चित्रमा काइँयो- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चित्रमा काइँयो

कपालका लट्टा काइँयोले फुकाएझैं जीवनका अप्ठ्यारा केले फुकाउँछ ?  
सुशीला तामा‌ङ

काठमाडौँ — चित्रकार सविता डंगोलका कलाकृतिको प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ । दुई दजर्नभन्दा बढी चित्र प्रदर्शनीमा छन् । समकालीन सिर्जनाहरूमा डंगोलले प्रकृति, मानवीय प्रेम, सद्भाव, संस्कृतिप्रतिको झुकाव र संरक्षणका लागि समेत सचेत गराएकी छन् ।

समकालीन कलामार्फत वर्तमान समयको उठान त उनले गरेकी छन् नै, त्यसैमा उनले परम्परागत केही बान्कीहरूलाई अँगाल्दै मौलिक पक्षलाई समेत जोड दिएकी छन् ।

काइँयो, युगल जोडी बिम्ब त डंगोलका सिर्जनाका विशेषता नै हुन् । अहिलेको छैटौं एकल प्रदर्शनीसम्म पनि उनले यसलाई निरन्तरता दिएको भेटिन्छ । यस प्रदर्शनीमा भने उनले प्राकृतिक र सांस्कृतिक पक्षलाई पुरानै बिम्बसँगै अघि सारेको पाइन्छ ।

‘हामी कलाकारलाई जुन समय र विषयले प्रभाव पारेको हुन्छ, त्यही कुरा कलामा पनि देखिन्छ,’ उनले भनिन्, ‘कोभिडको समयमा सुनसान सहर, अस्पतालमा बिरामी, अक्सिजनको अभावले छटपटिएका मानिसरूको स्थितिले मनमा छोएपछि मेरो अहिलेको पेन्टिङमा रूखहरू विशेष रूपमा आएका छन् । जसले प्रकृतिमा रूखको महत्त्वलाई बुझाउँछ ।’

उनका चित्रहरूमा रूखहरूसँगै जीव र सांस्कृतिक सम्पदाहरू पनि झल्केका छन् । प्रकृति भनेकै साझा थलो रहेकाले मानिस मात्र होइन जनावर पनि बाँच्न पाउनुपर्छ भन्ने उनको कलाको मर्म हो । प्रकृतिमा रूख र सबै जीव जनावरको सन्तुलन मिले मात्र मानिस रहन सक्छ । मानिसले यी सबै पक्षको संरक्षण गर्नुपर्छ भन्ने उनले कलामार्फत नै सन्देश छोडेकी छन् ।

परम्परागत लोक कलाको छनक झल्कने मयूर, प्वाँख, मसिना रूपमा देखिने चराचुरुङ्गी, फूल र पातहरूमा यसपटक उनले प्रस्ट देखिने मन्दिरको संरचना, हिटी, नेवारी सांस्कृतिक पहिरन, कलात्मक बुट्टाहरूमा सांस्कृतिक बिम्ब देखाउने जमर्को गरेकी छन् ।

‘हाम्रालागि बाँच्न प्रकृति, अक्सिजन जति आवश्यक छ, त्यति नै सम्पदाहरू पनि महत्त्वपूर्ण छन् भन्ने कुरा कोभिडको समयमा मेरो मनमा अझ धेरै महसुस भयो । त्यसैले यी सबै कुरा कलामा पनि देखा पर्‍यो,’ उनले जोडिन् ।

समय र प्रकृतिलाई समकालीन पक्षलाई जोड्ने सम्पूर्ण कलाकृतिहरूलाई उनले पुनः युगल प्रेम र काइँयोमा नै जोडेकी छन् । वैवाहिक जीवनमा जोडिएपछि दाम्पत्य जीवनको प्रतीकका रूपमा देखिएको उनको युगल जोडी शैली नौलो भने होइन । काइँयोलाई सधैंझैं उनले यसमा पनि जीवनका आरोह–अवरोह र अप्ठ्यारा परिस्थितिहरूको सामना गर्ने बिम्बका रूपमा प्रयोग गरेकी छन् ।

अझ नौलो पक्ष त सधैं चित्रमा देखिने उनका काइँयोहरू यस प्रदर्शनीमा इन्स्टलेसन कलाका रूपमा देख्न सकिन्छ । जसरी काइँयोले कपालका लट्टाहरू फुकाउने गर्छ, त्यसरी नै आइपर्ने अप्ठ्यारा समयलाई पार लगाउँदै जानुपर्छ भन्ने सकारात्मक सन्देश दिने डंगोलको भनाइ छ । एक्रेलिक माध्यममा प्रयुक्त गाढा रातो, नीलो, पहेँलो, सुन्तला रङले अझ डंगोलका कलाका सौन्दर्य खुलेका छन् ।

त्यसैमा देखिएका प्रेमिल जोडी, फूलहरू, पृष्ठभूमिमा सजिएका फूलका बुट्टाहरू, नीलै आकाश, सौम्य प्रकृतिको दृश्य, थपिएको हिमालको सुन्दरताले भरिएका चित्रहरूले मनमा शीतलता प्रदान गर्छ ।

आत्माको भावलाई सम्बोधन गर्ने उनको प्रदर्शनी यही शुक्रबारसम्म जारी रहनेछ ।

प्रकाशित : वैशाख १५, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

तामाङ समुदायको कथा बोल्ने ‘पिंगाई माया’ 

सुशीला तामा‌ङ

काठमाडौं — तामाङ समुदायमा छोरी मान्छेलाई माया गरेर बोलाइने थुप्रै नामहरूमध्ये एक हो, ‘पिंगाई माया’ । यही मायालु नामलाई केन्द्रमा राखेर गायिका निर्मला घिसिङले एक पात्र बुनिन् । लेखपढ नगरेकी, गाउँमा सामान्य रुपमा बाबुआमा र भाइको सपनाका लागि दिनचर्या बिताएकी सोझी ‘पिंगाई माया’सँगै कवि राजु स्याङ्तानले जोडिदिए मध्यपहाडी लोकमार्गमा ज्यामी काम गर्ने एक युवकको संघर्ष । त्यसैमा कवि स्याङ्तानले अझै थपे युवक र ‘पिंगाई माया’बीचको प्रेम कथा ।

तामाङ समुदायका महिला, मजदुरका कथा, यसभित्र लुकेका मौलिक कला, संस्कृतिलाई समेटेर तयार गरिएको ‘पिंगाई माया’ बोलको गीत म्युजिक भिडियोसहित हालैमात्र सार्वजनिक भएको छ । गीतमा शब्द गायिका घिसिङकै रहेको छ भने उनलाई स्वरमा साथ अनिश योञ्जनले दिएका छन् । कोरोना महामारीको समयमा सिर्जना भएको गीतमा तामाङ भाषासँगै समुदायकै संस्कृति र मौलिक ‘अर्गानिक’ प्रेम कथालाई उठान गर्ने जमर्को गरिएको कान्तिपुरसँगको कुराकानीमा गायिका घिसिङले सुनाइन् ।

‘भाषा त्यसै पनि जातिको संस्कृति हो,’ उनले भनिन्, ‘यसमा तामाङ समुदायकै संस्कार र परम्पराका कुरा देखाउने हामीले कोसिस गरेका छौं ।’ तामाङ सेलोसंगीत, लोक आधुनिकलगायत संगीतमा आफ्नो ओझिलो स्थान बनाएकी घिसिङले गीतमार्फत समुदायका महिला पात्रका कथासँगै मौलिक संस्कृतिलाई अगाडि ल्याउने जमर्को गरिएको सुनाइन् । उनले भनिन्, ‘संगीतजस्ता कला समाजको दर्पण हो । यसले समाजकै कुरा उठान गर्ने भएकाले पक्कै पनि यो प्रभावकारी हुन्छ । यसैमा हाम्रो संस्कृतिका कुरा जोडेका छौं ।’ गीतलाई श्रोता तथा दर्शकका सामु ल्याउन झन्डै दुई वर्ष समय लागेको सुनाउँदै उनले केही अंश भए पनि समुदायको विषयलाई सशक्त रुपमा उठान गरिएकाले निकै सन्तुष्ट रहेको भाव व्यक्त गरिन् ।

घिसिङको शब्द र भावलाई गीतको भिडियोमा समावेश गरिएको मजदुरको कथाले अझै बलियो बनाएको छ । गीतका शब्दहरू सुनेपछि लोकमार्गमा काम गर्ने तामाङ समुदायको एक युवकको कथा सिर्जित भएको कवि स्याङतानले सुनाए । यसले तामाङ समुदायका समग्र मजदुरहरूको कथालाई समेट्ने उनले दाबी गरे । स्याङतानका अनुसार समुदायको गीत तथा भिडियोमा आएको मौलिक कथा सम्भवतः यो नै पहिलो हो । सडकमार्गमा अहोरात्र खटिने मजदुरहरूको कथालाई उनले यसभन्दा अघि कवितामा उठान गरिसकेका छन् । सडक मजदुरका पीडा र कथालाई प्रस्तुत गरिएको स्याङ्तानको ‘रामबहादुर मार्ग’ शीर्षकको कविता धेरैले रुचाएका पनि छन् । कवितामा कोरिएका कथा दृश्यमा पनि देखिनुपर्छ भन्ने हेतुले भिडियोको कथामा समेटिएको उनले बताए । ‘कविताको भाषामा पाएको पाठक र दृश्यमा पाउने दर्शक फरक होला तर समुदायको अर्गानिक कथा भन्ने यो मेरो कोसिस नै हो‚’ उनले भने ।

गीतमा प्रयुक्त भिडियोमा स्थानीय युवती र ज्यामी काम गर्ने युवकको प्रेमकथामा रामेछापको सुनापति गाउँपालिकाको सुन्दर तामाङ बस्ती देख्न सकिन्छ । रक्सी पारिरहेको दृश्य, टोटलाको फूल, तितेपातीको प्रयोग, समुदायमा परम्परादेखि चल्दै आएको नुन, तेल पैंचो माग्ने प्रचलनलाई समेत देखाइएको छ । गीत र कथाका माध्यमबाट समाजको ग्रामीण बस्तीमा यथावत् रहेको पक्षलाई उजागर गरी देखाउने उनीहरूको जमर्को हो । अजय स्याङतानले निर्देशन गरेको भिडियोमा कलाकारहरू बुद्धि तामाङ र निरञ्जली लामाले अभिनय गरेका छन् ।

प्रकाशित : वैशाख १४, २०७९ २०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×