२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दक्षिण एसिया बुझाउने आँखीझ्याल

फिल्म साउथ एसियाको १३ औं संस्करण बिहीबारदेखि, ८ देशका ७१ फिल्म देखाइँदै
रीना मोक्तान

काठमाडौँ — सर्वाधिक फिल्मको आवेदन ओइरिँदा योपटक आयोजक टिम आश्चर्यमा परेको छ । बिहीबारदेखि सुरु हुने १३ औं फिल्म साउथ एसियामा यो वर्ष अनपेक्षित रूपमा फिल्मको बाढी आएको छ । यसअघिका महोत्सवहरूमा बढीमा १ हजार ४ सय वटासम्मको आवेदन आउँथ्यो । महोत्सवले २५ औं वर्षको उत्सव मनाइरहँदा ३ हजार ५ सय फिल्मको आवेदन पर्‍यो । तिनैमध्येबाट यो वर्षको महोत्सवका लागि ८ देशका उत्कृष्ट ७१ फिल्महरू छनोटमा परेका छन् । चारदिने महोत्सवमा देखाइने डकुमेन्ट्रीमार्फत दर्शकले दक्षिण एसियालाई हेर्ने र बुझ्ने अवसर पाउनेछन् ।

दक्षिण एसिया बुझाउने आँखीझ्याल

‘काठमाडौंमा बसेर दर्शकले डकुमेन्ट्री फिल्ममार्फत दक्षिण एसियाको अवस्था बुझ्ने मौका पाउनेछन् । डकुमेन्ट्री फिल्म गैरआख्यान हो, यसले त वास्तविक कुरा देखाउँछ नि,’ ब्योजक संस्था अध्यक्ष कनकमणि दीक्षित भन्छन्, ‘श्रीलंकामा मानिस केले पिरोलिएका छन्, म्यान्मारमा केले उत्साहित बनाउँदै छ, अफगानिस्तानमा के कुराले स्खलन गरेको छ भन्ने कुरा महोत्सवमा हेरियो भने वास्तवमा दक्षिण एसियाको रूप देखिन्छ । फिचर फिल्मले त मनोरञ्जन दिन्छ । एक हदसम्म समाजको चिन्ता पनि देखाउला । तर, डकुमेन्ट्रीले वास्तविकता देखाउँछ ।’

एक गायिकाले आफ्नो समान उपस्थितिका लागि आधुनिक भारतमा गरेको संघर्षको चित्रण गर्ने ‘सटअप सोना’ प्रदर्शन गर्दै यसपटकको महोत्सव सुरु हुने तालिका छ । मिडियामा महिलामाथिका हिंसाको चित्रण कसरी गरिन्छ भन्ने डकुमेन्ट्री फिल्म साउथ एसियाले नै निर्माण गरेको छ । ‘एक बलात्कारपीडित महिलालाई सधैं कहालीलाग्दो हिसाबले हातले मुख छोपेको देखाउँदै चित्रण गरिरहेको हुन्छ । बलात्कारको मुद्दामा त पीडित झनै पीडित बनाइनु हुँदैन नि,’ दीक्षित भन्छन्, ‘त्यसमा कता–कता मिडियाको पनि कमजोरी छ भनेर हामीले फिल्म बनाएका छौं ।’ महोत्सवमा यौनिक तथा अल्पसंख्यकदेखि संस्कृति, राजनीति, बसाइँसराइसम्मका विविध विषयका डकुमेन्ट्री समेटिएका छन् ।

महोत्सवले दक्षिण एसियाभरिका फिल्महरूलाई २५ वर्षदेखि जोड्दै आएको छ । २/२ वर्षको अन्तरालमा आयोजना हुँदै आएको महोत्सवको सन् २०१९ को संस्करण कोरोना महामारीका कारण स्थगित भएको थियो । यसपटक भने महोत्सवको ‘लाइभ स्ट्रिमिङ’ पनि हुँदै छ । झापाका दर्शकले पनि भर्चुअली काठमाडौंकै दर्शकसँगै एकैपटक डकुमेन्ट्री हेर्न पाउने दीक्षितको भनाइ छ । ‘फिल्म साउथ एसिया आफैंले दक्षिण एसियाभरिका प्रस्तुति नियालेर, केलाएर राम्रा फिल्महरू ल्याउने गरेको छ,’ उनले सुनाए, ‘३ वर्षमा हामीले जति फिल्म बटुलेका छौं, ती संसारभरका राम्रा डकुमेन्ट्री फिल्महरू हुन् । डकुमेन्ट्री फिल्मले गहिराइमा पुगेर विषयलाई पस्किरहेको हुन्छ ।’

कोभिडपछि जनजीवन फेरि सामान्य दैनिकीमा फर्किंदै गरेको अवस्थामा यस्ता महोत्सवहरूले अन्य देशका आगन्तुकलाई भित्र्याउनमा मद्दत पुर्‍याउने दीक्षित बताउँछन् । ‘यहाँ अन्यत्र देशबाट आफैं खर्च गरेर फिल्मकर्मीहरू महोत्सवमा सहभागी हुन आउँछन् । दक्षिण एसियाबाट नेपालमा आउन सजिलै भिसा प्राप्त गर्न सकिन्छ । हामीले त नेपालमा विभिन्न महोत्सवहरू गर्नुपर्छ । सभाहरू गर्नुपर्छ । यसको उदाहरण पनि यो महोत्सव हो,’ उनले भने, ‘यस्ता सभामा अन्य देशका आगन्तुकलाई नेपाल भित्र्याउने नमुना हो हाम्रो महोत्सव ।’

आयोजक संस्था निर्देशक मिनु बर्माले दक्षिण एसियाको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक जगत्को चिनारी गराउने आँखीझ्यालका रूपमा यो महोत्सव रहेको बताइन् । कोभिड महामारीपछि ब्युँतेको समाजमा यस पटकको फिल्मी छटामा बढी स्वास्थ्य सरोकारका विषय रहेको उनले खुलाइन् ।

२५ वर्ष सुरु भएको यात्रा

‘हिमाल साउथ एसियन’ म्यागजिनको सम्पादन मण्डलमा थिए दीक्षित र उनको टिम । गम्भीर पत्रकारिता गर्ने भन्ने सोचसहित सुरु भएको थियो म्यागजिन । दौतरी संस्था थियो, डकुमेन्ट्री फिल्म मेकिङ । स्वभावैले डकुमेन्ट्री फिल्मकर्मीसँग आत्मीयता बढ्ने भयो । एक दिन सम्पादन मण्डललाई सुझाव आयो– ‘डकुमेन्ट्री मेकिङसँग नजिक भएकाहरूले त डकुमेन्ट्रीसम्बन्धी फिल्म महोत्सव गरे भइहाल्यो नि ।’ त्यही सुझावले सन् १९९७ मा ‘फिल्म साउथ एसिया’ सुरुवात भयो । ‘काठमाडौं, वास्तवमा दक्षिण एसियाको राजधानी हो । काठमाडौंमा केही कुरा गर्‍यो भने हामी नेपालीलाई त उपहार नै हुन्छ । अन्त जानुपरेन सबै हामीकहाँ आइदिन्छ । यो महोत्सव कलकाताका मानिसले कसरी हेर्ने भनिरहेका हुन्छन् । तर, नेपालीका लागि त हामी सिधै उपलब्ध छौं । यो महोत्सव हामी नेपालीको लागि गरेका हौं । अर्को त दक्षिण एसियाको लागि पनि गरेका हौं,’ दीक्षितले सुरुवाती दिन सम्झँदै भने, ‘हामी छापा माध्यमका पत्रकार मिलेर किन डकुमेन्ट्री फिल्म फेस्टिभल नगर्ने त भन्ने भयो । कुनै पनि कुरा नेपालमा गर्दा अरूलाई पनि उदाहरण मिल्नेछ भन्ने सोचेर महोत्सव सुरु गर्‍यौं ।’

महोत्सव आयोजना गरेसँगै डकुमेन्ट्री फिल्ममेकरहरूले प्लेटफर्म पाए । २५ औं वर्ष मनाइरहँदा यो महोत्सव दक्षिण एसियाकै मुख्य फिल्म फेस्टिभलमा पर्ने गरेको दाबी गर्छन् दीक्षित ।

यसबीच प्रविधिमा धेरै परिवर्तन आयो । महोत्सव सुरु गर्दा सेलुलोइड रिलमा डकुमेन्ट्री खिचिन्थ्यो । अहिले फिल्म देखाउने र बनाउने प्रविधिमै कायापलट भएको छ । प्रविधिले डकुमेन्ट्री फिल्म बनाउन अझ सजिलो गराइदिएको छ । ‘अब त उच्च क्वालिटीमा डकुमेन्ट्री फिल्म बन्नुपर्ने हो नि त । तर, अझै त्यो भइसकेको छैन,’ उनले समीक्षात्मक हुँदै भने, ‘अहिले ह्यान्डीक्याम, मोबाइलको क्यामराले पनि डकुमेन्ट्री फिल्म बनाउन सकिन्छ । तर, जति मात्रामा फिल्महरू बन्नुपर्ने हो बनेका छैनन् ।’

दक्षिण एसिया केन्द्रित वृत्तचित्रको प्रवर्द्धन र संरक्षणमा पुर्‍याएको योगदानलाई महोत्सवको महत्त्वपूर्ण उपलब्धिका रूपमा अर्थ्याउँछन् दीक्षित । ‘मनोरञ्जन (आख्यान फिल्म) को दुनियाँमा केन्द्रित दक्षिण एसियालाई डकुमेन्ट्री फिल्म मेकिङको महत्त्व बुझेर यस्ता फिल्म जोगाइराख्न यो महोत्सवले भूमिका खेलेको छ । नेपालमा बसेर हामीले त्यो काम गर्‍यौं । यो नेपालमै सुरु भएको महोत्सव हो,’ उनले भने, ‘यो महोत्सव काठमाडौंमा बसेर दक्षिण एसियामा भएका डकुमेन्ट्री फिल्ममेकरलाई उत्साह बाँड्ने ठाउँ बनेको छ ।’

प्रकाशित : वैशाख ८, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?