कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अर्केस्ट्रामा गुन्जिरहेका स्वरसम्राट्

२०४४ सालमा आयोजित स्वर्णिम सन्ध्यामा खोज्दा पनि नारायणगोपालले आफ्नो सांगीतिक प्रस्तुतिमा भ्वाइलिनलाई सामेल गराउन पाएका थिएनन्
सुशीला तामा‌ङ

काठमाडौँ — महाराजगन्जस्थित स्वरसम्राट् नारायणगोपालको घरमा दैनिक अर्केस्ट्रा धुन गुन्जिरहन्छ । डबल बेस, चेलो, भिओला तथा भ्वाइलिनको धुनमा बज्छन् नारायण गोपालका गीतहरू । अर्केस्ट्रा संगीतका धुनमा उनका गीतहरूलाई संयोजन गर्न तीन दशकदेखि लागिरहेका संगीतकार राजकुमार श्रेष्ठ ।

अर्केस्ट्रामा गुन्जिरहेका स्वरसम्राट्

स्वरसम्राट्को ३१ औं स्मृति दिवस आइतबार परेको छ । उनका कालजयी गीतहरूलाई अर्केस्ट्रा धुनमा प्रस्तुतिको विशेष तयारीमा छन् श्रेष्ठ । धेरै गीतको संयोजन तयार भइसकेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सांगीतिक समारोह हुँदै छ । अर्केस्ट्रा धुनका साथ डेढ दर्जनजति गीतहरू प्रस्तुतिका लागि युवा पुस्ताका सर्जकहरू तयारीमा छन् । भ्वाइलिनको धुनका लागि विशेष सजक छन्, श्रेष्ठ । ‘नेपालमा अर्केस्ट्रा संगीत अझ विशेषगरी भ्वाइलिनको प्रयोगलाई विस्तार गर्ने नारायण गोपालको ड्रिम प्रोजेक्ट नै थियो,’ उनी भन्छन्, ‘यसका लागि स्कुल खोल्ने, भ्वाइलिनको प्रयोग, प्रशिक्षण उहाँको जीवनकालमा सम्भव भएन ।’

श्रेष्ठले अम्बर गुरुङसँग अर्केस्ट्रा संगीत सिक्ने मौका पाए । स्वरसम्राट्कै इच्छा– अनुसार ड्रिम प्रोजेक्टअन्तर्गत नेपाली संगीतमा भ्वाइलिनको स्कुल, प्रशिक्षण दिने काम गुरुङले चेला श्रेष्ठलाई दिए । वि.सं. २०४८ सालदेखि श्रेष्ठ त्यही ड्रिम प्रोजेक्टमा छन् । उनले सयौंलाई सिकाइसके । सिकाएकाहरूमध्ये केही अर्केस्ट्रा संगीतका गुरु बनिसकेका छन् ।

हाल स्वरसम्राट्कै निवासमा बसेर श्रेष्ठले नयाँ पुस्तालाई अर्केस्ट्रा संगीत सिकाइरहेका छन् । उनलाई लाग्छ– भ्वाइलिनको धुन नारायणगोपालले पनि सुनिरहेका होलान् । ‘उहाँका गीतहरूसँगै उहाँकै सपनाअनुसार भ्वाइलिनका धुनहरू गुन्जाउन पाउँदा साह्रै आनन्द लाग्छ,’ उनले भने । श्रेष्ठका अनुसार अर्केस्ट्रा संगीतको एउटा छुट्टै सेक्सन (परिवार) नै हुन्छ । भ्वाइलिन बजाउनेको ठूलो समूह, भिओला, चेलो, डबल बेसको धुन सामूहिक रूपमा प्रस्तुत हुँदा बेग्लै सांगीतिक माहोल सिर्जना हुन्छ । यही समूहको परिकल्पना नै स्वरसम्राट्ले गरेको उनको भनाइ छ । श्रेष्ठ, अम्बर गुरुङ तथा स्वरसम्राट्को भ्वाइलिनप्रतिको लगाबलाई नजिकैबाट नियालेका तलेजु धनकुमारी फन्डका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठका अनुसार नेपालमा अर्केस्ट्रा संगीत विस्तार ४० को दशकतिर नै भएको सुनाउँछन् । ‘२०४४ सालमा नारायण गोपाल स्वर्णिम सन्ध्या भएको थियो । त्यतिबेला उहाँलाई पनि प्रस्तुति दिँदा भ्वाइलिन प्रयोग गर्न ठूलो इच्छा थियो, एउटा पनि भ्वाइलिन भेटिएन ।’

ड्रिम प्रोजेक्टमा जोडिएपछि संगीतकार श्रेष्ठ भारतमा गएर २५ वटा भ्वाइलिन किनेर ल्याएको स्मरण गर्छन् । ‘गुरु अम्बर गुरुङको आज्ञाअनुसार म आफैं भ्वाइलिन खोज्न त्यहाँ गएको थिएँ ।’ अझै पनि नेपालमा स्वरसम्राट्को सपनाअनुसार अर्केस्ट्रा संगीत अगाडि बढ्न नसकेको उनी सुनाउँछन् । ‘राज्यले गर्नुपर्ने प्रोजेक्टलाई हामी व्यक्तिगत रूपमा अगाडि बढाइरहेका छौं । यसका लागि ठूलो सांगीतिक समूह चाहिन्छ । यसैमा लागेर दैनिक गुजारा चलाउने अवस्था अझै बनेको छैन,’ श्रेष्ठ दुःखेसो गर्छन् । स्वरसम्राट्को सपनालाई केही अंश पूरा गर्न मात्र भए पनि उनले अर्केस्ट्रा धुन बजाउन छोडेका छैनन् ।

स–साना स्कुले विद्यार्थीदेखि लिएर अर्केस्ट्रा संगीतप्रेमीका लागि उनी दैनिक भ्वाइलिन चलाउन सिकाउँछन् र आफू पनि धुन सिर्जना गरेर स्वरसम्राट् निवासलाई संगीतमय बनाउँछन् । ‘अहिलेसम्म रहरै मात्र जस्तो भएको छ । त्यही रहरमा हाम फाल्दै निरन्तर भ्वाइलिन बजाउने र सिक्ने काम जारी छ,’ श्रेष्ठ सुनाउँछन् । राज्यको सम्बन्धित निकायमा एक दिन धुन पुग्नेछ भन्ने उनको आशा छ ।

प्रकाशित : मंसिर १९, २०७८ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?