कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३
नाटक समीक्षा/लाटीको छोरा

भुइँमान्छेको कथा

राजनीतिक शक्ति र न्याय प्रणालीले निर्दाेषलाई दोषी ठहर गर्दै वास्तविक दोषीलाई कसरी संरक्षण गरिरहेको छ भन्ने ज्वलन्त उदाहरण हो नाटक 'लाटीको छोरा' ।

काठमाडौँ — मधेसको छातीलाई आफ्नो भूमि मानी बसेको डोम बस्तीहरुमा बजार छिर्‍यो । बजारभन्दा अघि राजनीति प्रवेश गर्‍यो, प्रशासन आयो, न्याय, शिक्षा र सुरक्षा प्रणाली लागू भयो । गाउँका महाजनहरु मालिक भए भने डोमहरु भूमिहीन, अधिकारहीन र आवाजविहीन भए । डोमहरुको आवास, बस्ती र आवाज रहेन ।

भुइँमान्छेको कथा

उनीहरुले आफ्नो भन्ने केही रहेनन् । यो पीडादायी अवस्था मधेसस्थित सुन्दर बजारको एक छेउमा बस्ने डोम बस्तीलाई प्रतिनिधित्व गर्ने डोम युवाको हो । भलै यो प्रसंग एउटा नाटकको हो । तर अहिले पनि नाटकले उठान गरेको कथाभन्दा भिन्न छैन वास्तविक डोम बस्तीको पीडा ।

काठमाडौंको सिनामंगलस्थित ‘पुरानो घर’ थिएटरमा पुस ३० गतेदेखि नियमित मञ्चनमा आएको नाटक ‘लाटीको छोरा’ ले समाजमा टाठाबाठा कहलिएका मानिसहरु र व्यवस्थाको मारमा शोषित हुन बाध्य भएका भुइँमान्छेको कथालाई प्रस्तुत गरेको छ ।

मधेसको पृष्ठभूमिमा तयार गरिएको नाटकमा धर्म, शिक्षा, राजनीति, न्याय जस्ता सम्पूर्ण राज्य प्रणालीबाट उत्पीडनमा परेको डोम बस्तीको कारुणिक भोगाइ छ । खुलेयाम यौन हिंसालाई सहन बाध्य ‘लाटी’, ‘पवित्रा’ जस्ता पात्र नाटकमा जीवन्त रुपमा प्रस्तुत भएका छन् ।

श्याम शाहको ‘अब्बा’ कथासंग्रहमा रहेको ‘लाटीको छोरा’ कथामा तयार पारिएको नाटकको नाट्य लेखन तथा निर्देशन रंगकर्मी सूलक्षण भारतीले गरेका छन् । नाटकमा डोमबस्तीबाट बनेको ‘सुन्दर बजार’ छ । परम्परागत डोम बस्तीलाई विस्थापित गरेर बनेको बजारमा नेता, व्यापारी, पूजारी, प्रहरी, शिक्षक जस्तालाई सब थोक छ तर पीडित डोम बस्तीसँगै हिंसा खेपिरहेका ‘लाटी’, ‘पवित्रा’ लाई केही छैन ।

सुुन्दर बजारमा सबैले मान्ने गुन्न नेता विषनाथ, व्यापारी अग्रवाल, मास्टर साब, पण्डित चन्द्रकान्त झा, हवल्दार, सई, सबैले बजारलाई कुरुप बनाउन उल्लेखनीय भूमिका खेलिरहेकै हुन्छ । पवित्रा अग्रवालकी विधवा बुहारी हुन् ।

आफ्नै ससुराबाट बलात्कृत भएकी उनको आवाज सुन्दर बजारले सुन्दैन । उनलाई 'बोक्सी', 'पागल' लगायतका उपनाम दिएर बजारकै एक छेउको झुपडीमा आश्रय दिइएको हुन्छ । एकदिन पवित्राको झुपडीमा अग्रवालको छोरा पुनितसँगै आइपुग्छिन् लाटी ।

पुनितले संरक्षणको जिम्मा लिने सर्तमा पवित्रासँगै रहेकी लाटी गर्भवती भएपछि एकाएक सुन्दर बजारमा खैलाबैला मच्चिन्छ । सुन्दर बजार फेरि लाटीको लोग्नेको खोजीमा अभ्यस्त हुन्छ ।

यही क्रममा मास्टर साब, अग्रवाल, पण्डित चन्द्रकान्त झा, सई लगायतकाले क्रमैसँग लाटीको पेटको बच्चा आफ्नो भएको स्वीकार्दै नेता विषनाथलाई बचाउन आग्रह गर्छन् । यसैलाई नजिकै आएको चुनावको लागि चाहिने हतियार बनाउँदै विषनाथले डोम बस्तीकै अगुवा युवालाई लाटीको पेटको बच्चा स्विकार्ने आदेश दिन्छ ।

लाटीको लोग्ने को हो भन्ने थाहा भएकी पवित्रालाई सुन्दर बजारबाट टाढा लाटीसँगै डोमबस्तीमा राख्ने निर्णय सुनाइन्छ । लाटीको समर्थनमा रहेको पुनितलाई समेत दुई वर्षका लागि सुन्दर बजारबाट निकाला गरिन्छ । यद्यपि लाटीको लोग्ने को हो भनेर नाटकले अन्तिम दृश्यमा निकै रोचक र प्रतिकात्मक रुपले देखाएको छ । यसलाई नाटकको सबल पक्षका रुपमा लिन सकिन्छ ।

बस्तीलाई विकासको नाममा बजार बनाउने ढोंगी पात्रहरुको चरम शारीरिक तथा मानसिक हिंसाबाट प्रताडित ‘लाटी’, ‘पवित्रा’ जस्ता पात्रहरुको पीडामार्फत नाटकले समकालीन समाजको झल्को दिएको छ ।

अझैपनि समाजमा एकल महिला र शारीरिक एवं बौद्धिक रुपमा अपांगता भएका महिलाहरु यौनहिंसा खेप्न बाध्य छन् । राज्य न्याय प्रणाली पीडितभन्दा पनि पीडकको पक्षमा पक्षपोषण गरिरहेको अवस्थालाई नाटकले उजागर गरेको छ ।

नाटकमा देखाइएको डोम बस्तीको पीडा र दयनीय अवस्था राज्यसत्ताको लागि गतिलो झटारो हो । डोम युवाले आफूलाई जमिनको बदला जमिन नै बदला चाहियो भनेर गाउँ पञ्चायतलाई आग्रह गर्छ ।

परिवार बस्नका लागि झुपडी बनाउने जमिन छैन, सुँगुर पाल्ने जमीन नहुँदा जंगलमा राख्नुपरेको बाध्यता, अरुको आँगन, चोकमा सुँगुरले बिस्ट्याएकै कारणले धेरैपल्ट अपमानित हुनुपरेको पीडालाई सुनाउँदा उसलाई क्रान्तिकारीको संज्ञा दिइन्छ ।

त्यसैको बदला स्वरुप उसलाई पञ्चायतले लाटीलाई बलात्कार गरेको आरोप लगाइन्छ । ‘लाटी मेरी बहिनी हो’ भनेर पटक–पटक सुनाउँदा उसको सुनुवाइ हुँदैन । यो दृश्यले राजनीतिक शक्ति र न्याय प्रणालीले निर्दाेषलाई दोषी ठहर गर्दै वास्तविक दोषीलाई कति संरक्षण प्रदान गरिरहेको छ भन्ने ज्वलन्त उदाहरण पेस गरेको छ ।

राजनीतिक दाउपेचका लागि आवाजविहीनहरुको आवाजलाई दबाउने विषनाथ जस्ता नेताहरुमार्फत राजनीतिक दलका प्रमुख मानिने नेताहरुलाई नाटकले व्यंग्य गरेको पाइन्छ ।

नाटकमा पवित्राको आक्रोश छ, ‘यो लाटीको बच्चा यो समाजको हो । यदि एउटा नारीको खुलेयाम बलात्कार हुन्छ भने दोषी एउटा मात्र होइन पूरा समाज हुन्छ । तिमीहरुको न्याय खोई ?’

यो आवाज समग्र यौन हिंसा भोगेकी पीडित महिलाको मान्न सकिन्छ । विषनाथ बोल्छ, ‘यहाँ पागल बोक्सी, धामी, भूत, पिचासको बयान सुनिँदैन । हामी एक्काइसौं शताब्दीमा दौडिरहेका मानिस एउटा पागलको बयानमा विश्वास गर्न सक्दैनौं ।’ एक्काइसौं शताब्दीको कुरासँगै विषनाथको न्यायले नै पवित्रालाई बोक्सी करार गरेको छ । समाजलाई नै यो अझै चोटिलो व्यंग्य हो ।

नाटकमा देखाइएको मधेसको पृष्ठभूमि झल्काउने झुपडी, चौतारी, परालसहितको मञ्च, मधेसको लवज, भेषभूषा तथा अभिनय जीवन्त लाग्छ । लाटीको भूमिका देखिएकी कलाकार सरिता भुजेलको अभिनयले दर्शकको मन तान्छ । लाटो (नाइ)को भूमिकामा देखिएका गोविन्द सुनारले मञ्चमा शान्त बसेरै दर्शकको ध्यान केन्द्रित गरेको छ । प्रयुक्त संगीत, कविताका हरफहरुले नाटकमा श्रृंगारको काम गरेको छ ।

माघ ९ गतेसम्म नियमित मञ्चन हुने नाटकमा भुजेल, सुनारसँगै टीका निरौला, अरुण पौडेल, सन्देश कार्की, सुव्रतराज सिलवाल, शिशिर गिरी, जयराम, रितेश कार्की, सागर भट्टराई, प्रकाश थापा निशा दाहाल, बाल कलाकार निरोज दाहाललगायतको अभिनय रहेको छ । प्रकाश तथा मञ्च परिकल्पना भारतीले नै गरेका छन् ।

प्रकाशित : माघ ५, २०७८ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?