३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

फेरि ‘पुतलीको घर’

महानगरपालिकाको सहयोगमा वर्ष दिन नाटक देखाउने घोषणा गर्दै गुरुकुलको पुनरागमन भयो भनिए पनि संस्थापकसँग न स्थायी टुंगो छ न त पुरानो समूह

काठमाडौँ — आरोहण गुरुकुलले ‘पुतलीको घर’ नाटकमार्फत् रंगमञ्चमा औपचारिक पुनरागमन गरेको छ । थापागाउँस्थित कुञ्ज नाटकघरमा शुक्रबार औपचारिक शुभारम्भसहित गुरुकुलले मञ्चन सुरु गरेको हो । हेनरिक इब्सनको नाटक ‘अ डल्स् हाउस’ को नेपाली अनुवादसँगै निर्देशन रंगकर्मी सुनील पोखरेलले गरेका हुन् । गुरुकुलले यो नाटक यसअघि देशविदेशमा गरी २१६ हौं पटक मञ्चन गरिसकेको थियो ।

फेरि ‘पुतलीको घर’

नाटकले परिवारमा श्रीमान् र श्रीमतीबीचको आपसी समझदारी र सम्बन्धलाई दिगो राख्न दुवैको भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने पक्षलाई उजागर गर्ने जमर्को गरेको छ । कुनै पुरुषका लागि उसकी श्रीमती उसको खुसी एवं सन्तान मात्र भनी घरभित्र थुनिएर बस्नु, उसकै लागि सजिनु भनेको उनको त्याग र तपस्याको रूपमा बु∆न नाटकले श्रीमान्हरुलाई सजग बनाएको छ । यसले महिलालाई आत्मनिर्भर र सशक्तीकरणका लागि आफ्नै सहअस्तित्व तथा पहिचान निर्माणका लागि सचेत हुन पनि सन्देश बोकेको छ ।

माघ २२ सम्म मञ्चन हुने नाटकमा मुख्य भूमिका रंगकर्मी निशा शर्माको छ । नाटकमा उनीसहित कलाकारहरु पोखरेल, शेखर चापागाईं, अञ्जु देउजासमेतको अभिनय छ । पुरानो नाटक पुनः मञ्चनसँगै गुरुकुल समूह सक्रिय भएको घोषणा कुञ्ज नाटकघरमा गरियो । बन्द भएको एक दशकपछि गुरुकुल पुनः उदाएको अवसरमा नाट्यकर्मीसहित ललितकला र साहित्यका स्रष्टाहरुले आ—आफ्ना सिर्जनामार्फत पुनरागमनलाई उत्सवमय बनाए । चित्रकारहरु किरण मानन्धर, राधेश्याम मुल्मी, सम्झना राजभण्डारी, आशा डंगोल लगायतले थिएटरको आँगनमा बसेर चित्रहरु सिर्जना गरे भने शारदा शर्मा, विप्लव प्रतीक, मणि लोहनी, मोमिला जोशी लगायतका कविहरुले कविता सुनाए ।


नेपाली रंगमञ्चलाई आधुनिक धारमा ल्याएर व्यावसायिक फड्को मार्न गुरुकुलको ठूलो योगदान रहेको सुनाउँदै मानन्धर र नाट्यकर्मी हरिहर शर्माले फेरि नाट्य क्षेत्रमा गुरुकुलको आगमनले अत्यन्तै हर्षित बनाएको बताए । ‘नेपाली रंगमञ्चको शिक्षालाई आधुनिक रुपमा फराकिलो बनाउन गुरुकुलको भूमिका सधैं अग्र भागमा रहन्छ,’ शर्माले भने,‘ रंगमञ्चको इतिहासमा शिक्षासँगुगै कलाकारहरु उत्पादनमा सुनील पोखरेलको योगदान इतिहासमा रहिरहनेछ ।’ रंगमञ्चको जग बलियो बनाउन गुरुकुलले थमाएको नाम र प्रतिष्ठाको प्रशंसा गर्दै शर्माले गुरुकुलको आगामी थप यात्रा र ऊर्जाको कामना गरे ।

गुरुकुलको आफ्नै जग्गा थिएन । जग्गाधनीका कारण पुरानो बानेश्वरको नाटकघर उठाउनुपरेपछि स्थायी नाटकघर बनाउने ठाउँ भएन । समूहमा रहेका कलाकर्मी पनि छिन्न्भिन्न भएका थिए । कतिपय नेपाली चलचित्र क्षेत्रमा पुगे भने कतिपयले बेग्लै समूह बनाए । सन् २०११ मा बन्द भएको गुरुकुललाई थापागाउँस्थित कुञ्जको एउटा हलमा पुनरागमन भएको घोषणा गरिए पनि यसले आगामी दिनमा नाट्य क्षेत्रमा सक्रियता देखाइरहने हो/होइन भन्ने निश्चित छैन । गुरुकुलका संस्थापक पोखरेलका अनुसार काठमाडौं महानगरपालिकाले एक वर्षको भाडा प्रदान गर्ने सहमति भएपछि कुञ्जको एउटा हल एक वर्षका लागि गुरुकुलको नाममा सञ्चालन हुने सम्झौताअनुसार सञ्चालनमा आएको हो ।

प्रकाशित : माघ १, २०७८ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?