कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

आर्ट काउन्सिलमा सामूहिक कला

दौडधुप, व्यस्तता, आधुनिक जीवनशैलीले युवा पुस्तामा पारेको प्रभावको छनक

काठमाडौँ — कलामा नयाँ पुस्ता जन्माउने उद्देश्यले सुरु गरिएको ‘द प्रिसियस आर्टस् समूह’ को सामूहिक कला प्रदर्शनी सुरु भएको छ । प्रिसियसको नवौं वर्ष प्रवेशको अवसरमा बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा बिहीबार प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, चित्रकार एरिना ताम्राकार, समूहको संस्थापक एवं कला प्रशिक्षक सचिनराज बज्राचार्यलगायतको सहभागितामा ‘आकृति’ शीर्षकमा कला प्रदर्शनी सुरु गरिएको हो ।

आर्ट काउन्सिलमा सामूहिक कला

प्रदर्शनीमा प्रिसियसमै चित्रकला प्रशिक्षण लिएका ९ प्रशिक्षार्थीहरूको कलाकृति प्रदर्शनमा छन् । तीन दर्शनभन्दा बढी चित्रमा प्रशिक्षार्थीले विविध माध्यममार्फत प्रकृति, धर्म, संस्कृति, समाज, विज्ञान, प्रविधि र मानवीय सौन्दर्यका पक्षहरू उठान गरेका छन् । प्रदर्शनरत कलाकृतिहरूमा अहिले दौडधुप, व्यस्त समय, आधुनिक जीवनशैली र आयामले युवापुस्तामा पारेको प्रभावको छनक देखिन्छ । महामारीबाट गुज्रेका युवापुस्ता र उनीहरूले यस समयलाई गरेको अनुभवसमेत चित्रमा इंगित भएको देखिन्छ ।

शान्ति थापाले जीवित देवी ‘कुमारी’ लाई महामारीसँग तुलना गरेर चित्रमा उतारेकी छन् । उनको चित्रमा कुमारीको मुखमा फूलले ढाकेकी छन् । उनका अनुसार कोरोना महामारीले अनिवार्य बनाएको मास्कको प्रयोगलाई फूलको बिम्ब बनाउँदै देखाइएको हो । भगवान्लाई मास्कको सट्टा फूलले ढाकेर उनले यो समयलाई सकारात्मक रूपमा लिएकी छन् । ‘आर्टले गर्दा कोरोनाकालमा समय बिताउन धेरै सजिलो भयो,’ उनले भनिन्, ‘सबैले मास्क प्रयोग गरेको देखेर कुमारीलाई मास्कका रूपमा फूल लगाइदिएँ । यसले दिमागमा पोजिटिभ कुरा ल्याइदिएको थियो ।’ सुरबी थापाले भने आफ्नो भावना र कल्पनाहरूलाई सुन्दर चित्रमा प्रस्तुत गरेकी छन् । कला सिर्जना सुरु गर्दा उनले महसुस गर्ने स्वतन्त्रता र नियालेको संसारलाई उनले प्वाँख फिजाउँदै गरेको मयूरको जोडामा चित्रण गरेकी छन् ।

प्रदर्शनीमा राखिएको कुमारीको चित्र ।

सौम्या तिमल्सिना, संप्रेशना शाही, सरोज खत्री, सञ्जना महर्जनलगायतका कलाकृतिहरूले धर्म, सम्पदासँगै अहिलेको प्रविधि, समय र युवापुस्ताका भावहरू समेट्ने जमर्को गरेको पाइन्छ । उनीहरूले चारकोल, मिस्क मिडियालगायतका माध्यमहरूमार्फत कला सिर्जना गरेका छन् । प्रदर्शनी अवलोकन गर्दै प्रतिनिधिसभा सदस्य शाक्यले प्रदर्शनीमा प्रदर्शरत कलाहरू देखेर असाध्यै खुसी र गौरवको अनुभूति भएको बताइन् । कला राष्ट्रको गहना, मान, सान, पहिचान र अमूर्त संस्कृतिको धरोहर भएकाले कला तथा कलाकारको महत्त्व संसारको जुनसुकै कुनामा पनि महत्त्वपूर्ण हुने धारणा राखिन् । उनले भनिन्, ‘कला र कलाकारिताले मानिसको मनोभाव, शब्द, भाषा सबै अभिव्यक्त गर्न सक्छ । कलाकारको सोच र भाव अन्य व्यक्तिभन्दा फरक र उच्च हुन्छ ।’

प्रकाशित : वैशाख ९, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?