भ्रष्टाचारविरुद्ध कार्टुन कला- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्रष्टाचारविरुद्ध कार्टुन कला

राजनीतिदेखि शिक्षा, स्वास्थ्य, यातायातलगायत क्षेत्रमा मौलाएको भ्रष्टाचारलाई कटाक्ष
सुशीला तामा‌ङ

काठमाडौँ — कार्टुनिस्ट क्लब अफ नेपालले ‘निसाना’ शीर्षकमा कार्टुनकला प्रदर्शनी गरेको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा राजनीतिदेखि शिक्षा, स्वास्थ्य, यातायातलगायत क्षेत्रमा मौलाएको भ्रष्टाचार र अनियमिततालाई मूल विषय बनाइएको छ । कार्टुनहरूले मूलतः राजनीतिक विषयलाई केन्द्रमा राखेर यसभित्र भइरहेको विकृति विसंगतिलाई व्यंग्य गरेको छ । कोरोना महामारीका समयमा स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताबारे कार्टुन कलाहरूले बोलेका छन् । 


कार्टुनिस्टहरू दुर्गा बराल, अविन श्रेष्ठ, रविन सायमी, रवि मिश्र, अक्रिन अधिकारी, रवीन्द्र मानन्धर, देवेन्द्र थुम्केली, केशवराज खनाल, सुदर्शन सिग्देललगायतका दुई दर्जनभन्दा बढी कार्टुनिस्टहरूले भ्रष्टाचारलाई कलात्मक रूपमा देखाएका छन् । विशेष गरी चित्रकलाको फाँटमा चिनिएका सुषमा राजभण्डारी, जीवन राजोपाध्याय, कृष्णगोपाल श्रेष्ठलगायतकाले समेत कार्टुन कलामार्फत अहिलेको भ्रष्टाचारजस्तो विसंगतिलाई केलाउने जमर्को गरेका छन् ।

राजभण्डारीले मुलुकमा तस्कर, दलाल, माफिया, बिचौलिया, भ्रष्टाचारीका कारण भइरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ भन्ने भावलाई प्रस्तुत गर्ने कार्टुन कला बनाएकी छन् । त्यस्तै मानन्धरले राजनीतिक दलका नेताहरूले सत्ताको बागडोर सम्हाल्नुअघि लिइने शपथग्रहणलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरेका छन् । तीव्र रूपमा बढेको भ्रष्टाचारलाई नियन्त्रण गर्ने संयन्त्र राज्यका नरहेको पक्षलाई समेत उनले कार्टुनमा देखाएका छन् । सिग्देलले सामुदायिक विद्यालयमा विद्यार्थीलाई दिइने दिवा खाजामा समेत भइरहेको अनियमिततालाई ‘खाजा’ शीर्षक राखेर कार्टुन तयार गरेका छन् ।

प्रदर्शनी उद्घाटन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको स्विकार्दै खबरदारी गर्ने खालका कार्टुनहरू जरुरी रहेको भनाइ राखे । ‘भ्रष्टाचारविरुद्ध निसाना बनाएर सातै प्रदेशमा अभियानका रूपमा लैजाने संकल्प गर्नुभएको छ,’ उनले भने ।

प्रकाशित : वैशाख ६, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

बन्दरगाहमा निजी क्षेत्रले ल्याएनन् कन्टेनर

सुक्खा बन्दरगाह उद्घाटन भएको दुई सातासम्म व्यवसायीले देखाएनन् चासो 
राजु चौधरी

काठमाडौँ — दुई साताअघि तामाझामसाथ उद्घाटन भएको चोभार सुक्खा बन्दरगाह अहिले सुनसानप्रायः छ । जाँचपासका लागि मालवाहक कन्टेनर छैनन् । नेपाल इन्टरमोडल यातायात विकास समिति, चोभारमा रहेका भन्सार कार्यालय र बैंक कर्मचारी मालबाहक कन्टेनरको पर्खाइमा छन् । तर बन्दरगाहमा अहिलेसम्म निजी क्षेत्र आएको छैन । ‘उद्घाटनका दिन ४ वटा कन्टेनर आए, त्यसपछि एउटा पनि कन्टेनर आएका छैनन् । 


नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनलाई मौखिक रूपमा भनेका छौं,’ समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘चोभार भन्सार कार्यालयबाट पनि पहल भइरहेको छ ।’ बन्दरगाह नबन्दा निजी क्षेत्रले छिटो बनाउनुपर्ने दबाब दिँदै आएको थियो ।

‘निजी क्षेत्रको व्यापार सहजीकरण गर्नु बन्दरगाहको उद्देश्य हो । राज्यको काम व्यवसायमैत्री वातावरण बनाउने र बन्दरगाह निर्माण गरिदिने हो । अब निजी क्षेत्र पनि आउनुपर्‍यो,’ उनले भने, ‘केही सुविधा थप्नुपरे तयार छौं । सहजीकरणका लागि भन्सार कार्यालय पनि छ ।’ बन्दरगाह निर्माण सकिएको करिब १० महिनापछि चैत २२ मा बन्दरगाहको औपचारिक उद्घाटन भएको हो । वीरगन्जबाट आएका चार मालबाहक कन्टेनर प्रवेश गराएर प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको सुरुवात गरेका थिए ।

वीरगन्जलगायत भन्सारका नाममा खोलिएको एलसी चोभारका लागि संशोधन गर्नुपर्दा व्यवसायी उत्सुक नदेखिएको चोभार भन्सार कार्यालय प्रमुख धनबहादुर गरवालको बुझाइ छ । ‘व्यवसायीहरूले वीरगन्ज, भैरहवा भन्सारका लागि एलसी खोलेका छन् । त्यही भएर तत्काल आकर्षण देखिएन,’ गरवालले भने, ‘धेरैजसो व्यवसायीले भन्सार एजेन्ट राखेका हुन्छन् । एजेन्टले पनि दुई जनासम्म प्रतिनिधि नियुक्त गर्न पाउछन् । एउटा भन्सार र व्यापारीको काम गरिरहेको एजेन्ट प्रतिनिधि अर्कोमा जान त्यति चाहँदैनन् पनि ।’

बन्दरगाहमा मालबाहक सवारीका लागि पार्किङ स्लट, स्टोर र वितरण सेन्टर अझै पूर्ण रूपमा बनिनसकेको निजी क्षेत्रको भनाइ छ । अन्य नाकाबाट आउँदा कन्टेनरको लक बिग्रिएको अवस्थामा र मालबाहक ट्रक तोकेकै समयमै आइनपुग्दा २०० प्रतिशत भन्सार तिर्नुपर्ने प्रावधान छ । ‘कुनै चालकले बदमासी गरेर लक बिगारे ट्रकमा भएका वस्तुको २ सय प्रतिशत भन्सार तिर्नुपर्छ । त्यो जोखिम उठाउन व्यवसायी तयार छैनन्,’ नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका एक उच्च अधिकारीले भने, ‘बिमाको पनि समस्या छ ।’ सिपिङ कन्टेनर काठमाडौँ ल्याउँदा कन्टेनरमा समस्या भए बिमाको सुविधा पनि नरहेको ती अधिकारी बताउँछन् । ‘कन्टेनर दुर्घटना भए कसले जिम्मा लिने ?’ उनले भने, ‘त्यही भएर पनि समस्या भयो ।’

५ सय कन्टेनर तथा ५ सय ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्र, भान्सार, क्वारेन्टिन, सुरक्षा र अपरेटर कम्पनी बन्दरगाहमा रहेको समितिको दाबी छ । बैंकलगायत अन्य संरचनाका लागि तीन भवन, तीन गोदाम, तीन एप्राइजल सेड, स्टफिङ/डिस्टफिङ सेड, तीन धर्मकाँटा, विद्युतीय सबस्टेसन, बाउन्ड्री लाइटलगायत पूर्वाधार निर्माण गरिएको छ । २६० रोपनी क्षेत्रफलमा निर्मित बन्दरगाहको लागत १ अर्ब ५४ करोड हो । बन्दरगाहमा ३५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्र, कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली लगायत सुविधा छ । ‘भैरहवा, वीरगन्ज भन्सार कार्यालयहरूमा मालवाहक सवारीको लाइन बस्नुपर्ने अवस्था छ । चोभार भन्सार कार्यालयमा भने वीरगन्जकै शुल्क रहेकाले उपत्यका भन्सारमा स्वागत गर्न आतुर छौं,’ निर्देशक गजुरेलले भने, ‘केही गुनासो भए सहजीकरण गर्न तयार छौं ।’

चोभार बन्दरगाहको सम्भावना भएकाले विस्तारै चल्ने महासंघ अध्यक्ष शेखर गोल्छा बताउँछन् । चोभार बन्दरगाह ठूलासँगै साना निर्यातकर्ता, हस्तकला एवं पस्मिनाका लागि उपयुक्त भएको उनको भनाइ छ । ‘साना व्यवसायीले प्याकिङ गरेर सीधै निर्यात गर्न सक्छन् । बन्दरगाहमा निजी क्षेत्रको पूर्ण सहयोग छ,’ उनले भने, ‘बन्दरगाह एकै दिनमा चल्ने कुरा पनि होइन । पूर्ण रूपमा सञ्चालन हुन समय लाग्छ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि निजी क्षेत्रबाट सहयोग भएको दाबी गरे । मुलुकमा हुने कुल आयात निर्यात व्यापारको करिब ५० प्रतिशत काठमाडौंबाटै हुने भएकाले चोभार बन्दरगाह उपलब्धिमूलक भएको उनको भनाइ छ । उपत्यकामा पस्मिना, कार्पेटलगायतको सम्भावना छ, आआफ्ना सामानको ब्रान्डिङ गरेर चोभारबाटै निर्यात गर्न सकिने उनले जानकारी दिए ।

प्रकाशित : वैशाख ६, २०७९ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×