पकडियामा ‘साजन का घर’

हातहातमा मोबाइल आएपछि परिवारबीच संवाद घटेर दुःखी वृद्धवृद्धालाई नाचले दिन्छ खुसी
शंकर आचार्य

पर्सा — सानो चौर । चौरको पश्चिमी भागमा सानो मञ्च । साउन्ड बक्समा ९० को दशकको एउटा हिन्दी फिल्मको कथाको आवाज छ । अनि त्यही कथामा दृश्यलाई उस्तै पात्र बनेर स्थानीय कलाकार मञ्चमा पालैपालो वेशभूषा र भावभंगिमा अभिनयमार्फत प्रस्तुत गर्दै छन् । पर्सागढी नगरपालिका–३ पकडियामा शनिबार दिउँसो सधैंभन्दा केही फरक थियो ।

पकडियामा ‘साजन का घर’

कलाकार सबै पुरुष । फिल्ममा महिला पात्र पनि थिए तर यहाँ महिलाको भेषमा पनि पुरुष कलाकार नै मञ्चमा छन् । नायक–नायिका, चरित्र अभिनेता, खलपात्र र देवीदेउताको भूमिका पनि प्रस्तुत भए । एउटै कलाकार कथाको मागअनुसार पहिरन र मेकअप फेर्दै पटकपटक मञ्चमा विभिन्न पात्रका रूपमा प्रस्तुत भइरहे । अभिनयसँगै गीतमा नृत्य पनि तिनै कलाकारको समूहले नृत्य गरे । थोरै थोरै संवादसहितका दृश्य र धेरैजसो नाचगानमै कथा प्रस्तुत गर्न सकिने यस्ता फिल्मी कथाको हुबहु मञ्चन अझै पनि गाउँघरतिर हुँदै छ ।

गाउँघरमा पनि हात हातमा मोबाइल छ । यसले परिवार भेला हुँदा पनि आपसी संवाद घटाएको छ । यस्तोमा परिवारका सदस्यहरूबाट एक्लिएको अनुभव गर्ने वृद्धवृद्धा यस्ता नाच हेर्दा रमाउँछन्, त्यो दृश्य पकडियामा थियो ।

मञ्चको वरिपरि विभिन्न उमेर समूहका महिला, पुरुष र बालबालिका थिए तर दर्शकदीर्घामा वृद्धवृद्धा बढी थिए । थारू र माझी बहुल पकडिया बस्तीमा बेला बेलामा यसरी कथानक नाच प्रस्तुत गर्ने चलन छ । चाडपर्व, धार्मिक समारोह वा कसैको घरमा बिहेवारी हुँदा यसरी अभिनयसहितको नाचगान गर्ने टोलीलाई बोलाइन्छ । धेरै दिनदेखि स्थानीयले नाच हेर्न नपाएकाले स्थानीय युवाले प्रत्येक घरधुरी एक सय रुपैयाँ नगद र एक किलो चामल चन्दास्वरूप संकलन गरेर छिमेकी गाउँ फूलकौलको कलाकार टोली बोलाएका थिए ।

टोलीलाई निम्त्याउने अगुवा स्थानीय ३४ वर्षीय अन्दु माझीले बूढापाकाको आग्रहअनुसार आफूहरूले फूलकौलबाट नाच देखाउने व्यावसायिक टोलीलाई ल्याएको बताए । मञ्चभन्दा करिब ५० मिटर पर चौरको उत्तरपूर्वी कुनामा पाका महिला दर्शकको समूहमा अग्रपंक्तिमा भुइँमा थचक्क बसेर नाचको आनन्द लिँदै थिइन् ७८ वर्षीया कलही माझी । कान कम सुन्ने भएकाले आफू लाउडस्पिकरको अघिल्तिरै बसेको उनले बताइन् । चर्को आवाजले नाचको कथा बुझ्न आफूलाई सजिलो हुने उनले बताइन् । बैंसमा नजिकको जितपुर बजार र सदरमुकाम वीरगन्जका सिनेमा हलहरूमा थुप्रै फिल्म हेरेकी कलहीले अचेल भने यस्तै नाचबाट मनोरन्जन लिन्छिन् । ‘अब शरीरमा पहिलेजस्तो तागत रहेन, जितपुर र वीरगन्ज जान सकिँदैन । गाउँमै आउने नाच हेर्दा हलमा सिनेमा हेरेको सम्झना ताजा भएर आउँछ,’ बिँडीको धूवाँ उडाउँदै उनले भनिन्, ‘आँखाले धमिलो देख्न थालेको छ, तन बूढो भयो तर मन बूढो भएन । नाच हेर्न खुबै मजा लाग्छ ।’

नाच मध्यान्तरतिर पुग्दा ६५ वर्षीय रामअवतार गुरो हँसिला देखिन्थे । ‘कथा राम्रो रहेछ, गीत पनि राम्रो,’ उनले भने, ‘समाज र परिवारको कथा रहेछ ।’ आफूले गाउँघरमै थुप्रै नाच यसरी नै हेर्न पाएको उनले सुनाए ।

घाम ताप्दै हेरिरहेका देवशरण माझी नाचका लागि दिएको चन्दा असुल भएको बताइरहेका थिए । छिमेकी गाउँ परशुरामपुरका अब्दुल मतल्लीले नाचको कथावस्तु हिन्दी फिल्म ‘साजन का घर’ रहेको दाबी गरे । ‘यो पक्कै पनि साजनका घर हो,’ उनले भने । स्थानीय योगेन्द्र चौधरीले तराईका गाउघरमा अझै पनि यसरी नाच हेर्ने परम्परा कायमै रहेको बताए ।

प्रकाशित : पुस १४, २०७८ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?