रंगमञ्चमा ‘पल्पसा क्याफे’ र ‘उलार’- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रंगमञ्चमा ‘पल्पसा क्याफे’ र ‘उलार’

साहित्यिक कृतिमाथि नाटक देखाउने जमर्को ठूलो चुनौती हो, त्यसमाथि कथा र पात्र बुझेका पाठकको मन खिच्ने प्रस्तुति दिनु सजिलो छैन
सुशीला तामा‌ङ

काठमाडौँ — ललितपुर थसिखेलस्थित थिएटर भिलेजमा यतिबेला नाटक ‘पल्पसा क्याफे’ रिहर्सलमा रंगकर्मीहरूको समूह अभ्यासरत छन् । मञ्चनको दिन नजिकिँदै गर्दा समूहको अभिनय अभ्यास र व्यवस्थापन नियमित छ । वैशाख ९ बाट थापागाउँस्थित मण्डला थिएटरमा नाटकको नियमित मञ्चन हुँदै छ । कोराना महामारीका कारण अघिल्लो वर्ष मञ्चन रोकिएकाले समूहले कलाकारसमेत हेरफेर गरी पुनः रिहर्सल सुरु गरेको हो । १० वर्षे सशस्त्र द्वन्द्वको समयलाई केन्द्रित गरेर एक चित्रकारको कथालाई प्रस्तुत गर्ने नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’ लाई नाटकका रूपमा ल्याउने तयारी भएकाले समूह अझ उत्साहित छ ।

उपन्यासलाई नाट्य रूपान्तरण सुरज सुवेदीले गरेका हुन् भने निर्देशन विमल सुवेदीको छ । महामारीको लामो प्रभाव त्यसमाथि चर्चित उपन्यास भएकाले समूहले आफ्नो प्रयासलाई निकै चुनौतीका रूपमा लिएका छन् । निर्देशक सुवेदीका अनुसार समूहले नाटक तयारीका लागि अहिले चौथो पटक रिहर्सल गर्दै छ । ‘हामीले द्वन्द्वको कथालाई नाटकमा उतारिरहेका छौं । कोरोनाले गर्दा मञ्चनका लागि पनि युद्ध नै लडेको जस्तो भयो,’ उनले भने । यही नाटकमार्फत सुवेदी झन्डै एक दशकपछि अभिनयमा समेत फर्कंदै छन् । ‘पल्पसा क्याफे’ मार्फत आम दशर्कका सामु आउन सहज नभएको उनको भनाइ छ । उपन्यासको मूल कथा, समय र परिवेशलाई अहिलेको नाटकका रूपमा पस्कनु आफ्नो लागि अवसर र चुनौती दुवै रहेको उनले सुनाए ।

हुन त साहियिक कृतिहरूमाथि नाटक बनेको यो पहिलो नाटक भने होइन । नेपाली रंगमञ्चमा विदेशी तथा स्वदेश स्रष्टाहरूबाट सिर्जना भएका कृतिहरूमा थुप्रै नाटकहरू बनेका छन् । हालै मात्र कीर्तिपुरस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चले पारिजातको उपन्यास ‘शिरीषको फूल’ लाई नाटकका रूपमा मञ्चन गर्‍यो । अञ्जान प्रदीपले निर्देशन गरेको नाटकलाई दर्शकले रुचाए पनि । त्यस्तै आख्यानकार नयनराज पाण्डेको उपन्यास ‘उलार’ लाई पनि दर्शकले अब नाटकका रूपमा हेर्न पाउने भएका छन् । रंगकर्मी चे शंकरको निर्देशनमा मञ्चन हुन लागेको नाटक टेकुस्थित कौशी थिएटरमा वैशाख ६ देखि नियमित मञ्चनमा आउँदै छ । कौशीमा अहिले ‘उलार’ समूहको रिहर्सल चलिरहेको छ । बजारमा आएर पाठकको मनमा बसिसकेको कृतिहरूलाई नाटकको रूप दिन असाध्यै सजग बन्नुपर्ने ‘पल्पसा क्याफे’ लाई नाट्य रूपान्तरण गरेका सुरज सुवेदीको अनुभव छ । ‘उपन्यासको पात्र, उसको हाउभाउ सबै कुरा पाठकले थाहा पाइसकेको हुन्छ । नाटकको दृश्यमा त्यही कुरालाई स्थापित गर्न अझ बढी जिम्मेवारी हुने रहेछ,’ उनले भने । मुख्य कथा र घटनालाई दृश्यमा साक्षात्कार गरेर दर्शकलाई पात्रसँग भेट गराउन सक्नु नै मुख्य जिम्मेवारी रहने उनको धारणा छ । उनी थप्छन्, ‘उपन्यासको कथा तथा पात्र पहिले नै हुने भएकाले नाटकमा यसका लागि सोचिरहनु पर्दैन । योचाहिँ अलि फाइदा नै हुन्छ ।’

साहित्यिक कृतिहरू नाटकका रूपमा मञ्चन हुनु सकारात्मक रूपमा लिन्छन् पत्रकार तथा लेखक वाग्ले । ‘पल्पसा क्याफे’ लाई नाटकका रूपमा हेर्न उनी आतुर छन् । ‘उपन्यासमा हुँदा त्यसमा लेखकको अवधारणा हुन्छ भने नाटकमा अर्कै तहबाट व्याख्या, विश्लेषण हुन सक्छ,’ उनले भने, ‘पल्पसा क्याफेलाई पनि मैले उहाँहरूकै जिम्मामा छोडेको छु । राम्रो र रमाइलो नै होला भन्ने सोचेको छु ।’

नेपाली सिर्जनाहरूमाथि नाटक बन्नाले अपनतत्वको भावना सिर्जना हुने ‘पल्पसा क्याफे’ लाई सहनिर्देशन गरिरहेका दिलीप राणाभाट सुनाउँछन् । उनका अनुसार कृतिको मूल कथा र मौलिक कुरालाई ओझेल नपारी नाटकका रूपमा प्रस्तुत गर्ने हो भने यसलाई निकै सकारात्मक रूपमा लिनुपर्छ ।

सामाजिक विषयवस्तु र कथामार्फत समाजलाई प्रभाव पारेका साहित्यिक कृतिहरूलाई नाटकका रूपमा प्रस्तुत गर्दा त्यसमा नाटकको भाषासमेत समेटिने भएकाले अझ प्रभावकारी हुने उपन्यास ‘उलार’ लाई रंगमञ्चमा ल्याउने तयारी गरिरहेका निर्देशक तथा परिकल्पनाकार शंकरको बुझाइ छ । कृतिमा पाठकले पाएको भाषा, छापलाई नाटकको न्यारेसन अझ शक्तिशाली हुने उनले जिकिर गरे । यसलाई उनी चुनौतीभन्दा पनि नयाँ प्रयोगका रूपमा लिन्छन् । ‘समय सापेक्ष नाटकमा प्रस्तुत गर्दा आउने दृश्य, प्रस्तुतिमा अझ अर्को तहको परिकल्पना तथा स्वतन्त्रता रहन्छ । यसले समाज, मानव सभ्यता, हाम्रो धारणाहरूमा अझ प्रभाव पार्छ ।’

उपन्यासमा पाठकले बनाएको चित्रअनुसार नाटक बुझाउन बिम्बात्मक तथा कलात्मक बनाउन सिर्जनात्मक पक्षको बढी प्रयोग हुने भएकाले लेखकले केही पक्षमा सम्झौता गर्नुपर्ने पाण्डेको भनाइ छ । उनले जोडे, ‘एक डेढ घण्टामा उपन्यासलाई नाटकमा देखाउनुपर्ने हुन्छ । दृश्यलाई फेरि सच्याउन पनि मिल्दैन । पात्रअनुसार परिवेश, पहिरन सबै कुरा निर्माण भइसकेकाले पाठकको अपेक्षा पूरा गर्न कलात्मक प्रयोग हुन सक्छ । यसमा हामीले सम्झौता गर्नुपर्ने हुन्छ ।’ यद्यपि रंगमञ्चका लागि नयाँ नाटकहरू लेखिनुपर्ने उनको मत छ । रंगमञ्चमा केही नौलो गरौं भन्ने रंगकर्मीहरूको हुटहुटी छ । यसको लेखन, विकास र विस्तारका लागि अझै बलियो आधार नबनिसकेकाले साहित्यिक कृतिमाथि नाटक गर्छु भनी आँट गर्नेहरूप्रति उनको समर्थन छ । बढ्दै गइरहेको नाटकघर, नाट्यकर्मीहरूको रंगमञ्चप्रतिको प्रेम, भोकलाई टार्न कृतिलाई नाटकका रूपमा पस्कने अभ्यासलाई वाग्ले पनि समर्थनकै रूपमा लिन्छन् ।

चलेको कृतिमाथि नाटक बनाउनु निर्देशकको ठूलो परीक्षाका रूपमा लिन्छन् प्राध्यापक अभि सुवेदी । उनका अनुसार जसले कृतिलाई नाटकका रूपमा लैजाँदै छन्, उसले कृतिको कथा, पात्र मात्र नभएर नाटकको मर्म र प्रविधिलाई समेत आत्मसात् गर्न सक्नुपर्छ । उनले भने, ‘निर्देशकले उपन्यासमा भएको मूल कथा, पात्र तथा द्वन्द्वलाई खोजेर दर्शकलाई भेराइटी दिन सक्षम हुनुपर्छ । दृश्य देखाएर वा जोरजार पारेर मात्र कृतिले नाटकको रूप लिन सक्दैन ।’ रंगमञ्चको विकास र निरन्तरताका लागि युवा पुस्ताका प्रयासलाई भने उनले सकारात्मक ठान्छन् ।

प्रकाशित : वैशाख १, २०७९ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

द्वन्द्वका घाउमाथि प्रश्न

सुशीला तामा‌ङ

काठमाडौँ — ‘मेरो कोख जहाँ अनगिन्ती परिवर्तनको आसमा समाहित भएका मेरा सन्तानहरू आज प्रश्न गर्दै छन् । एउटा विडम्बनाको कथा, मेरो कथा, तपाईंहरूको कथा ।’ पृष्ठभूमिमा बजेको मलिन र भावुक धुनसँगै मञ्चमा देखिन्छ दयाको परिवार । १० वर्षे सशस्त्र संघर्षको समयमा युद्धको मारमा परेकामध्ये प्रतिनिधित्व गर्ने एक हुन् दयाको परिवार । जसले सशस्त्र संघर्षलाई नजिकबाट नियाल्यो, मारलाई खेप्यो र आफैंलाई युद्धको महायज्ञमा समाहित गर्‍यो । एउटा सामान्य परिवार, जसले बेहोरेको पीडा, भोगाइ कस्ता थिए भन्ने बताउन नाटक ‘खत’ प्रस्तुत भएको छ ।

मुलुकमा १० वर्षसम्म सशस्त्र संघर्ष चल्यो । धेरैको ज्यान गयो । धेरै जना घाइते, अंगभंग र बेपत्ता भए । परिवर्तनका लागि लडेकाहरूको मूल्यांकन के भयो भन्नेमा स्रष्टाहरूले प्रश्न उठाउने गरेका छन् । ‘खत’ ले पनि त्यसलाई देखाएको छ ।

सिनामंगलस्थित पुरानो घर थिएटरमा शुक्रबारदेखि मञ्चन सुरु भएको नाटकमा तत्कालीन द्वन्द्वको दुरुस्तै झल्को दिने जमर्को देखिन्छ । रंगकर्मी सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार नाटकमा परिवर्तनको आशामा लडेका मानिसहरूको कथा, व्यथा र सपनाहरू समेटिएका छन् ।

नाटकमा राज्य तथा विद्रोही पक्षका फौज छन् । एकअर्कामाथि जित खोज्छन् । दुवैतर्फ आआफ्नै प्रकारका दायित्व, बाध्यता र रुचि छन् । भर्खरै विवाह भएका, बाबुको मृत्युमा घर जान नपाएका पात्रका समस्या एकातिर छन् । अर्कोतिर दलनमा पिल्सिएकाहरूले मुक्तिका लागि उठाएको आवाज छ ।

अन्तरजातीय विवाह गरेकै कारण दया र उनकी श्रीमती परिवार, समाजभन्दा टाढा छन् । सत्ता परिवर्तनपछि उनी जस्ता जनताले न्यायपूर्ण बाँच्न पाउलान् भन्ने आशा राखेर दया दम्पतीले विद्रोहीका लडाकुलाई आश्रय र खानाको बन्दोबस्त गर्छन् । गर्भवती श्रीमतीको चिन्तासँगै दयाले दुवैतर्फका फौजको त्रासलाई झेलेका हुन्छन् । त्रासका कारण नवजात शिशुलाई बोकेर घरै छोडेर एक्ला–एक्लै हिँड्नुपर्ने बाध्यता बोकेका यी दम्पतीको अवस्थाले नाटकका दर्शकलाई भावुक बनाउँछ । युद्धको चपेटामा परेका दम्पतीले के पाउँछन् र के गुमाउँछन् भन्ने नाटकमा निकै गहन छ ।

कमरेड अडिग, विस्फोट, दीप, शिखा, प्रभालगायतका पात्रले सशस्त्र द्वन्द्वका लडाकुका हुलियाको ठ्याक्कै झल्को दिन्छ । रंगकर्मी भारती भन्छन्, ‘नाटकले अधुरो सपना बोकेको मानिस र समयलाई प्रतिबिम्बित गरेको छ ।’

प्रकाशित : चैत्र २८, २०७८ ०८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×