१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फेवा किनारमा गुञ्जियो रैथाने संगीत

पोखरा — फेवातालको किनारमा रैथाने संगीत समूह गुञ्जिएको छ । पाँचौं संस्करणको पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा गायिका झुमा लिम्बूको समूहले सुदूरपूर्वदेखि सुदूरपश्चिमको रैथाने भाका गाउँदै पोखराका दर्शक झुमायो ।

फेवा किनारमा गुञ्जियो रैथाने संगीत

नेपाल भाषाका दाफा अन्तर्गतका दुई गीत साँखु जय जोगिनी, भैरव खारा गाउँदै समूहकी गायिका पुष्पा पलाञ्चोकेले कार्यक्रम सुरु गरिन् । उनले चासद्य र तननी भजनलाई प्रस्तुत गरिन् ।

गायिका झुमा लिम्बूले घाटु, हाकपारे, हियारी, तामाङ, मैथली, कौरा, डोट्याली लगायतका लोकसंगीत प्रस्तुत गर्दा पोखराका दर्शक मन्त्रमुग्ध बने । रैथानेका झुमा र पुष्पासँगै सम्भु बानिया, अशेष राई, मनिष गन्धर्व, मोआ र तोमसले वाद्यवादनमा सहयोग गरेका थिए । मोआ र तोमसले कार्यक्रममा चिलीका लोकसंगीतसँगै नेपाली फ्युजन पनि प्रस्तुत गरे।

'नेपथ्य'का गायक अमृत गुरुङ, ‘१९७४ एडी’ का निरकार याकथुम्बा, लेखक सरस्वती प्रतीक्षा लगायतले दर्शक बनेर रैथानेको प्रस्तुतिमा रमाए ।लोक तथा परम्परागत मौलिक नेपाली संगीतमा काम गदै आएको रैथानेको यो पोखरामा पहिलो प्रस्तुति हो । यसअघि पनि काठमाडौंको मोक्षमा पनि प्रस्तुति दिएको थियो । गायिका लिम्बूले ‘दोख’ फिल्मको ‘रातैले बुन्छ…’ पनि गाइन् । यो गीतमा पुष्पा संगमको संगीत र झुमाको स्वर छ ।

करिब एक घण्टाको प्रस्तुतिपछि भएको ‘फिल्ममा मौलिक गीतसंगीत’ सम्बन्धी अन्तरक्रियामा झुमा र पुष्पाले फिल्म सशक्त माध्यम भएपनि त्यसमा मौलिक संगीतको प्रयोग कमै हुने गरेको भनाइ राखे ।

गायिका लिम्बूले फिल्मको कथासँगै मौलिक गीत संगीतलाई पनि महत्त्व दिनुपर्ने धारणा राखिन् । ‘हामीकहाँ फिल्मको छायांकन सकेर, सम्पादनमा आइपुग्दा बल्ल संगीतकारलाई खोजिन्छ । तर, कथा लेखनकै क्रममा फिल्मका लेखकले संगीतकारलाई भेट्नुपर्छ । हामीले संगीत अध्ययन गर्न सकय पाउँछौं । फिल्म गर्न जति गाह्रो छ संगीत गर्न पनि उत्तिकै गाह्रो छ,’ लिम्बूले भनिन् ।

रैथानेसँगै फेस्टिभलको चौथो दिन विन्ध्यवासिनी, टुङ्गना र अल्फन्जोमा विभिन्न फिल्म प्रदर्शन भए । अजितपाल सिंहको ‘फायर इन्द द माउन्टेन’ र ‘एन इन्जिनियर ड्रिम’ लगायत लघु फिल्म ‘जुनुको जुत्ता’, ‘जुलुङ्गो’, ‘एल्सा’ प्रदर्शन गरिए ।

युवा फिल्ममेकरहरुले निर्माताहरुबीच आफ्नो नयाँ प्रोजेक्टबारे पनि ‘पिच’ गरे । ‘प्रड्युर ओ सुद’का प्रमुख गियोम म्यागेट र फ्रान्सेली निर्माता जुलियट गारमोन्टले अन्तर्राष्ट्रिय सह-निर्माणमा अन्तरक्रिया गरे । पुस १२ देखि सुरु भएको फिल्म फेस्टिभल आज सकिँदैछ ।

प्रकाशित : पुस १६, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?