कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

युट्युबबाट हटाइयो ‘हे दैव’ बोलको गीत

काठमाडौँ — मेलिना राई र किरण गजमेरको स्वरमा रहेको ‘हे दैव’ बोलको गीत युट्युबबाट हटाइएको छ । रमेश एमके पौडेलको रचना तथा सुवास भुषालको संगीत भनिएको उक्त गीतको सुरुको हरफ नै आफ्नो रचनाबाट चोरी गरिएको गीतकार तथा सञ्चारकर्मी भुपेन्द्र खड्काले दाबी गरेपछि उक्त गीत अहिले हटाइएको छ । 

युट्युबबाट हटाइयो ‘हे दैव’ बोलको गीत

गीतकार खड्काको रचना तथा गायक कर्ण दासको स्वरमा रहेको ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो, हामीबीचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो’ बोलको गीतबाट अनुमतिबिना नै सिधै चोरी गरिएको खड्काको आरोप छ ।

खड्काका अनुसार उक्त गीत २०६१ सालमा रेकर्ड भएर ०६२ मा एल्बम ‘आधा सपना’मार्फत सार्वजनिक गरिएको थियो । आफ्नो गीतको हरफ नै हुबहु टिपेर सार्वजनिक भएर बजारमा आउँदा समेत आफू अनभिज्ञ रहेको खड्काले कान्तिपुरसँगको कुराकानीमा बताए ।

‘आज कान्तिपुरमा गीतसंगीत चोरीसम्बन्धी समाचार आएको रहेछ‚’ उनले भने, ‘के रहेछ भनेर हेर्दा आफ्नै गीत पो चोरी भएको लेखिएको रहेछ । मलाई एकछिन रिंगटा नै चल्यो । त्यसपछि तुरुन्तै गीत हटाउन लगाएँ ।’

गीतसंगीत चोरीको बिगबिगी’ शीर्षकमा कान्तिपुर दैनिकले बुधबार समाचार प्रकाशित गरेको थियो ।

उक्त गीतबाट नै नेपाली गीति लेखनमा आफ्नो पहिचान स्थापित भएको खड्काले सुनाए । आफ्नो रचना समावेश भएको गीतको अडियो, भिडियो लगायतका कुनै पनि सामग्री पुनः प्रयोग गरिएको देखिएमा रचनाकार, संगीतकार तथा गायक-गायिकाविरुद्ध नै कानुनी लडाइँ लडेर क्षतिपूर्ति लिने खड्काले चेतावनी दिएका छन् । सम्बन्धित पक्षले गल्ती स्वीकार्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने वाचा गरेकाले अहिले गीतमात्र हटाइएको उनको भनाइ छ ।

स्रष्टाको प्रतिलिपी अधिकार संरक्षणका लागि नै आफूले ‘संगीत रोयल्टी संकलन समाज नेपाल’मा महासचिवका रुपमा चार वर्ष काम गरेको उनले सुनाए । उनले भने, ‘त्यही क्रममा मैले युरोप तथा अफ्रिकाका विभिन्न देशमा बौद्धिक अधिकारसम्बन्धी अभ्यासका बारेमा बुझेको थिएँ । युट्युबदेखि हरेक व्यक्तिको दिमागसम्म रहेको यति चर्चित गीतसमेत मान्छेले चोरी गर्ने आँट गर्छन् । संगीत क्षेत्रमा चोरीको घटना विकृतिका रुपमा आयो ।’ आफ्नो सिर्जनाका लागि सबै स्रष्टाहरूलाई सचेत र सजग रहन उनले आग्रह गरे ।

प्रकाशित : पुस २१, २०७८ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?