चित्रमा माओवादीको ‘समाजवादी यात्रा’

काठमाडौँ — विद्रोह थाल्दा अगुवाले देखाएका सपना र शान्ति प्रक्रियापछि पार्टीको धरातललाई नेता–कार्यकर्ता आफ्नै तरिकाले व्याख्या गर्छन् । २०६२/६३ को जनआन्दोलनपछि नेकपा माओवादी अधिकांश समय सत्तामा छ । तर कति सन्तुष्ट देखिन्छ ? के सशस्त्र द्वन्द्वमा होमिनुको उद्देश्य पूरा भएकै हो ? राजधानीमा जारी माओवादी केन्द्रको आठौं महाधिवेशनमा बहस चलिरहेको छ । पार्टीले उठाएका समाजवादको मुद्दा बितेका डेढ दशकमा जीवितै छन्/छैनन् ? श्रमिक तथा सीमान्तकृत वर्ग कता छन् ? ‘जनयुद्ध’ मा होमिएकाहरू को थिए ? आदि प्रश्नको समीक्षा कलाकर्मीहरूले भने चित्रमा गरेका छन् ।

चित्रमा माओवादीको ‘समाजवादी यात्रा’

अखिल नेपाल ललितकला संघले महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी गरेको हो । प्रदर्शनीमा ‘समाजवादी यात्रा’ शीर्षकमा करिब दुई दर्जन कलाकारका कलाकृति छन् । प्रदर्शनीमा आन्दोलन, गणतन्त्र, श्रम, मजदुर, वित्तीय पुँजीवाद र त्यसको असर, कृषि तथा औद्योगिक क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पना कलाकृतिमा छ ।

अग्रज कलाकार जुलुमलाल चित्रकारले गरिबीको विषयमा बनाएको चित्रमा मुलुकको अवस्थामा परिवर्तन ल्याउन समाजवादी दिशामा अग्रसर हुनुपर्ने विचार अभिव्यक्त गरेका छन् । त्यस्तै अर्का अग्रज नारदमणि हार्तम्छालीले गणतन्त्र ल्याउन गरिएका संघर्ष र सामन्तवादी परिवेशले समाजमा पारेको प्रभावलाई कलामा चित्रण गरेका छन् । चित्रमा प्रतिक्रियावादी शक्तिले लगाएको गिद्धे दृष्टि इंगित छ ।

प्रदर्शनीमा परम्परागत थाङ्का तथा पौभा शैलीमा समाज परिवर्तन र सामाजिक न्यायको समसामयिक विषयलाई समेत कलात्मक रूपमा चित्रण गरिएको छ । अग्रज थाङ्का कलाकार लालमान लामाले ‘उज्यालो यात्रा’ नेपालको वर्गसंघर्ष या अन्य राष्ट्रभक्तिका आन्दोलन र युद्धमा नारीको सहभागिता र उनीहरूको योगदानको विषयलाई समेत चित्रमा उतार्ने कोसिस गरेका छन् । ‘नालापानी युद्धदेखि माओवादीले सुरु गरेको जनयुद्धमा महिलाको विशिष्ट र बहादुरीपूर्ण योगदान छ । मैले चित्रमा त्यो प्रसंगलाई उतार्ने जमर्को गरेको छु,’ लामाले भने ।

पौभा शैलीमा राजनीतिक तथा सामाजिक विषयमा कलाकार राजकुमार राना मगर, अमिर शाक्यले निकै आकर्षक चित्र बनाएका छन् । उनीहरूका कलामा मजदुर, किसान, न्यायपूर्ण आन्दोलन र समानताका विषयलाई निकै बोधगम्य रूपमा उतारिएको छ । कलाकार राजकुमार रानाले नेपालीको एक दिनको ज्याला दस हजार भएको परिकल्पना गरेको चित्र प्रदर्शनीमा देख्न सकिन्छ । कलाकार रवीन्द्र श्रेष्ठले बनाएको विद्रोही लडाकु र नेपाली सेनाको चित्रले शान्ति समायोजनको विषयलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । शान्ति प्रक्रियापछि समाजले समृद्धिको यात्रामा फड्को मार्ने भएकाले त्यस दिशामा अग्रसर हुन उनले दलहरूलाई आग्रहसमेत चित्रमार्फत गरेका छन् ।

संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले पार्टीको महाधिवेशनको सन्दर्भमा गरिएको कला प्रदर्शनीले नेपाली समाजको बहुआयामिकतालाई कलात्मक रूपमा उतारेको बताए । उनले भने, ‘नेपालको परिवर्तनकारी आन्दोलनमा माओवादी आन्दोलनको विशिष्ट भूमिका रहेकाले त्यसको झलक कलाकृतिमा आएको छ ।’

नेपालको प्रगतिशील तथा समाजवादी कला आन्दोलनका लागि यो प्रदर्शनी कोसेढुंगा सावित हुने कलाकर्मीहरूको विश्वास छ । प्रदर्शनीमा एससी सुमन, देवेन्द्र थुम्केली, कमानसिंह लामा, प्रदीप अधिकारी, लीलाधर केसी, अमर परियार, अमिर शाक्य, निरीमाया लामालगायत कलाकारहरूका तीन दर्जनभन्दा बढी कलाकृति राखिएका छन् ।

प्रकाशित : पुस १४, २०७८ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?