शैक्षिक प्रणालीभित्र भाषिक खाडल- कला - कान्तिपुर समाचार
नाटक : स्कुल

शैक्षिक प्रणालीभित्र भाषिक खाडल

मातृभाषा फरक पर्दा विभिन्न समुदायका बालबालिकाको कक्षागत पढाइमा पर्ने असरमाथि चिन्तन
सुशीला तामा‌ङ

काठमाडौँ — सन्तानलाई पढाएर ठूलो मान्छे बनाउने या पढेर राम्रो मान्छे बन्ने सपना नबोकेका मान्छेहरु बिरलै पाइएला । मनकौरी गुरुङ, आरने जेठा, रुद्रमान र तिर्थेहरुको सपना पनि पढाएर र पढेर ठूलो मान्छे बनाउनु, बन्नु छ । हातमा किताब, नीलो पाइन्ट र आकाशे नीलै सर्टमा खुलेर स्कुल जाने सपना बोकेका रुद्रमान र तीर्थेहरु स्कुलबाट छुटे । स्कुलसँगै उनीहरुका लागि समाजले मानेको मूलधारे शिक्षा प्रणाली छुट्यो । उनीहरु अर्कै ठूलो मान्छे बने ।

काठमाडौं थापागाउँस्थित कुञ्ज थिएटरमा आरोहण गुरुकुलले गत बुधबारदेखि मञ्चन सुरु गरेको नाटक ‘स्कुल’ ले शिक्षा, समाज र वर्ग हुँदै छुटेर किनाराकृत भएका रुद्रमान र तीर्थेहरुको कथा बोलेको छ । मूलत: वर्ग, जात,भाषा तथा परिवेशका कारण शिक्षाको मूलधारे प्रणालीबाट अलग्गिएकाहरुको कथा नाटकले उठान गरेको छ । नाटकको परिकल्पना तथा निर्देशन युवा रंगकर्मी सुरज तमुले गरेका छन् । नाटकभित्र राई संस्कृति, सभ्यता तथा पात्रमा आधारित दिलीप बान्तवाको ‘ताल्चा’ कथासंग्रहमा भएको पूर्वतिरको जीवनशैली समेटिएको ‘स्कुल’ शीर्षकको कथालाई पश्चिमको गुरुङ सभ्यतातिर रूपान्तरण गरिएको छ ।

मनकौरी गुरुङ, आरने जेठा, रुद्रमान र तीर्थेजस्ता पात्रहरुको कथालाई मूल केन्द्रमा राखेर घुमेको नाटकले सरल रूपमा गहन विषय उठान गरेको छ । मूल कथामा खस नेपालीभाषीभन्दा अर्काे समुदाय कसरी शिक्षा र शिक्षण प्रणालीबाट पछाडि धकेलिन्छन् भन्ने कुरा देख्न सकिन्छ । स्कुल गएका रुद्रमानले खस नेपाली भाषा बोल्न नआएकै कारण विभेद खेप्छन् । दलित तीर्थे भने खस आर्य समुदायबाट हेपिन्छन् । जात, वर्ग र भाषा फरक भएकै कारण यी दुवै पात्रले भोगेका आरोह–अवरोहहरु नै नाटकमा घुमेका छन् । स्कुलबाट छुटेका यिनीहरु परिवारबाट पनि छुटिँदै सहर र परदेशको बाटो रोज्छन् ।

नाटकले यी दुवै पात्र फेरि गाउँमै फर्केर यथास्थितिवादी प्रवृत्ति बोकेको प्रणालीलाई रुपान्तरित हुन इंगित गरेको छ । नाटक हेरिरहँदा रुद्रमान र तीर्थ जस्ता पात्रहरु हाम्रै वरिपर घुमिरहेको भान हुन्छ । बहुलजाति, बहुभाषी तथा संस्कृति भएको मुलुकमा एक जातीय प्रणालीअनुसार चलेको प्रक्रियामा अर्काे जातिले भोग्ने पीडा, व्यथा र विभेदलाई नाटकमा सशक्त रूपमा उठाइएका छन् ।

मनकौरी गुरुङ, आरने जेठाहरु खस नेपालीभाषी समुदायले परिचालन गरेको जातीय तथा वर्गीय प्रणालीको दलनमा छन् । किनाराकृत हुँदाहुँदै पनि यी पात्रहरुले गरेका वर्गसंघर्ष, भाषा र जातीय विभेदभित्र पनि खोजेको समानान्तर आवाज नाटकका बलिया पक्षहरु हुन् । मौलिक संस्कृति र ग्रामीण बस्तीको झलकलाई धूमिल बनाउँदै मिसिन आएका पश्चिमा संस्कृति, जीवनशैलीलाई समेत नाटकले छुट्टाएको छैन । प्रयुक्त संस्कार र संगीतले नाटकको प्राण भरेको छ ।

नाटकले अहिले चलेको ज्वलन्त विषय मातृभाषा शिक्षालाई जोडतोडका साथ अगाडि ल्याउनुपर्ने आवाज उठान गर्छ । संवैधानिक रूपमा नै प्रत्येक समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोलेर सञ्चालन गर्ने हकको व्यवस्था गरेको छ । तर यसको कार्यान्वयन फितलो भएकै कारण नाटकका पात्रहरु रुद्रमान र तीर्थेहरुजस्तै स्कुलबाट छुट्नेहरुको संख्या उच्च छ । यसले गर्दा प्रारम्भिक शिक्षामा अझै उपस्थिति न्यून देखिन्छ ।

जात र भाषाकै कारण स्कुल गएका रुद्रमान र तीर्थेहरु शिक्षक, सहपाठीहरुबाटै हेपिन्छन् र दण्डित हुन्छन् । नेपाली भाषा प्रस्ट बोल्न नसकेकै कारण स्कुल जान डराउँछन्, साथीहरुसँग बोल्न डराउँछन्, नेपाली विषयमा फेल हुन्छन् र स्कुलबाट नै पलायन हुन बाध्य हुन्छन् । नाटकमा पात्र र भूगोल फरक पक्कै छन् । तर, रुद्रमान र तीर्थेहरु हाम्रै समुदाय वरपर नै घुमिरहेका भेटिन्छन् । पात्र र संस्कृति पूर्व या पश्चिम जतातिर भएपनि नेपाली खस भाषाभन्दा फरक समुदायका मानिसले भोगेका कथा एउटै रहेको निर्देशक तमुको भनाई छ ।

‘खस नेपाली भाषा नजानेकै कारण अन्य मातृभाषा बोल्नेहरु शिक्षा र यसको प्रणालीबाट पछाडि परेका छन्,’ उनले भने, ‘भाषाकै कारण स्कुलभित्र हुने विभेदपूर्ण परिवेशले बालबालिकाहरुमा हुने मनोवैज्ञानिक असरलाई समेत नाटकमा छन् ।’ कुनै पनि भाषा समुदाय र संस्कृतिका लागि बलियो आधार भएकाले सबै भाषालाई उत्तिकै मान्यताका साथ समान प्रणालीमा ल्याउनुपर्छ भन्ने कुरालाई मूल विषयका रूपमा उठान गरिएको तमुले सुनाए । नाटकका अनुसार नेपाली भाषालाई नराम्रो भनिएको छैन । अन्य मातृभाषालाई पनि उत्तिकै मान्यता दिएर समान प्रणालीमा ल्याउनुपर्छ मात्र भनिएको छ ।

वैशाख २८ सम्म मञ्चन हुने नाटकमा चन्द्र नेपाली, नीता राई, सुवास तिमल्सिना, प्रतिज्ञा भण्डारी, मोहन राईलगायतका डेढ दर्जनभन्दा बढी कलाकारहरुको अभिनय रहेको छ ।

प्रकाशित : वैशाख १९, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्

चित्रमा काइँयो

कपालका लट्टा काइँयोले फुकाएझैं जीवनका अप्ठ्यारा केले फुकाउँछ ?  
सुशीला तामा‌ङ

काठमाडौँ — चित्रकार सविता डंगोलका कलाकृतिको प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ । दुई दजर्नभन्दा बढी चित्र प्रदर्शनीमा छन् । समकालीन सिर्जनाहरूमा डंगोलले प्रकृति, मानवीय प्रेम, सद्भाव, संस्कृतिप्रतिको झुकाव र संरक्षणका लागि समेत सचेत गराएकी छन् ।

समकालीन कलामार्फत वर्तमान समयको उठान त उनले गरेकी छन् नै, त्यसैमा उनले परम्परागत केही बान्कीहरूलाई अँगाल्दै मौलिक पक्षलाई समेत जोड दिएकी छन् ।

काइँयो, युगल जोडी बिम्ब त डंगोलका सिर्जनाका विशेषता नै हुन् । अहिलेको छैटौं एकल प्रदर्शनीसम्म पनि उनले यसलाई निरन्तरता दिएको भेटिन्छ । यस प्रदर्शनीमा भने उनले प्राकृतिक र सांस्कृतिक पक्षलाई पुरानै बिम्बसँगै अघि सारेको पाइन्छ ।

‘हामी कलाकारलाई जुन समय र विषयले प्रभाव पारेको हुन्छ, त्यही कुरा कलामा पनि देखिन्छ,’ उनले भनिन्, ‘कोभिडको समयमा सुनसान सहर, अस्पतालमा बिरामी, अक्सिजनको अभावले छटपटिएका मानिसरूको स्थितिले मनमा छोएपछि मेरो अहिलेको पेन्टिङमा रूखहरू विशेष रूपमा आएका छन् । जसले प्रकृतिमा रूखको महत्त्वलाई बुझाउँछ ।’

उनका चित्रहरूमा रूखहरूसँगै जीव र सांस्कृतिक सम्पदाहरू पनि झल्केका छन् । प्रकृति भनेकै साझा थलो रहेकाले मानिस मात्र होइन जनावर पनि बाँच्न पाउनुपर्छ भन्ने उनको कलाको मर्म हो । प्रकृतिमा रूख र सबै जीव जनावरको सन्तुलन मिले मात्र मानिस रहन सक्छ । मानिसले यी सबै पक्षको संरक्षण गर्नुपर्छ भन्ने उनले कलामार्फत नै सन्देश छोडेकी छन् ।

परम्परागत लोक कलाको छनक झल्कने मयूर, प्वाँख, मसिना रूपमा देखिने चराचुरुङ्गी, फूल र पातहरूमा यसपटक उनले प्रस्ट देखिने मन्दिरको संरचना, हिटी, नेवारी सांस्कृतिक पहिरन, कलात्मक बुट्टाहरूमा सांस्कृतिक बिम्ब देखाउने जमर्को गरेकी छन् ।

‘हाम्रालागि बाँच्न प्रकृति, अक्सिजन जति आवश्यक छ, त्यति नै सम्पदाहरू पनि महत्त्वपूर्ण छन् भन्ने कुरा कोभिडको समयमा मेरो मनमा अझ धेरै महसुस भयो । त्यसैले यी सबै कुरा कलामा पनि देखा पर्‍यो,’ उनले जोडिन् ।

समय र प्रकृतिलाई समकालीन पक्षलाई जोड्ने सम्पूर्ण कलाकृतिहरूलाई उनले पुनः युगल प्रेम र काइँयोमा नै जोडेकी छन् । वैवाहिक जीवनमा जोडिएपछि दाम्पत्य जीवनको प्रतीकका रूपमा देखिएको उनको युगल जोडी शैली नौलो भने होइन । काइँयोलाई सधैंझैं उनले यसमा पनि जीवनका आरोह–अवरोह र अप्ठ्यारा परिस्थितिहरूको सामना गर्ने बिम्बका रूपमा प्रयोग गरेकी छन् ।

अझ नौलो पक्ष त सधैं चित्रमा देखिने उनका काइँयोहरू यस प्रदर्शनीमा इन्स्टलेसन कलाका रूपमा देख्न सकिन्छ । जसरी काइँयोले कपालका लट्टाहरू फुकाउने गर्छ, त्यसरी नै आइपर्ने अप्ठ्यारा समयलाई पार लगाउँदै जानुपर्छ भन्ने सकारात्मक सन्देश दिने डंगोलको भनाइ छ । एक्रेलिक माध्यममा प्रयुक्त गाढा रातो, नीलो, पहेँलो, सुन्तला रङले अझ डंगोलका कलाका सौन्दर्य खुलेका छन् ।

त्यसैमा देखिएका प्रेमिल जोडी, फूलहरू, पृष्ठभूमिमा सजिएका फूलका बुट्टाहरू, नीलै आकाश, सौम्य प्रकृतिको दृश्य, थपिएको हिमालको सुन्दरताले भरिएका चित्रहरूले मनमा शीतलता प्रदान गर्छ ।

आत्माको भावलाई सम्बोधन गर्ने उनको प्रदर्शनी यही शुक्रबारसम्म जारी रहनेछ ।

प्रकाशित : वैशाख १५, २०७९ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×