१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

गुरुकुल ब्युँताउने मेसो

काठमाडौँ — राजधानीका नाटकघरहरुको अग्रज ‘गुरूकुल’ बन्द हुनु दुर्घटना थियो । अब त्यो दुर्घटनाबाट माथि उठेर रंगमञ्चको ढोका खोल्न सुनील र निशासँगै कलाकारहरु लागिपरेका छन् । 

गुरुकुल ब्युँताउने मेसो

नाट्यकर्मी सुनील पोखरेल र निशा शर्माका दिनहरू हिजोआज थापागाउँस्थित कुञ्ज नाटकघरमा बितिरहेको छ । करिब एक दशकअघि ढलेको आरोहण गुरुकुलको सौन्दर्यलाई कुञ्जमा सजाउन यी रंगकर्मी दम्पती मात्र नभएर नयाँ पुस्ताका कलाकारहरूसमेत अहोरात्र खटिरहेका छन् ।

विश्राम लिएको एक दशकपछि गुरुकुलको टिम फेरि एक पटक जुर्मुराउँदै छ । यही पुस ३० देखि २२ दिन ‘पुतलीको घर’ नाटकमार्फत गुरुकुलको टिमले पुनरागमन गर्न लागेको हो । हेनरिक इब्सनको नाटक ‘अ डल्स हाउस’को नेपाली अनुवाद तथा निर्देशन पोखरेलले गरेका हुन् । गुरुकुलले यो नाटक यसभन्दा अघि देश–विदेशमा गरी २ सय १६ पटक मञ्चन गरिसकेको रंगकर्मी शर्माले बताइन् ।

काठमाडौं महानगरपालिकाले एक वर्षको भाडा दिने सहमति भएपछि कुञ्जको एउटा हल वर्ष दिनका लागि गुरुकुलको नाममा चलाउने सम्झौता भएको गुरुकुलका संस्थापक सुनील पोखरेलले बताए । उनका अनुसार हल र नाटक मञ्चन जस्ता कामका लागि गुरुकुल समूहले २० प्रतिशत खर्च भने अझै आफैंले जुटाउनुपर्नेछ । ‘हामीले फेरि पनि निजी जीवनको समयलाई कटाएर बाहिरी जिन्दगीतिर फर्कने प्रयास गरेका छौं,’ पोखरेल भन्छन्, ‘यो समयले अब हामीलाई कता पुर्‍याउला चिन्ता त छँदै छ । यसमा अझ जिम्मेवारी थपिएको छ ।’

औपचारिक पुनरागमनकै दिन कुञ्जमा चित्र, कविता र नाटक प्रस्तुत हुनेछन् । गुरुकुलको रूपलाई पुनर्जागरण गर्न र पुरानै यादहरूलाई ताजा बनाउन गुरुकुलमा सजिएका हरेक चीजबिजलाई कुञ्जमा झल्काउने जमर्कोमा छन् पोखरेल दम्पती । कुञ्जस्थित नाटकघरको प्रवेशद्वारमा नाट्य सम्राट बालकृष्ण समको तस्बिर झुन्डिइसकेको छ । रंगमञ्च व्यवस्थापन चलिरहेको छ । यी दम्पतीले गुरुकुलप्रति साँचेको सपना जीवन्त हुने आशामा जुर्मुराएको छ । ढलेको गुरुकुलको सपनालाई उनीहरू पुरानै नाटक र कलाकारहरूमार्फत पुनः ठड्याउने जोसमा छन् ।


नाट्यकर्मी सुनील पोखरल र निशा शर्मा । तस्बिर : सुशीला तामाङ/कान्तिपुर

गुरुकुल पोखरेललगायत अधिकांश रंगकर्मीहरूका लागि एक सपना रहेको शर्मा स्मरण गर्छिन् । नाट्य क्षेत्रमा नाटकघरसहितको नियमित नाटक मञ्चनको अहिलेको अवस्थालाई जग बसाल्ने काममा गुरुकुल समूहको ठूलो देन छ ।

नाटकघरका लागि स्थायी थिएटर बनाउने जग्गाको अभावमा बानेश्वर हाइटस्थित स्थापित गुरुकुललाई सञ्चालन गरेको ९ वर्षपछि सन् २०११ मा बन्द गर्नुपरेको थियो । शर्मा सम्झन्छिन्, ‘रंगकर्म र गुरुकुलमा हामी नौ/दस वर्ष यति लागेछौं कि, त्यो बन्द भएपछि बल्ल थाहा भयो, हामी सामाजिक जीवन, आफन्त सबैबाट टाढा भएर रंगमञ्चमा रम्ने भएछौं ।’ गुरुकुल बन्द भएपछि दुवै जनामा मानसिक विचलनसँगै सामान्य जीवनमा फर्कन अत्यन्तै कठिन भएको उनी बताउँछिन् । दम्पतीले गुरुकुल उठाउन प्रत्येक सरकारको पालामा ढोका ढकढकाए । आफ्नो नाटकघर नै नभए पनि पोखरेल दम्पतीले बेला–बेलामा नाटकहरूसमेत नाट्यप्रेमीहरूलाई पस्किरहे । शर्मा जोड्छिन्, ‘यो बितेको समयमा केही समय सामान्य जीवनमा आउने प्रयास गरे पनि हामीले नाटक र रंगमञ्चलाई बिर्सेका थिएनौं र यसलाई बिर्सेर अन्त पनि जान सकेनौं । हामी निरन्तर गुरुकुलको घर उभ्याउने प्रयासमा नै थियौं ।’ स्थायी नाटकघरका लागि राज्यले राजधानीमा जमिन उपलब्ध गराउन नसकेकोप्रति उनको दुखेसो छ । ‘हामीले कमाएर खान होइन, देशमा कला सिर्जनाको विकास र विस्तारका लागि प्रत्येक सरकारलाई भनेका थियौं । देशमा कलाकारलाई अझ नाट्य क्षेत्रका कलाकारलाई एउटा वस्तुका रूपमा मात्र हेरियो,’ उनी भन्छिन् ।

कुञ्जमै ‘ताराबाजी लै लै’, ‘जात सोध्नु जोगीको’, ‘अग्निको कथा’ लगायतका पाँच वटा नाटकहरू सम्भव भएसम्म पुरानै कलाकारको अभिनयमा मञ्चन गर्ने गुरुकुलको तयारी छ । पुराना नाटकहरूलाई नयाँ पुस्ताले हेरून् र अग्रजले पनि पुनः हेरेर आजको दिनमा फेरिए पनि दुवैको कामलाई मूल्यांकन गरिदिऊन् भन्ने अपेक्षा आफूहरूको भएको शर्माले बताइन् ।

गुरुकुल बन्द हुनुपूर्व पनि नाट्य महोत्सवकै अवसरमा ‘पुतलीको घर’ मञ्चन गरिएको शर्मा सुनाउँछिन् । अहिले पनि मुख्य महिला पात्रका रूपमा शर्माकै अभिनय रहनेछ भने उनलाई साथ दिँदै मञ्चमा कमलमणि नेपाल, शेखर चापागाईं, अञ्जु देउजाले अभिनय गर्ने भएका छन् ।

नेपालको सट्टामा पोखरेलले समेत सुरुको केही दिन अभिनय गर्नेछन् । शारीरिक एवं मानसिक रूपमा पहिलाकै ऊर्जा नभए पनि दुवै जना गुरुकुलको ढोका उघार्न चाहन्छन् । दुवैको एकै अभिलाषा छ, ‘अब गुरुकुलको ढोका कहिल्यै बन्द गर्न नपरोस् । गुरुकुलको सपना, आशा, कला जे जति छ ती सबै नयाँ पुस्तालाई हस्तान्तरण गरेर यो नाम नाट्य क्षेत्रमा कालान्तरसम्म रहिरहोस्,’ शर्मा भन्छिन्, ‘कला सिर्जना भन्ने कुरा पुस्तान्तरण हुँदै जाने हो । सधैं एकै पुस्ता रहन सम्भव छैन । नयाँ पुस्तालाई जगाएर गुरुकुल उनीहरूलाई सुम्पिन हामी आएका छौं ।’

प्रकाशित : पुस २८, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?