कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नाटकको कथा खोज्दै सप्तकोसी छेउछाउ

पर्वत पोर्तेल

कोसीटप्पु, सुनसरी — काठमाडौंको शिल्पी थिएटरका रंगकर्मी माघे संक्रान्तिको साँझ कोसी ब्यारेज नजिक ओर्लिए । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्रको एक होटलमा बास बसे । भोलिपल्ट बिहानै चतरा आसपासबाट डुंगा चढेर सप्तकोसीको पहिलो भंगालो तरे । झन्डै एक घन्टा बालुवामा हिँडेपछि कोसीको अर्को भंगालो तर्दै श्रीलंका टापु पुगे । नदी किनारमा बसेका मान्छेसँग भलाकुसारी गरे । सुख–दु:ख साटासाट गरेर फर्किए ।

नाटकको कथा खोज्दै सप्तकोसी छेउछाउ

नदी आसपासको जनजीवन हेरे, बुझे । कोसीमा आश्रित माझी परिवारसँग कुरा गरे । कोसी किनारपूर्वको मधुवन बजार गए । गाउँले र जनप्रतिनिधिका कुरा सुने । कोसी पारी सप्तरीको कञ्चनरुप नगर पनि पुगे, जहाँ मलर सदाले भोककै कारण ज्यान गुमाएका थिए । जंगली जनावारका कारण प्रताडित किसानका समस्यासँगै सेनाबाट भोग्दै आएको सास्ती सुने ।

खासमा शिल्पीको नाट्य टोली कथा खोज्दै र पात्र पहिल्याउँदै सप्तकोसी छेउछाउ पुगेको थियो । नाटक बनाउँदा भुक्तभोगीहरुलाई नभेटिकन, त्यो जीवन नबुझीकन, अनुसन्धाताहरुको कुरा नसुनिकन नाटक बनाउन सकिँदैन भन्ने मान्यता शिल्पीका कलाकारहरुको छ । त्यही मान्यताले रंगकर्मीहरुले सप्तकोसीको छेउछाउमा बिताए तीन दिन । जहाँ नदी आसपासको जनजीवनसँगै पर्यावरण, चराचर जगतलाई पनि नजिकवाट नियाले । स्थानीय चक्र तिम्सिनाले चराबारे जानकारी दिए । अभियन्ता भोला पासवानले नदी किनारको जनजीवनबारे भोगाइ सुनाए । लेखक भाष्कर शर्मा र राकेश मिश्राले पनि नदीबारे आफूले जानेका ज्ञान साटे ।

‘विषयको गहिराइ बुझन र नाटकको कथा बुन्नका लागि प्रक्रिया जरुरी हुन्छ, यसले आत्मविश्वाससँगै ज्ञान पनि दिन्छ । यही सिलसिलामा यता आएका हौं’, शिल्पीका नाट्य निर्देशक घिमिरे युवराजले सुनाए, ‘अब काठमाडौं बसेर अखबारका पाना पल्टाएर मात्रै नाटक बनाइनु हुँदैन भन्ने हामीलाई लाग्न थालेको छ ।’

शिल्पीले अघिल्लो नाटक ‘ठूला माछा साना माछा’ तयार गर्दा पनि झन्डै यही शैली अपनाएको थियो । जसकारण नाटक निकै प्रभावकारी बनेको प्रतिक्रिया आएको थियो ।

शिल्पीले केही समययता ‘कम्युनिटी थिएटर’ गरिरहेको छ । जसलाई मुक्त रंगमंच नाम दिइएको छ । यही नाट्यशैलीलाई निरन्तरता दिने योजना बनिरहँदा नयाँ नाटकको विषयका बारेमा हालै छलफल भएको थियो । मौसम परिवर्तन, पर्यावरण, नदी, पानीको समस्या, विकासका नाममा नदीमाथिको दोहन जस्ता विषय छलफलमा आयो ।

‘विकासकै संरचनामाथि कसरी बहस गर्न सकिएला ? स्थानीय सरकारका नीति, योजना हेर्दा क्रंकिट बनाइहाल्ने, ढलान हालिहाल्ने, नदी पनि सकभर चेपेर दोहोलो काड्ने समस्याको निराकरण के हुन सक्ला ? यी र यस्ता विषयले हामीलाई सोच्न बाध्य पार्‍यो’, घिमिरे थपे, ‘नदीको पीडा, नदी चेप्दा चेप्दा साँघुरिएको अवस्था, टुकुचादेखि कोसीसम्मको हाल उही पाइयो । अन्तिममा नदी उर्लिन्छ र बिझ्याइँ गर्छ । मानवीय र भौतिक क्षति गर्छ । त्यो पीडामाथि काम किन नगर्ने भन्ने लाग्यो ।’

सुरुमा जलश्रोत विज्ञ अजय दिक्षितसँग छलफल गर्‍यो टोलीले । दिक्षितले नदीको महत्त्वमाथि प्रकाश पार्दै हिमालबाट बगेका र तालबाट झरेका नदीबारे बुुझाए । मूलत: तीन वटा नदीमा केन्द्रित भएर नाटक बनाउने कुरा भयो । सप्तकोसी, वाग्मती र कालीगण्डकी यी तीन नदीलाई नमुनाका रुपमा लिएर काम गर्ने सुझाव आयो ।

‘यी तीन नदीलाई समात्दा नेपालको सन्दर्भमा समग्र जलश्रोतबारे बुझन सकिन्छ भन्ने भयो’, घिमिरेले भने, ‘सप्तकोसीबाटै अभियान थाल्ने निधो भयो ।’

नदीसँगै बालुवा, डुंगा, किनार, माझीहरु उत्तिकै महत्त्व छ नाटक निर्माणमा । चराचर जगत, जनावर, रुखबिरुवा, पर्यावरणमा हुर्किएका सबै कुरा बुझ्न जरुरी छ । ‘नदीलाई साथी बनाएर बाँचेका मान्छेहरु पनि भेटिए, उनीहरुसँग प्रत्यक्ष संवाद गर्‍याैं’, रंगकर्मी पवित्रा खड्काले भनिन्,‘अथाह कथाकोबीचबाट कथा खोज्ने काम भयो ।’ कथा नदीमै मात्र केन्द्रित गर्ने कि समग्र पर्यावरणमा ? त्यसबारे टोलीले चाँडै निक्र्योल गर्ने छ ।

पात्रको दृष्टिकोणबाट नाटक या चलचित्र बनाउने हो भने उसलाई चिन्न जरुरी हुन्छ । उसलाई चिन्न केही ठाउँमा महिनौ बिताउनु पर्ने पनि हुन सक्छ । या त घन्टौं यात्रा गर्न पनि जरुरी हुन सक्छ । तसर्थ पर्यटक जस्तो भएर गरिने प्रदर्शनभन्दा स्थानीयसँगै जोडिएर गरिने काम बलियो हुन्छ । यसले आत्मियता निर्माण गर्न सघाउ पुग्ने रंगकर्मीको मत छ । ‘स्थानीयसँग जोडिँदा समस्या समाधान गर्न सजिलो हुन्छ’,रंगकर्मी संगीता उराउ भन्छिन्,‘दर्शकसँग पनि नजिकको सम्बन्ध कायम गर्छ ।’

शिल्पीले फागुनको पहिलो साताबाट नाटक प्रदर्शन थाल्ने योजना बुनेको छ । पहिलो चरणमा सप्तकोसी छेउछाउ, दोस्रो चरण वाग्मती र तेश्रो चरणमा कालिगण्डकी आसपास नाटक देखाइने छ । नाटकको नाम जुरिसकेको छैन । नाम जुराउने प्रक्रिया लामो हुने घिमिरे बताए । उनले भने,‘पहिला नाम जुराएर हामी नाटक गर्दैनाैं, लामो प्रक्रियाबाटै नाम जुराउँछाैं ।’

प्रकाशित : माघ ६, २०७८ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?