क्यानभासमा महिलाका व्यथा- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यानभासमा महिलाका व्यथा

रजस्वलामा हुने विभेद मात्र नभई समाजले दिने अन्य प्रताडनालाई चित्रमा उतारिएको छ 
सुशीला तामा‌ङ

काठमाडौँ — सुदूरपश्चिममा अझै पनि महिनावारीको बेला महिलालाई छाउगोठमा राख्ने छाउपडी प्रथा यथावत् छ । शिक्षित र सहरिया घराना भनिएकाहरू कहाँसमेत आफ्नै प्रकारका छाउ घर छन् ।

भूगोल र संस्कार फरक होला तर रजस्वलालाई प्राकृतिक रूपमा स्विकार नगर्ने जमात अझै पनि कायम नै रहेको चित्रकार रुकुमनी श्रेष्ठको ठम्याइ छ । ललितपुर, लुभुको सहरी माहोलमा जन्मे हुर्किएकी उनी आफ्नो रजस्वला पीडा पनि सुदूर पश्चिमका महिलाको व्यथाभन्दा भिन्न नभएको जिकिर गर्छिन् । रजस्वलाको समयमा हुने शारीरिक पीडा त्यसमाथि धर्मका नाममा हुने सामाजिक विभेदलाई भोगेकी श्रेष्ठले यी सम्पूर्ण पीडालाई चित्रमा पोखेकी छन् ।

रजस्वलालाई मुख्य विषय बनाएर महिलाका पीडाहरू चित्रण भएका उनका प्रिन्ट इचिङ माध्यमका कलाकृति अहिले पाटनढोका चाकुपाटस्थित क्लासिक आर्ट ग्यालरीमा प्रदर्शनरत छन् । चित्रकार श्रेष्ठले पनि सुदूरका महिलाले जस्तै छाउ बारिन् । रजस्वलाको समयमा घरदेखि बाह्य परिवेशमा अलग्गै बस्नुपरेको तीतो अनुभव उनीसँग थुप्रै रहेछन् । सुदूरको छाउ र त्यहाँका महिलाको भोगाइलाई भने उनले पछि मात्र थाहा पाइन् ।

‘सुदूर पश्चिमतिरको छाउबारे हजुरआमा, आमाबाट थाहा पाउँदा सुरुमा म निकै स्तब्ध र निःशब्द भएँ,’ उनले भनिन्, ‘यहाँ हामीलाई सबै कुरा व्यवस्था भएको ठाउँमा महिनावारी हुँदा अलग्गै बस्दा गाह्रो महसुस हुन्छ भने उहाँहरूलाई एक्लै गोठमा बस्दा कस्तो भयो होला भन्ने कुराले असाध्यै दुःख लाग्यो ।’ यस्तो अमानवीय परम्परालाई समाजबाट हटाउनुपर्छ भन्ने विचार मनमा उब्जिएपछि उनले कलाको साहरा लिइन् । झन्डै आधा दशकदेखि उनले महिनावारी र महिलासँग जोडिएका अन्धविश्वासलाई कलाकै माध्यममा उठान गरिरहेकी छन् । समय, अवस्था र व्यवस्थाले परिवर्तनको छनक दिए पनि महिलासँग जोडिएका हरेक सवालहरू अझै यथास्थितिमै रहेको उनको भनाइ छ । भन्छिन्, ‘हामीले आफूलाई जति नै विकसित र शिक्षित वर्गमा राखे पनि महिनावारी भएको समयमा चार दिन भान्साभन्दा अलग्गिएर ढोकाबाहिरै बसेर खाने अवस्था अझै फेरिएको छैन । यो हाम्रो विडम्बना हो ।’ मानवअधिकारबाट वञ्चित गर्दै धर्मका नाममा महिलामाथि गरिने विभेदलाई उनी अमानवीय परम्पराको संज्ञा दिन्छिन् । श्रेष्ठले आफ्नो प्रदर्शनीलाई नै ‘विडम्बना’ शीर्षक दिएकी छन् ।

सामान्यतः हिन्दु महिलाहरू महिनावारीको समयमा पवित्र स्थानबाट टाढा रहन्छन् । ‘हाम्रो जीवनको सुरु नै यहीबाट हुन्छ । सृष्टिको सुरुवाती बिन्दुलाई नै कसरी हामी अपवित्र मान्न सक्छौं ?’ सिंगो समाजलाई उनी प्रश्न राख्छिन् । आज समग्र महिला केवल रजस्वलाका नाममा गरिने विभेद मात्र होइन समाजको गिद्धे दृष्टिबाट उत्तिकै प्रताडित बन्नुपरेको वास्तविकतालाई उनले चित्रमा उतारेकी छन् । सुन्दर फूलको रंगमा फूलेकी महिलाका प्रतिविम्बका साथ पृष्ठमूभिमा रहेका अनगिन्ती आँखाहरू, मखुन्डोधारी मानवजगत्लाई दर्साउने उनका सिर्जनाहरूले समाजमा महिलाको यथार्थ चित्रण गरेका छन् । छाउगोठमा बसिरहेकी महिलाको चित्रण उनले ‘छाउपडी’ शीर्षकमा नै उतारेकी छन् । हरियो रंग र फूलको विम्बले महिला तथा महिलाको रजस्वला प्रक्रियालाई पवित्र सिर्जनाको रूपमा उनले निकै मिहिन ढंगले केलाएकी छन् । उनको चित्रमा रजस्वलाको समयमा महिलामा हुने पीडा झल्किएका छन् । उनका कला नियाल्ने जो कोही दर्शकले अनेक आयामबाट महिला माथि भइरहेका शारीरिक तथा मानसिक हिंसालाई बोध गर्न सक्छन् ।

कला सिर्जनामा सुदूरका मात्र नभएर समग्र महिलालाई उतार्नु श्रेष्ठको कलाका विशेषता हुन् । उनले समग्र जातिभित्रका महिलालाई सांस्कृतिक पहिरनमार्फत खुट्याएकी छन् । जाति र परिवेश फरक भए पनि महिलाले भोग्नुपर्ने कतिपय बाधाहरू समान रूपमा रहेको श्रेष्ठको बुझाइ छ । उनले जोडिन्, ‘हामी लगभग उस्तै परम्परा र मान्यतामा जोडिएका छौं । महिनावारीको पीडा, समाजले महिलामाथि राख्ने दृष्टिकोणले उस्तै खालका छन् । समाज र यहाँको सोच हाम्रा लागि काँडाजस्तै छन् ।’

महिलालाई देवी, कुमारी, सुन्दर जसरी समाजले परिभाषित गरे पनि समाजबाट उनीहरू असुरक्षित महसुस गरिरहेका छन् । सामाजिक व्यवस्था र दृष्टिकोण महिलाप्रति अझै नग्न नै रहेको भन्दै उनले त्यसलाई प्रतीकात्मक रूपमा चित्रमार्फत व्यक्त गरेको बताइन् । उनको प्रदर्शनी वैशाख १४ सम्म जारी रहनेछ  ।

प्रकाशित : वैशाख ९, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्

प्रेमललवाको दुखान्त

राजनीतिक परिवर्तनले भुइँमान्छेको जीवनस्तर फेर्न नसकेकामा नाटकले उठाउँछ गम्भीर प्रश्न
सुशीला तामा‌ङ

काठमाडौँ — चुनावी माहोल उत्कर्समा छ । राजेन्द्रराज र शान्तिराजाको मत गणना जारी छ । सर्वसाधारणमा कौतुहलता उस्तै । पात्र छन् प्रेमललवा, कलुवा, ननकौउ र द्रौपदी । टेकुस्थित कौशी थिएटरमा नाटक ‘उलार’ हेर्दा दर्शक उपन्यासकै कथामा डुब्न पुगे ।

आख्यानकार नयनराज पाण्डेको चर्चित उपन्यासको नाट्य रूपान्तर मंगलबारदेखि मञ्चन सुरु भएको हो । निर्देशन चे शंकरले गरेका छन् । गार्डेन थिएटर र कथाघेराको सहकार्यमा ‘उलार’ लाई नाट्य रूपान्तरण गरिएको हो । दुई दशकअघि प्रकाशित उपन्यासमा २०४६ सालको परिवर्तनपछि देखिएको राजनीतिक चरित्र र सीमान्तकृत वर्गको भोगाइलाई नेपालगन्जको परिवेशमा बुनिएको छ ।

उपन्यासमा जसरी नै नाटकको कथा चुनावी माहोलबाट नै सुरु हुन्छ । राजेन्द्रराजको पराजयपछि राजनीतिमा शान्तिराजाको उदयले सुरु भएको प्रेमललवाको दुखान्त कथालाई नाटकले अन्त्यसम्म नै डोर्‍याएको छ । शान्तिराजाको विजय जुलुसमा बढी मानिसको लोडकै कारण टाँगा उलार भएर प्रेमललवाको घोडी वसन्तीको मृत्यु हुन्छ । घोडी मरेपछि आर्थिक संकटमा परेका प्रेमललवा सहयोग याचनाका लागि राजेन्द्रराजकहाँ पुग्छन् । उनले शान्तिराजाकहाँ जान चिठी लेखिदिन्छन् । दरबारमा पुगेका प्रेमललवालाई एक दिनको भाका राखेर बोलाउँछन् ।


पछिल्लो दिन काठमाडौं आउनू भनेर शान्तिराजा हिँडेपछि प्रेमललवाको अर्को वियोगान्त सुरु हुन्छ । आफूसँग भएको पैसा, कलुवाको दम्पतीको केही सहयोग र द्रौपदीको कानको सुन लिएर यात्रा सुरु हुन्छ । काठमाडौंमा मन्त्री भएका शान्तिराजालाई भेटेमा सहायता पाउने आशामा उनी मन्त्री क्वार्टर पुल्चोक, सिंहदरबार, बालुवाटार र पार्टी कार्यालय भौंतारिन्छन् । दुई दिन होटल, एक दिन पार्टी कार्यालय र एक दिन सडकमा रात बिताएका प्रेमललवालाई शान्तिराजाको सहायकले अन्त्यमा घोडाको क्षतिपूर्तिका लागि यातायात मन्त्रालयमा जान सुझाउँछिन् ।

त्यसपछि कोरियनपुर फर्किएका प्रेमललवा एक्लो र रित्तो हुन्छन् । उनीसँग आधा कट्ठा जमिनको लालपुर्जा थन्किएको एउटा थोत्रो टिनको बाकसबाहेक घर, टाँगा केही हुन्न । त्यही शून्यतामा उनले आफू, आफू हुनुको अस्तित्व, आफ्नो स्तर, वर्ग, पहिचान, राजनीति र राजेन्द्रराजहरूको लेखाजोखा गर्छन् । वियोगमै कलुवालाई भन्छन्, ‘मलाई अझै पनि सम्झना छ, मेरो बाप्पुले गाएको विरह गीत । सुनाएको दर्जनौं लोककथा मेरो स्मृतिबाट मधुरो भएर जाँदै छ ।’ प्रेमललवाका बाबुको बास राणाहरूले बसालेको मेनरोडमै थियो । त्यहाँबाट सरेर सुर्खेत रोड पुगे । त्यहाँबाट प्रेमललवा कोरियनपुर, हुँदै अन्त्यमा परस्पुर पुगे । उनी ८ वर्षकै हुँदा उनको बापुलाई ट्रकले किचेर मार्नु, त्यसको केही समयपछि दमकै कारण आमाको मृत्यु हुनु, राजेन्द्रराजले ट्रक मालिकबाट ८ हजार दिलाएर बैंकमा राखी १० वर्ष भएपछि उनैले टाँगा किनिदिनु, भाडामा लगाउनु, सुर्खेत रोडको घर बेचेर ३० हजार रुपैयाँ लिई घोडी र कोरियनपुरमा सानो झुप्रोसहितको आधा कट्ठा जमिन किन्नुसम्मका कथालाई नाटकमा समानान्तर रूपमै प्रस्तुत गरिएका छन् ।


एक लाख रुपैयाँमा ल्याप्चे लगाएर ३० हजार हात पारेका प्रेमललवाले कोरियनपुरको घर बेच्दा पनि ३० सै हजार लिएर परस्पुरमा नयाँ घोडा, टाँगा लिन्छन् । यसपल्ट पनि ९० हजारमा ल्याप्चे लगाएका राजेन्द्रराजहरूको राजनीतिलाई नजिकैबाट नियाल्छन् । उनी प्रश्न गर्ने हुन्छन्, ‘हामी गरिबहरू जहिल्यै पछि धकेलिइरहेका छौं, किन ? हामी गरिब भनेको मिट्टी रहेछ । जसले पनि कुल्चिएर हिँड्छ । आखिर किन ?’

नाटकमा प्रयुक्त भाषा र लवजले मधेसको भूगोल र सीमान्त समुदायलाई जीवन्त रूपमा देख्न सकिन्छ । उपन्यास पढेकोभन्दा बढी नाटकमा देख्न सकिन्छ । प्रेमललवा र द्रोपदीको प्रेम सम्बन्धलाई नाटकको अन्तिम दृश्यले अझ कसिलो बनाएर देखाएको छ । न्यारेटर कथालाई अझ प्रस्ट्याउछन् । प्रेमललवाको काठमाडौं यात्राका दृश्य र बिम्बहरू नाटकका बलिया पक्ष हुन् । उपन्यासमा थोरै समय देखाइने लेखक पात्रलाई समेत प्रेमललवाको समय र अवस्थालाई तुलना गरेर नाटकले अझ सशक्त बनाएको छ । वादी समुदायलाई प्रतिनिधित्व गर्ने द्रोपदी पात्र आफैंमा सशक्त देखिन्छिन् ।


उनीमार्फत बादी महिलाका पीडा र समाजको चरित्रलाई उदांगो देखिन्छ । चरित्र चित्रण गर्न एक दृश्यमा देखाइएको पहिरनले दर्शकमा केही संकोच उत्पन्न हुन सक्छ । नाटकमा कला, प्रतीकात्मक बिम्बका रूपमा प्रयोग गरिएका छाता, चित्र जस्ता पक्षले कथालाई अझ ओजिलो बनाउन सघाउ पुर्‍याएको छ । २००७ सालदेखि २०१७, २०३६ र २०४६ को राजनीतिक परिवर्तनका लागि लडेका एक अपांग योद्धालाई समेत नाटकले छुटाएको छैन । उनैमार्फत जनताको ढाड टेकेर चुनावी मैदानमा जित हासिल गर्नकै लागि अहिले दौडधुप गरिरहेका दलका नेताहरूप्रति दर्शकको मनमा आक्रोश पैदा हुन्छ ।

नाटकको कथालाई समकालीन समय र समाजमा प्रस्तुत गर्नलाई केही बिम्ब र कथानकलाई थपघट गरेको निर्देशक चे शंकर स्विकार्छन् । यसले कथालाई मजबुत बनाउने उनको मत छ । आख्यानकार पाण्डेले समेत नाटक हेरेपछि निकै सन्तुष्ट भएको धारणा राखे । ‘नाटकमा विभिन्न बिम्ब र भाषाहरू प्रयोग भएका छन् । ती सबै मलाई निकै राम्रो लाग्यो,’ उनले भने, ‘उपन्यासमा जस्तै मेरै भाषा मेरै लेखन भएको भए नाटकमा आउँदा सिर्जनशील पक्ष देखिने थिएन । निर्देशकले आफ्नो सिर्जनशील पक्षलाई निकै राम्रोसँग प्रयोग गर्नुभएको छ । मलाई मेरो पात्र र कथा नाटकमा आउँदा पनि एकदमै चित्त बुझ्यो ।’

वैशाख १८ सम्म मञ्चन हुने नाटकमा सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, सञ्जय गुप्तालगायतका कलाकारहरूले अभिनय गरेका छन् । नाटकमा न्यारेटरको भूमिकामा रंगकर्मी शेखर चापागाईं देखिएका छन् ।

प्रकाशित : वैशाख ८, २०७९ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×