुम्चिन जानुभयो । विगतमा पनि महिलालाई उपमेयरमा खुम्च्याउने काम दलहरूले गरेका थिए । यसपटक पनि तपाईंजस्तो व्यक्तिहरूलाई उपमेयरमै सीमित पार्ने प्रयास गरे । यसप्रति के छ टिप्पणी ?

यसलाई मैले खुम्च्याइयो भनेर लिएकी छैन । जब कि सबै पार्टीले राजनीतिमा ल्याउनुपर्छ, राख्नुपर्छ भन्दै गर्दा नेतृत्वमा भएका विभिन्न पार्टीले त्यो आँट नगरेको अवस्थामा नेकपा एमालेले आँट गरेर युवालाई सबै युवाको प्रतिनिधिको रुपमा अगाडि उभ्याएको छ । खेल मैदानमा राखिएको छ । यो खुम्च्याइएको होइन । थुप्रै युवाहरू‚ जो राजनीति गर्ने बुढेसकालमा हो भन्ने वितृष्णा बोकेर बसिरहेका छन्‚ उहाँहरूलाई सकारात्मक सन्देश पनि पुगेको छ । उहाँहरुका लागि यो आशाको विन्दु बनेको छ ।

अघिल्लो पटकको चुनावमा महिलालाई उपमेयर वा उपाध्यक्ष बनाउँदा अर्को चुनावमा मेयर र अध्यक्ष बनाउन सकिन्छ भनेर आश्वासन दिइएको थियो । तर‚ यसपटकको उम्मेदवारी हेर्दा उपमेयर र उपाध्यक्ष हुनेहरूलाई मेयर र अध्यक्षमा अपग्रेड गरिएन । फेरि पनि ती मुख्य पदमा पुरुषहरूलाई नै उम्मेदवार बनाइएको छ । यसको अर्थ त नेतृत्व विकासमा सहयोग पुग्छ भन्ने दलहरूको भनाइ ढोंगीजस्तो रहेछ नि ?

पक्कै पनि कति जनाले किन उपमेयरमा भन्ने कुरा गर्नुहुन्छ । तर, यो त मेरो राजनीतिमा पहिलो खुट्किला हो नि ! पहिलो खुट्किलामा उपमेयर भनेको खुम्च्याइएको होइन । अथवा महिलालाई हतोत्साहित गरेको होइन । अहिले नेकपा एमालेमा अनुभव र युवाको विज्ञतालाई समावेश गरेर अगाडि राखिएको छ । महिलाहरू पक्कै पनि नेतृत्वमा आउनुपर्छ । महिलाहरुको सहभागिता मात्रै होइन‚ अर्थपूर्ण सहभागिता हुनुपर्छ । निर्णय गर्नसक्ने हुनुपर्छ । पहिलो खुट्किलामै म निर्णय गर्ने तवरमा पुगिसकेकी छु । यो यात्रा आजको मात्र होइन । यात्रा लामो छ । उपमेयर भन्ने पनि एउटा नेतृत्व नै हो । कति राम्रा-राम्रा क्षेत्र छन्‚ जसलाई उपमेयरले नेतृत्व गर्छ । सँगसँगै क्षमता भएका युवा, महिलाहरूका लागि यो आशा पनि हो । सुनिता डंगोल हुनसक्छ भने हामी किन हुन नसक्ने भन्ने सकारात्मक प्रेरणा पनि हो ।

तपाईं युवा हुनुहुन्छ । युवाहरूले नेतृत्वमा अवसर नपाइरहँदा तपाईं उम्मेदवार हुनुभएको छ । तपाईंका जित्ने आधार के-के छन् ?

सबैभन्दा धेरै संगठन सदस्य भएको संगठित पार्टी, जसलाई देशैभरि रुचाइएको छ । त्यस्तो पार्टीबाट मैले उम्मेदवारी दिएकी छु । पार्टीका शुभेच्छुक, कमरेड अनि उहाँहरूको टिमले दिने सहयोग गर्ने कुरा त भइहाल्यो । त्यो सँगसँगै राजनीति नै नगर्ने, राजनीतिदेखि दिक्क युवाहरूले यसरी युवा अगाडि आइरहेको देखिरहँदा पार्टीप्रति नै उहाँहरू आकर्षित र प्रभावित हुनुभएको छ । हाम्रो आवाज सुनिदिने पनि पार्टी रहेछ है भन्ने त्यो समूहले पनि मलाई भोट गर्नुहुनेछ । त्यति मात्र होइन‚ नेकपा एमालेले आफ्नो सरकार भएको बेलामा कति धेरै राम्रा कामहरू गरेका छन् । ती कामहरूको आधारमा पनि भोट दिनेछन् । अर्को महत्त्वपूर्ण भिजन हो ।

घोषणापत्र हेरेको आधारमा, यसले जनताको भावना बोकेको छ । त्यसमा जनताको आवश्यकता परिपूर्ति गर्ने योजनाहरू छन् । ती कुरालाई हेरेर पनि पक्कै भोट गर्नुहुनेछ । यति मात्रै होइन, म आफैं व्यक्तिगत तहमा पनि समुदायस्तरमा पुगेर ग्रासरुट तहमा गएर काम गरेकी छु । त्यहाँ गएर थुप्रै सशक्तीकरणका तालिम दिइरहेको, विभिन्न संघसंस्थासँग काम गरिरहेको, सामाजिक अभियन्ताका रुपमा काम गरिरहेको कुराहरूलाई मूल्यांकन गर्ने पनि थुप्रै जमात छन्, जसले मलाई सहयोग गरिरहेका छन् । थुप्रै आधारहरू छन्‚ जसले म जित्छु भन्ने कुरामा विश्वस्त छु ।

काठमाडौं अव्यवस्थित छ, यहाँका हरेक चुनावमा उठ्ने प्रत्येक उम्मेदवारले भोट माग्दा काठमाडौंलाई सुन्दर र हराभरा बनाउने भन्छन् । तर‚ निर्वाचित भएपछि आफ्नो वाचा भुल्छन् । तपाईं उनीहरुभन्दा फरक हुन सक्नुहुन्छ भन्ने के सुनिश्चितता छ ?

यसको सुनिश्चितता त काम गरेपछि नै देखिने हो । तर अहिलेका लागि मेरो विगतका कामहरु हेरेर नै विश्वास गर्ने हो । मैले जति कामहरू गर्छु भनेकी छु, अहिलेसम्म मैले गरेका कामहरू हेर्नुहुन्छ भने त्योभन्दा बढी नै गरेको छु । रञ्जना लिपि भनेको के-हो-के-हो भन्ने समयमा रञ्जना लिपि/नेपाल लिपि पुनर्जिवित गर्न थुप्रै काम गरें । ठाउँ-ठाउँमा गएर नेपाली लिपि सिकाएँ । जुन-जुन बेला फुर्सद हुन्छ मैले एउटा समुदाय लक्षित गरेर होइन‚ राष्ट्रव्यापी रुपमै यो अभियानलाई अगाडि सारेँ । राष्ट्रियरुपमा मात्र होइन‚ अन्तर्राष्ट्रिय तवरमै प्रस्तुत गरेँ । अहिले युनिकोडमा रञ्जना लिपि आउनुपर्छ भन्नेसम्मको आवाज उठिसक्यो । त्यति मात्र नभएर इन्टरनेसनल एसोसिएसन अफ टाइपोग्राफी छ, संसारभरका टाइपोग्राफीमा काम गर्ने संगठनमा म पहिलो व्यक्ति होला‚ जो नेपालको प्रतिनिधित्व गरेर कार्यकारी बोर्डमा छु । यो सबै कामहरू हेर्दा मैले बोल्ने मात्र होइन‚ काम गर्न सक्छ है भन्ने कुराहरुको आधार हो । म बोल्दिन मात्र, गरेरै देखाउँछु । यो कुरा मेरा अहिलेसम्मका कामहरुले प्रस्ट्याइसकेको छ । अब निर्वाचन जितिसकेपछि आफूले गर्नुपर्ने जिम्मेवारीमा एक इन्च पनि तलमाथि नगरी काम गर्नेछु ।

काठमाडौंको अव्यवस्थित सवारी यातयात सञ्जालको विषय सार्वजनिक यातयातसँग जोडिएको विषय हो । ठूल्ठूला बसहरुलाई ल्याएर समयको तालिकासँगै गुडिरहने बनाउनेछौं । सार्वजनिक यातयातलाई प्रमोट गर्नु भनेको निजी रुपमा रहरले भन्दा पनि करले चलाइरहेको बाइक, स्कुटर ‍घट्नेछ । जसले गर्दा ट्राफिक व्यवस्थापनमा धेरै सहज हुनेछ । अर्को त पार्किङको पनि समस्या छ । भर्टिकल पार्किङको अवधारणाहरु छन् । होरिजेन्टल पार्किङमा पनि अझ सहज गर्ने, अन्डरग्राउन्ड बेसमेन्टहरु बनाउनेजस्ता योजनाहरु छन् ।

फोहोरलाई मोहर बनाउन अब अत्यावश्यक छ‚ जसलाई 'वेस्ट टू इनर्जी' अवधारणा लगाएर पैसा तिरेर फोहोर फाल्ने होइन, फोहोर फालेबापत उल्टै पैसा पाउने योजनाहरू छन् । नदीहरूका लागि राष्ट्रियस्तरमै योजनाहरू बनाउन जरुरी छ । स्थानीय तहले मात्रै गरेर हुँदैन, विभिन्न स्थानीय तहहरुसँग समन्वय गरेर तीन तहको सरकार नै मिलेर नदीलाई जीवित पार्ने मास्टर प्लान बनाएर अगाडि बढ्नुपर्छ‚ जसलाई काठमाडौं महानगरपालिकाले कोर्डिनेसनको लिड गर्न सक्छ ।

अव्यवस्थित सडक व्यवस्थापनका लागि 'र्‍यापीड टास्क फोर्स'का परियोजना छन् । सडकमा हुने खाल्डाखुल्डी हुनेबित्तिकै पुर्न पायो भने दुर्घटनाबाट बच्न सकिन्छ । थुप्रै क्षतिबाट बच्न सकिन्छ । कहीँ खाल्डाखुल्डी भयो भने र्‍यापिड टास्क फोर्स गएर त्यसको मर्मत गरिनेछ । अर्को त डिजिटल काठमाडौंको योजना पनि बनाएको छु । डिजिटल काठमाडौं भन्ने बित्तिकै 'ई-गर्भनेन्स'सँग जोडिएको छ । जहाँ 'ई-गर्भनेन्स' हुन्छ त्यहाँ पैसाको कारोबारदेखि हरेक कुराको प्रमाण डिजिटल्ली हुने भएकाले त्यसले भ्रष्टाचार घटाउँछ । अफिसमै जानुपर्ने झन्झट रोक्नका लागि पनि 'ई-गर्भनेन्स' लागु गर्नुपर्छ । सहरी गरिबहरुका लागि परिचयपत्र दिने, सेवासुविधामा सहुलियत दिने योजना छन् ।

स्वतन्त्र उठ्नु भएर जित्ने अवस्थामा यी वाचाहरु पूरा गर्न सक्नुहुन्थ्यो होला तर यहाँ त दलीय बन्धन भएपछि हरेक जनप्रतिनिधिले जनताको कामभन्दा पार्टीको काम बढ्ता गर्छन् । पार्टीको यस्तो लगाम तोडेर तपाईं हिँड्न सक्नुहुन्छ ?

पार्टी पनि जनताको नै हो । नेताले गर्ने काम पनि जनताकै लागि हो । सबैभन्दा माथि जनता हुनुपर्छ र हो पनि । स्वतन्त्र रुपमा अगाडि बढ्दा काम गर्न सजिलो हुन्थ्यो भन्ने सैद्धान्तिक रुपमा हेर्दा मात्र हो । तर, व्यवहारिक रुपमा हेर्दा होइन । व्यवहारिक रुपले हेर्दा एकजना व्यक्तिले केही पनि गर्न सक्दैन । त्यहाँ सिस्टमले काम गर्छ । कार्यापालिका बैठक बसेर बल्ल काम गर्न सकिन्छ । मेयर एक्लैले काम गर्ने हुँदैन । त्यसका लागि दलीय रुपमा आउनुपर्छ । र बहुमतले जित्नुपर्छ । हरेक वडामा एउटै दलले जित्यो भने अझ यो काम गर्न सजिलो हुन्छ ।

काठमाडौं संघीय राजधानी रहेको महानगर हो । त्यसैले देशको तस्बिर कस्तो छ, महानगरबाट देखिन्छ । तर, यहाँका अव्यवस्थित संरचनाले महानगर कुरुप बनेको छ । यसलाई परिवर्तन गर्न तपाईंको एकल भिजनले सम्भव हुँदैन । तपाईंसँग विषय, विज्ञ र आर्थिक स्रोतसहितको ठूलो समूह नै आवश्यक पर्छ । तर, हाम्रो पूरानो सरकारी संरचना तोडेर नयाँ भिजनसहितको समूह जोडेर काम गर्न सक्नुहुन्छ ?

एक्लै व्यक्तिले काम गर्न संभव पनि छैन । मैले, म एक्लैले काठमाडौं हाँक्छु पनि भनेको छैन । यो भनेको टिमवर्क हो । हरेक मेयर, उपमेयर, वडाका अध्यक्षहरू सबैको तालमेल हुन जरुरी छ । त्यतिमात्र होइन ब्युरोक्रेसीबाट आएका कर्मचारीले पनि ती नेताहरूले देखेको भिजनलाई पूरा गर्न सहयोग गर्न लाग्नुपर्छ । अनि मात्र यो सबै कुराहरु सफल हुन्छ ।

अहिलेको संवैधानिक संरचनाअनुसार उपमेयरलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी पनि हुन्छ । तपाईं महानगरवासीका लागि न्याय दिने न्यायाधीश पनि हो । एउटा सामान्य व्यक्ति सडकमा ठेला, नाङ्लो व्यवसाय गरेर बसिरहेको हुन्छ । तर, ठूल्ठूला व्यवसायीहरुले कर छली गर्छन्, उनीहरुले छलेको कर उठाउने, उनीहरुलाई कारबाही गर्ने काम हुँदैन । तर, ती सडकमा जीवन गुजारा गरिरहेकाहरुलाई सँधै महानगरले ज्यादती गर्छ । तपाईंले जित्नुभयो भने जीवन गुजाराका लागि सडकमा संघर्ष गरिरहेकाहरुले कस्तो सुविधा र न्याय पाउँछन् ?

धेरैजनाको त्यही सडकमा पसल राखेरै पेट पालिरहनुभएको हुन्छ । त्यसलाई हामीले अन्याय गर्न पनि हुँदैन । त्यसको व्यवस्थापनका लागि निश्चित ठाउँहरु तोकेर निश्चित समयका लागि व्यवसाय गर्न दिनुपर्छ । न्याय दिने कुरामा, काठमाडौं महानगरपालिकाको मेयर, उपमेयर भइसकेपछि हरेकलाई समान रुपले हेर्न सक्नुपर्छ । कुनै पनि नीति, कानुन भनेको हुनेखाने वर्गका लागि मात्र होइन हरेक सर्वसाधरणका लागि पनि हुनुपर्छ । सबैलाई न्याय दिने हुनुपर्छ, जसमा म जोड दिनेछु । न्यायिक समितिको संयोजक हुने भएकाले विशेषगरी शान्ति र न्यायको पक्षमा म काम गर्नेछु । आफूले पुर्‍याउन सक्ने क्षेत्रबाट ऐन कानुन ल्याएर कार्यान्वयनमा ध्यान दिनेछु । अनुगमन समिति गठन गरेर तीव्र रुपमा प्रभावकारी रुपमा काम गर्नेछु ।

तपाईंले सार्वजनिक गर्नुभएको ८ खम्बे विकास योजनामा 'वुमन सेल' बनाएर अन्यायमा परेका महिलाको संरक्षण गर्ने उल्लेख गर्नुभएको छ । तर तपाईंसँग उम्मेदवारी दिनुभएका मेयरका उम्मेदवार केशव स्थापितमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । तपाईंको प्रतिबद्धता र तपाईंको उम्मेदवारीको सहयात्री चरित्र विरोधाभषपूर्ण भएन ?

म कुनै पनि किसिमका दुर्व्यवहारको विरोधी हुँ । त्यसमा ठूलो आवाज उठाउँदै व्यक्ति पनि हुँ । न म सहन्छु नै । कसैमाथि भइरहेको दुर्व्यवहार पनि म सहने छैन । किनकी म विश्वास गर्छु, शान्त रहनु पनि हिंसा हो ।

केशव स्थापितको सवालमा आरोप लगाइएको भनिएको छ । त्यो आरोप प्रमाणित भयो कि भएन भन्ने कुरा पनि महत्त्वपूर्ण छ । म न्यायाधीश होइन नि ! दुर्व्यवहार भएको हो कि होइन भन्नका लागि । यो कुरा जोसँग सम्बन्धित छ उहाँहरूले कानुनको बाटोबाट अगाडि बढाउनुपर्छ भन्छु । दुर्व्यवहार भएको छ भने प्रमाणित गर्नुपर्छ । प्रमाणित हो भने त्यसमा आवाज उठाउने काम मबाट हुन्छ ।

त्योसँगै हामी सबै महिलाले आफूलाई भएको अन्यायका कुरालाई जुनै पनि बेला बोल्नुपर्छ । राजनीति गर्ने बेलामा मात्र नबोलौं । अरुबेला पनि बोलौं । न्याय त हामीलाई चाहिएको छ नि ! त्यसैले बोल्नुपर्छ । एक जनाका लागि आवाज उठाइरहँदा, अर्कोलाई पनि त्यो ठाउँमा मुछेपछि अर्कोलाई अन्याय भएको छ कि छैन भनेर बुझ्न/सोच्न जरुरी छ । न्याय दिने अवस्थामा छैन म । तर, जहिल्यै पनि दुर्व्यवहारहरुको विरुद्धमा उठ्ने भएकाले यसविरुद्ध आवाज उठाउँछु । न्यायका लागि कानुनी बाटो लिन आग्रह पनि गर्दछु । त्यसमा मलाई जबरजस्ती, जानीनजानी, नियतवस नमुछिदिनु होला । कसैका लागि न्याय माग्दै गर्दा यस्तो जबर्जस्तीले मलाई अन्याय हुन्छ ।

हालै उम्मेदवारी दर्ताकै क्रममा केशव स्थापितले आफूमाथि यौन दुर्व्यवहारको आरोप लगाउनेहरुलाई 'पागल'को संज्ञा दिइरहँदा तपाईंले केही बोल्नुभएन । यो त मौन समर्थन भएन ?

यसलाई मौन समर्थन भन्न मिल्दैन । त्यो प्रश्न मेरा लागि थिएन । दुर्व्यवहार चाहे त्यो बोलेर होस् या शारीरिक होस् । त्यसको म विरोधी नै हो । यसरी बोल्न हुँदैन पनि भन्छु म । यो कुरामा हामी सबैजना सचेत हुन जरुरी छ । सचेत गराउन पनि जरुरी छ । मैले गर्न सकेको स्थानबाट गर्दैछु पनि ।

प्रकाशित : वैशाख १४, २०७९ १८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×