१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भ्रष्टाचारविरुद्ध कार्टुन कला

सुशीला तामा‌ङ

काठमाडौँ — भ्रष्टाचारविरुद्ध कार्टुनिस्ट क्लब अफ नेपालले ‘निसाना’ शीर्षकमा कार्टुनकला प्रदर्शनी सुरु गरेको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी तीनदिने प्रदर्शनीमा राजनीतिदेखि शिक्षा, स्वास्थ्य, यातायातलगायत क्षेत्रमा मौलाएको भ्रष्टाचार र अनियमिततालाई मूल विषय बनाइएको छ ।

भ्रष्टाचारविरुद्ध कार्टुन कला

कार्टुनहरूले मूलतः राजनीति विषयलाई केन्द्रमा राखेर यसभित्र भइरहेको विकृति र विसंगतिलाई व्यंग्यमार्फत प्रस्तुत गरेको छ । कोरोना महामारीका समयमा स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताबारे कार्टुन कलाहरूले बोलेका छन् ।

कार्टुनिस्टहरू दुर्गा बराल, अविन श्रेष्ठ, रविन सायमी, रवि मिश्र, अक्रिन अधिकारी, रवीन्द्र मानन्धर, देवेन्द्र थुम्केली, केशवराज खनाल, सुदर्शन सिग्देललगायतका दुई दर्जनभन्दा बढी कार्टुनिस्टहरूले भ्रष्टाचारलाई कलात्मक रूपमा देखाएका छन् । विशेष गरी चित्रकलाको फाँटमा चिनिएका सुषमा राजभण्डारी, जीवन राजोपाध्याय, कृष्णगोपाल श्रेष्ठलगायतकाले समेत कार्टुन कलामार्फत अहिलेको भ्रष्टाचार जस्तो विसंगतिलाई केलाउने जमर्को गरेका छन् ।


राजभण्डारीले मुलुकमा तस्कर, दलाल, माफिया, बिचौलिया, भ्रष्टाचारीका कारण भइरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ भन्ने भावलाई प्रस्तुत गर्ने कार्टुन कला बनाएकी छन् । त्यस्तै मानन्धरले राजनीतिक दलका नेताहरूले सत्ताको बागडोर सम्हाल्नुअघि लिइने शपथग्रहणलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरेका छन् । तीव्र रूपमा बढेको भ्रष्टाचारलाई नियन्त्रण गर्ने संयन्त्र राज्यका नरहेको पक्षलाई समेत उनले कार्टुनमा देखाएका छन् । सिग्देलले सामुदायिक विद्यालयमा विद्यार्थीलाई दिइने दिवा खाजामा समेत भइरहेको अनियमिततालाई ‘खाजा’ शीर्षक राखेर कार्टुन तयार गरेका छन् ।

प्रदर्शनी उद्घाटन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको स्विकार्दै खबरदारी गर्ने खालका कार्टुनहरू जरुरी रहेको भनाइ राखे । ‘भ्रष्टाचारविरुद्ध निसाना बनाएर सातै प्रदेशमा अभियानका रूपमा लैजाने संकल्प गर्नुभएको छ,’ उनले भने ।


प्रकाशित : वैशाख ४, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?